पुनर्निर्माण शुरु भएन हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदाको
भूकम्प गएको तीन वर्ष पुरा भइसक्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदाको पुनर्निर्माण शुरु भएको छैन ।
पुनर्निर्माण नहुँदा मजु देग, नारायण मन्दिर, महादेव मन्दिर लगायतका सम्पदा अझै टेकोको भरमा अडिएका छन् । दरबार क्षेत्रको प्रमुख सम्पदाको रुपमा रहेको काष्ठमण्डपको पुनर्निर्माण पनि हुनसकेको छैन ।
गत वर्ष वैशाखमै काष्ठमण्डपको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको थियो । तर, सम्झौता भएको तीन महीनामै भंग गरी महानगरपालिकालाई निर्माणको जिम्मा दिइएको थियो । महानगरपालिकाले अहिलेसम्म काम शुरु गरेको छैन ।
पुनर्निर्माण भइरहेको गद्दी बैठक, नौतले दरबारलगायत सम्पदाको काम पनि निकै सुस्त छ ।
नौतले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको छ । यसको समग्र प्रगति ६० प्रतिशत छ । अमेरिकी सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको गद्दी बैठकको भने ८० प्रतिशत छ ।
समयमै पुनर्निर्माण नहुँदा पुरातात्विक, सांस्कृतिक एवं मौलिक सम्पदाको अस्तित्व संकटमा पर्ने खतरा देखिएको छ ।