वन, बिजुली र नरे
- बसन्त थापा
त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँ । के भयो होला उसलाई त्यसपछि ?
माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण र मानिसहरूको जीवनशैली बिल्कुल ग्रामीण थियो । हाम्रो ठ्याक्कै सामुन्नेको घरमा बस्ने घैंटेको परिवार ढिकीमा चिउरा कुट्थ्योरु। मानिस खेतीकिसानी गर्नुबाहेक गाई, भैंसी, कुखुरा, बाख्रा र सुँगुर पाल्थे ।
सबैको जिन्दगी कुनै न कुनै तरीकाले वनसित जोडिएको थियो । घाँस, दाउरा, सोत्तर, घोचाघारा, थाँक्रा जेका लागि पनि वनै धाउनुपर्थ्यो।
मलाई पनि सानैदेखि आफूभन्दा ठूलालाई पछ्याएर वन पस्ने बानी परेको थियो । कहिले खरायो र बट्टाई लखेट्न गयो । कहिले वनतरुल खन्नेहरूसित खन्ती बोकेर गयो ।
कहिले गुलेली खेलाउनेहरूसित चराको शिकारमा गयो । कहिले बेल र मलेश्वरी टिप्न गयो । कहिले बर्खे च्याउ, जिब्रे साग र पिड्के च्याउ टिप्न गयो । कहिले खोलामा दुवाली छेकेर माछा मार्न गयो । कहिले रूखका लचिला हाँगाहरूमा सैसला र लहरामा पीङ खेल्न गयो ।
मौका पर्नासाथ कुनै न कुनै बहानामा वन चहार्न गइहाल्थें । बर्खाको बेला वन जानु त झनै रमाइलो लाग्थ्यो । कति पटक पानीले निथ्रुक्क रुझेको छु ।
कहिले एक्लै चाक्लो पात हुने कर्मा या त्यस्तै ठूलो रूखमुनि ओत लिएर बर्सादी छटा हेर्दै बसेको छुरु। त्यही कारणले होला अहिले पनि बर्खामा पानी पर्दा दौडेर वन पसुँपसुँ लाग्छ । पानी पर्नुअघि वन सुसाएको, पृथ्वी र रूख पातहरूमा वृष्टि पर्दा उत्पन्न ध्वनिको सङ्गीत औधी रोमाञ्चक लाग्छ ।
सानो छँदा म क्रीडाकौतुक बाहेक हाम्रो घरपछाडि रहेको एक फोगटो कोठेबारीका कारण पनि वन जाने गर्थें । सडक लाइनमा बनेका सबै घरका पछिल्तिर धेरथोर कोठेबारी हुन्थ्योरु। त्यसलाई खनीखोस्री बर्खामा मकै, फर्सी, काँक्रा, घिरौंला, खुर्सानी अनि हिउँदमा साग रोप्थ्यौं । त्यहाँ रोपिएका बालीलाई छाडा गाईबस्तुबाट जोगाउन बारबेर गर्नुपर्थ्यो ।
फर्सी, काँक्रा, घिरौंलाका बोटलाई थाँक्रो हाल्नुपर्थ्यो । त्यसका लागि चाहिने घोचाघारा लिन सर्दु खोला पुग्नुपर्थ्यो या होइन भने पञ्चकन्या डाँडो चढ्नुपर्थ्याे वा त्यसमुन्तिर सारङ्गाद्वार वरिपरिको वन चहार्नुपर्थ्यो ।
हल्का उकालो र तेर्पे तेर्पे हिंडेर सजिलै पुग्न सकिने हुनाले हाम्रो दाउरा, घोचा, थाँक्रा सङ्कलनको गन्तव्य प्रायः सारङ्गाद्वार वरिपरिकै वन हुन्थ्यो । हामी आफूभन्दा ठूला उमेरका दाइदिदीहरूको नेतृत्वमा सात–आठ जनाको दङ्गल बाँधेर जान्थ्यौं ।
सुरो भएर एक्लै वन जाँदाको लोमहर्षक अनुभव मैले पाइसकेको थिएँ । एक पटक कुन रनाहाले हो म एक्लै गएको थिएँ खुकुरी हातमा लिएर पञ्चकन्याको वनमारु। धरानमा बिजुली आएर सालका सुरिला रूखहरू सखाप पारिनुअघिको बेला थियो त्यो । अति बिहड थियो त्यहाँको वन । एउटा थाँक्रो काटेर घिसार्दै फटाफट फर्किहाल्ने सुर थियो मेरो ।
मास्तिर झयाम्म फुर्का परेको खोजे जस्तै सुरिलो थाँक्रो फेला पर्यो पनिरु। त्यसलाई काट्न रूख चढेर खुकुरी चलाएँ, तर दाहिने हातको खुकुरीले घोचाको सट्टा आफ्नै बायाँ हातको चोरऔंलाको टुप्पा ताछ्यो ।
म भल्भली रगत बगिरहेको चोरऔंलालाई कमेजको फेरोमा लपेटेर हतास खालिहात घर फर्केको थिएँ । त्यस दिनदेखि घोचाघाराका लागि मलाई फेरि एक्लै वन पस्ने आँट भएन ।
रमाइलो नै अर्को हुन्थ्यो हूल बाँधेर वन जाँदाखेरिको । केही परे साथीसँगी र दाइदिदीहरू छँदैछन् भनेर ढुक्क हुन्थ्यो मन । अनि भर्खर भात खाएको पेट लिएर वन पस्दा सबै रमाइलो मूडमा हुन्थे । हाँस्थे, गाउँथे, जिस्कन्थे, ठट्टा गर्थे ।
त्यस दिन पनि हामी दङ्गल बाँधेर लाग्यौं सारङ्गाद्वारको वनतिर । हूलमा थिए हामीभन्दा ६–७ वर्षले जेठी बैंसालु उमेरका बिजुली, देशमाया र भुन्टी । घैंटेको भाइ काले थियो, जो उमेरमा मभन्दा दुईतीन वर्षले जेठो हुँदो हो ।
बिजुलीको भाइ रामे पनि थियो क्यार हामीसित र एक–दुई जना हामी नौ–दश वर्षका ठिटा थियौं । एककिसिमले त्यस दिनको हाम्रो टोली नेता बिजुली दिदी थिइन् ।
मैले त्यस दिन आमालाई 'सरप्राइज' र तत्काल उपयोगी वन्य उत्पादन दिने हिसाबले लुकाएर नाम्लो बोकेको थिएँ । म बिजुलीहरूले झैं दाउराको भारी बोकेर ल्याउन चाहन्थें सधैंझैँ घोचाका बिटा होइन । सन्तानमा जेठो भइखाएकोले वनबाट घोचाथाँक्रा घर ल्याउने अभिभारा त यसअघि नै मैले आफ्ना टाउकामा बोकिसकेको थिएँ ।
यस पटक भने दाउराको भारी आमासामु गिराएर मैले लिएको थप जिम्मेवारीलाई प्रदर्शित गर्न चाहन्थें । शायद मभित्रको मर्द छोरा हुँ भन्ने ग्रन्थिले मलाई त्यसो गर्न उत्प्रेरित गरेको थियो । मेरो टोलीका सदस्यहरूले पनि मलाई हौस्याइरहेका थिए ।
वन पसेर घोचाका लागि सुरिला लाथ्रा र हाँगाहरू हेर्नुको सट्टा सुकेका दाउरा बटुल्नु अनि लामा दाउरालाई ठुन्क्याउनु नौलो अनुभूति थियो मेरा लागि । बटुलेका दाउरालाई लहराले कसेर भारी बनाउनु र भारीलाई बरियोले अँचेटेर थाप्लामा नाम्लो हाल्ने काम झ्न् चुनौतीपूर्ण थियो । कालेले मलाई भारी कस्न मात्र होइन बोक्न पनि सघाइदियो। देखे जस्तो सजिलो थिएन नाम्लाले भारी बोक्ने काम ।
पाखो वनको एक फित्को उकालो पार गर्न पनि मलाई हम्मे परिरहेको थियो घिच्रो अररिएर। नाम्लाको बोझ् वास्तवमा घिच्रोले थाम्दो रहेछ, घिच्रो सोझो पारेर हिंड्न सक्नु अभ्यास चाहिने रहेछ । आफैंले आँटेको काम गर्न नसक्नु लाजमर्नु कुरा थियो ।
त्यसैले ठूलो यत्नले उकालो पार गरेर छड्केछड्के हिंड्दै म पहिलो बिसौनीमा पुगें जहाँ सबै अघि नै पुगेर मलाई पर्खिरहेका थिए । मेरो अभरिलो हिंडाइ र बाङ्गिएको घिच्रो देखेर बिजुली, देशमाया, भुन्टी सबैले 'कोचिङ' दिए, कसरी सही तरीकाले थाप्लामा नाम्लो हाल्ने भनेर ।
वैशाखको लामो दिन, त्यस्तै तीन–चार बजेको हुँदो हो । कुनै हतार थिएन घर जानलाई । हामी आरामसाथ चौतारामा गफिंदै थियौं आफ्नै सुरमा ।
अचानक झाडीबाट ६ जना लाठे झवास्स देखापरे हाम्रा अघिल्तिर । हामी अकमकायौं । उनीहरू पहिले कसैलाई लक्ष्य नगरी 'गह्रौं भयो भारी, हामी सघाइदिऊँ?' भन्न थाले त्यसपछि बिजुली दिदीलाई सोझै लक्ष्य गरेर अनेकओली भन्दै जिस्क्याउन थाले ।
दुई जना अघिसरा हात्तीसारका नरे र टेके थिए– बीस–बाइस वर्षका । केहीअघि मात्र ती दुई मिलेर हाम्रो चोकमा चिया दोकान खोलेका थिएरु। चना, आलुको तर्कारी आफैं बनाएर बेच्थे । नरे दाबिले जीउको थियो भने टेके गोरो र बलिष्ठ ।
दुवै जनाले मलाई चिन्थे, तर अरू बेलाझैं चिनेजस्तो गरेनन् । अरू चार जनालाई मैले चिन्न सकिनँ, शायद हात्तीसारकै सार्की टोलका ठिटाहरू थिए । उनीहरूको एकोहोरो नजर बिजुलीमाथि थियो ।
वनमा बिजुली कतिखेर जाँदी हुन् भनेर उनीहरूले कहिलेदेखि चियो गरेर योजना बनाइरहेका हुनन् । अहिले उनीहरू आफ्ना योजना कार्यान्वयनमा जुटेका थिए ।
उनीहरूको अचाक्लीबाट बिजुली चिढिइन्, देशमाया र भुन्टीले पनि प्रतिवाद गरे । तर उनीहरूले जिस्क्याउन छाडेनन्, बरु झन् झन् हामीनेर आउन लागे ।
बिजुली भारी बोकेर हिंड्नलाई उठिन् । उनले दाउराको अतिरिक्त घोचाको एक बिटा पनि भुन्टीसँग मिलेर झुन्ड्याएकी थिइन्, दाहिने हातले । हामी पनि आ–आफ्ना भारी बोकेर जर्याकजुरुक उठ्यौं ।
हामीले दुईचार पाइला के सारेका थियौं नरे र टेके अगाडि बढे । बिजुलीले बोकेको दाउराको भारीलाई घचेटेर गिराइदिए, घोचाको बिटोलाई लत्याए । बिजुली जङ्गिइन् । त्यति नै बेला नरेले बिजुलीलाई च्याप्प समातेर टेकेको सहयोगमा काँधमा बोक्यो र दगुर्यो। अघि जहाँबाट देखापरेका थिए त्यही झाडीमा बिजुलीलाई बोकेर उनीहरू अलप भए ।
हामी करायौं, चिच्यायौं र उनीहरूको पछि लागौं कि के गरौं, बिलखबन्दमा पर्यौं । बाँकी चार जना लाठेले हामीलाई आँखा तरे, हात उज्याएर धम्क्याए अनि दौडेर त्यही झाडीमा हराए ।
देशमाया र भुन्टी रुँदै कराउन लागे, हामी फुच्चेहरू सन्न परेर उभिएका थियौं । हाम्रो बिलौना सुनेर आएका उद्धारकर्ताझैं त्यति नै बेला पर कुइनेटामा देखापरे मेरा मीतबारु। उनी एउटी स्त्रीसँग हामीतिरै आइरहेका थिए । तिनीसँग मीतबाको प्रणय सम्बन्ध रहेको हल्ला टोलछिमेकमा चलेको थियो । उनीहरू ग्राम्यविहार गरेर फर्किरहेका थिए, शायद ।
नाम मिल्नेलाई मीत भन्ने र मीत लगाउने चलन थियो उसबेला । उनको पुर्ख्यौली धनकुटाको सिरवानी हाम्रो पुर्ख्यौली गाउँको एक खुट्किलोमुनिको नेवार बस्ती थियो । मेरा बा र उनले विधिपूर्वक नै मीत लगाएको हुनुपर्छ । किनभने जगजाहेर थियो बाको मितेरी सम्बन्ध । एकअर्काका परिवारका सदस्यलाई हामी यथोचित साइनो लगाएर सम्बोधन पर्थ्यो।
बाटामा भेट्दा जहिले पनि एकदुई आना मेरा हातमा राखिदिन्थे मीतबा । म सधैं खुशी हुन्थें उनलाई भेट्दा । झन् त्यस बेला मीतबा घटनास्थलमा आइपुग्दा त हाम्रो टोलीकै खुशीको साँधी रहेन ।
हामीले रोइकराई घटना विवरण बतायौं । मीतबा आफ्नी मासुकालाई हाम्रो साथमा छाडेर अपहरणकारी दल गएतर्फ हान्निए, टार्जनले झैं पोथ्रालाई नाघ्दै, कान्ला उफ्रंदै । शायद बिजुली उनको नजिककै नाता पर्थिन् ।
तरुनी घिस्याएर बिहे गर्ने चलनबारे मैले नसुनेको त होइन, तर यसरी आफ्नै आँखा सामुन्ने कोही घिसारिएको पहिलो र अन्तिम पटक देखेको त्यसै बेला थियो । केटाले मन परेकी केटीलाई बलात् अपहरण गरेर कतै एक रात लुकाए पुग्थ्यो । केटी उसैकी भएको समाजले मान्थ्यो ।
बिजुली दिदीलाई नरेले स्वास्नी बनाउने भयो भन्ने पीर र उनको बचाउ गर्न नसकेको आत्मग्लानिले दबेको मुन्टो अनि घिसारिएको कहानी बोकेर हामी घण्टाभरमा घर पुग्यौं । केहीक्षणमै चोकमा हल्लीखल्ली भयो ।
बिजुलीको आँगनमा मानिसहरू भेला भएर के भयो, कसरी भयो, कहाँ भयो, को–को थिए के–के गरे आदि इत्यादि प्रश्न सोध्न थालेरु। हामी त्यही कुरा टेप खोलेझैं दोहोर्याई तेहेर्याई भनिरहेका थियौं । बिजुलीका बाबु मुर्मुरिरहेका थिए ।
तुरुन्त हात्तीसार गई आफ्नी चेलीलाई नरेको हातबाट खोसेर ल्याइहाल्नुपर्छ भनी कोही सल्लाह दिइरहेका थिए, यसै गर्ने भनी निर्णय हुनसकेको थिएन ।
त्यत्तिकैमा मीतबा देखा परे, केही पर पानीट्याङ्कीको घुम्तीमा । बिजुली रुँदै हिंडिरहेकी थिइन् । मीतबाले नरेलाई कठालो समातेर घिच्याइरहेका थिए।
बाफ रे, मीतबा कसरी त्यति चाँडो हात्तीसार पुगेर अपहरणकारीलाई समात्न भ्याए? मलाई उदेक लाग्यो । पक्कै पनि नरेहरू बिजुलीलाई लिएर सेउती खोलाको बगर हुँदै विजयपुरको डाँडो चढेर हात्तीसार पुगे होलान्रु। त्यो भनेको निकै लामो फन्को हो!
जेहोस्, मीतबाले घरछेउ आइपुगेपछि नरेलाई सगर्व सबका सामुन्ने खडा गरेर दुईचार लबटा कसे । नरेको अनुहारमा मीतबाका मुक्काको छाप पहिल्यै परिसकेको देखिन्थ्यो । नरे कुटाइ, डर र अपमानले नीलो–कालो भएको थियो । उसको छायाँ जस्तो रहने टेके भने गायब थियो । बिजुली बाबुको आड लिएर उभिइन् ।
भीडमा कल्याङमल्याङ भयो, अब के गर्ने? पाकाहरूले केरकार गर्न थाले नरेलाई । बिजुलीलाई स्वास्नी बनाउने हिसाबले घिसारेको उसले सकार्यो । कसैले सुझायो बिजुली राजी छ कि छैन सोध्नुपर्छ भनेर । नरे र बिजुली दुवैको श्रेष्ठ थर भएकाले त्यहाँ जातीय विभेदको सवाल थिएन । धेरै जनाले एकमुख भएर सोधे बिजुलीलाई । उनले त्यो बजिया मलाई पटक्कै मन पर्दैन भनेपछि फेरि बर्सियो दुईचार मुक्का नरेमाथि, यस पटक हाम्रो चोकका तन्नेरीहरूबाट ।
कसैको सुझाव आयो, नरेले माफी माग्नुपर्छ बिजुलीको खुट्टा ढोगेररु। नरेले त्यसै गर्यो । 'आजदेखि तिमी मेरी बहिनी' भन् भने । उसले पिन्चे स्वरमा त्यसै भन्यो । नरे अब भाग् भनेर धपाए । नून खाएको कुखुरा भएको ऊ झोक्रिएर बाटो लाग्यो ।
बिजुली घरभित्र पसिन् । भीड विस्तारै तितरबितर भयो घटनाको चर्चा गर्दै, नरेलाई धिक्कार्दैरु। 'मनपेट बुझेर पो हात हाल्नुपर्छ, मन पराउँदैमा हुन्छ अर्काकी छोरी घिसार्न ?' मानिसहरू भन्दै थिए ।
त्यस दिनदेखि नरे देखा परेनरु। चोकमा टेकेसितको पार्टनरसिपमा उसले चलाएको चिया दोकान बन्द भयोरु। बिजुली केही समयपछि पोइल गइन् जात मिल्ने केटासँग, जोसँग तिनको पहिलेदेखि पिरती थियो । धरान छाडेर काठमाडौं बस्न थाले पनि म धरान बेलाबखत गइरहन्छु । बिजुली दिदी त बज्यै बनेर त्यही ठाउँमा बुढ्यौली जीवन बिताइरहेकी देख्छु । त्यो घटना भएको पुग न पुग ६ दशकमा के भयो होला नरेलाई?