माउसुली शान्ति
खासमा त दिदी पुतली थिइन्, पुतली।
एकदिन–
अम्लारी फूलको रस चुस्दाचुस्दै
दिदीलाई
यस्तो चिल्यो बैंसको अरिङ्गालले
मनको कताकता भित्रैसम्म फैलियो विष
चिलाउन थाल्यो डल्लै पृथ्वी!
जत्ति कन्याए पनि
कहिल्यै धीत मरेन दिदीको।
बरु घाइते मात्र भए उड्न तम्तयार यौवनका पखेटा,
जहाँ–जहाँ अप्ठेरो
त्यहीं–त्यहीं चिलेछ पड्के अरिङ्गालले।
ऐया र आत्थु गर्दै कति बस्ने माइत गाउँ?
धीत मर्ने गरी जिन्दगीलाई कहाँ गएर कन्याउँ?
एकदिन मेला उडिन् दिदी।
सारीको पुच्छर हल्लाउँदै
फूलहरूको हाटमा धान नाची,
खलामा धूलो सम्झेर कुल्ची ताराहरूको आँखीडाही,
लाहुरेनी चन्द्रमाको शिरफूल
ढल्काएर गएकी थिई, चम्किनु चम्किएछ।
तन्नेरीहरूको आँखा नबिग्रिनु बिग्रिएछ।
दिदीलाई–
असाध्य डर लाग्यो,
अलिअलि शरम पनि लाग्यो
साटनको बर्कोले सुटुक्कै छोपिन्
तन्नेरीहरूलाई देखेर हाँसिरहेको नाइटो
र, भागिन् आकाशै आकाश।
भाग्दै जाँदा–
जङ्गलमाथि कतै खसेछ सुनको अहं र शीत बनेछ
बर्को बतासमा उडेर इन्द्रेणी बनेछ
सारीको पुच्छर चुँडिएर बादल बनेछ
ओहो, पालाम गाउँदै अरिङ्गालले तन्नेरीले लखेटेको
संसार पुग्दा पनि छोडे पो!
रिसले दिदी अरिङ्गालकै प्वालभित्र पसी
बिच्किए अरिङ्गाल
घेरिई दिदी अरिङ्गाल नै अरिङ्गालले...
र त, दिदी अरिङ्गालबाट बिच्किएर
माउसुली भएकी छिन् माउसुली।