वैशाख पूर्णिमा : बुद्ध जयन्तीको बहस
हामीले मनाइरहेको बुद्ध जयन्ती गणनाको आधार जन्मको आधारमा नभई बुद्ध सम्वत्को उल्लेख मात्र हो ।
प्रत्येक वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाउने चलन विश्वभरको बौद्ध समाजमा छ । यतिऔं र उतिऔं भनेर बुद्ध जयन्तीको गणना पनि गरिन्छ ।
यो गणना बुद्धको जन्म नभई महापरिनिर्वाणका आधारमा गरिएको हो । बुद्ध जयन्ती भनेर महापरिनिर्वाणलाई आधार मानेको भन्दै यस गणनामा विमति राख्नेहरूले संशोधन गर्नुपर्ने आह्वान पनि गरिरहेका छन् ।
प्राचीन बौद्ध समाजमा दैनिक जीवनका कुनै पनि कुराको कालगणना बुद्धको महापरिनिर्वाणबाट गरिन्थ्यो । पछि यही गणना बुद्ध सम्वत्का रूपमा विकसित भयो ।
इतिहासका अध्येताहरू बुद्धको जन्मसाल इ.पू. ५६३ लाई मान्छन् तर श्रीलंकालीहरू भने इ.पू. ६२३ लाई आधार मानेर जन्मदिन मनाउँछन् । श्रीलंकाली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसंघले पनि यही साललाई आधिकारिक मानेको छ ।
परम्परा र ऐतिहासिक निक्र्योलमै ६० वर्षको फरक आइसकेको अवस्थामा पहिले जस्तै यतिऔं र उतिऔं बुद्धजयन्ती भनेर गणना गर्नु अर्थहीन अभ्यास मात्र हो ।
बौद्ध जगतमा बुद्धको जन्म (इ.पू. ५६३), बुद्धत्व प्राप्ति (इ.पू. ५२८) र महापरिनिर्वाण (इ.पू. ४८३) लाई ज्यादै महत्व दिइन्छ । तीनै दिन वैशाख पूर्णिमामै पर्नु आश्चर्यको संयोग हो ।
यसलाई त्रिसंयोग दिवसको रूपमा मनाउनुपर्छ भन्ने पनि छन् । बुद्ध लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालमा पर्ने भएकाले यो दिनलाई ‘लुम्बिनी दिवस’ को नाममा मनाउनुपर्ने तर्क गर्नेहरू पनि छन् । हिजोआज लुम्बिनी क्षेत्रमा ‘बुद्ध जयन्ती’ तथा ‘लुम्बिनी दिवस’ दुवै शब्दावली प्रयोग हुन थालेको पनि छ ।
संकुचित हामी
विडम्बना नै मान्नुपर्छ, आज पनि हामीमा बुद्ध र बुद्धको शिक्षा के हो भन्नेभन्दा पनि ‘बुद्ध नेपालमा जन्मिएका र आफू पनि नेपाली भएको नाताले गर्व गर्नुपर्छ’ जस्ता कुरामा मात्रै सरोकार राख्ने सोचको विकास भइरहेको छ । यस्तो सोच बुद्धप्रतिको आस्थाभन्दा राष्ट्रवादी आग्रहबाट प्रेरित देखिन्छ ।
वैशाख पूर्णिमामा नेपालमा ‘लुम्बिनी दिवस’ मनाएजस्तै भारतको बोधगयामा ‘बोधगया दिवस’ र कुशीनगरमा ‘कुशीनगर दिवस’ भनिंदैन । कदाचित यी दुई क्षेत्रले पनि नेपालकै सिको गरे त्यसबाट उत्पन्न हुनसक्ने असरबारे नेपाल पक्ष गम्भीर देखिन्न ।
विश्वले नै बुद्ध र बुद्धको शिक्षालाई अंगीकार गरिरहेका बेला जन्मभूमिले चाहिं संकुचित शब्दावली प्रयोग गर्नु प्रत्युत्पादक हुन सक्छ भनी सचेत हुनुपर्छ ।
बुद्धको विचरण भूमि नेपाल र भारत भए पनि यी दुवै देश बुद्ध र बौद्ध धर्म दर्शन उजिल्याउन खासै उत्साही देखिंदैनन् । बरु; श्रीलंका, चीन, जापान, कोरिया, थाइल्यान्ड आदि राष्ट्रहरूमा अग्रसरता देखिएको छ ।
रुखो भाषामा भन्ने हो भने नेपाल र भारतले बुद्धको नाम भजाएर ब्याज मात्र खाइरहेका, पर्यटनको ‘मार्केटिङ’ मात्र गरिरहेका छन् । बुद्ध र बौद्ध धर्म–दर्शनलाई ‘ब्राण्डनेम’ भन्दा माथि राख्नसके सत्कर्मका साथै व्यापारमा समेत थप टेवा पुग्ने निश्चित छ ।
बुद्ध जयन्ती र लुम्बिनी दिवस नामका शब्दावली प्रयोग र व्यवहार नेपालसँग मात्रै सम्बन्धित हो । तर बौद्ध समाजले बुद्ध जन्म जत्तिकै महत्व बुद्धत्व प्राप्ति, धर्मचक्रप्रवर्तन र महापरिनिर्वाणलाई दिएको हुन्छ ।
यस हिसाबमा नेपाली समाज समग्र बौद्ध समाजबाट पृथक् हुन खोजेको आभास हुन्छ । त्यसैले बुद्धलाई खुम्च्याउने होइन, फैलाउनेतिर लाग्नुपर्दछ । वैशाख पूर्णिमालाई वैशाख पूर्णिमा नै रहन दिनुपर्छ ।