समस्या अभिभाकत्व कि विद्यालयको स्तर ?
यतिबेला देशमा लोकरिझ्याईंका खातिर सामाजिक सञ्जालमा अभिभावकत्वको भद्दा मजाक गर्ने होइन, आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पठाउने आँटिला नेता चाहिएको छ।
देशवासीलाई नयाँ वर्षको सन्देश सुनाउन मुगुको राराताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहींबाट सरकारको बालबालिका भर्ना अभियानको पनि औपचारिक थालनी गरे ।
ओली दम्पतीले मुगु, कर्मारोङ्ग गाउँपालिकाकी ६ वर्षीया थिन्ले साङको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरे ।
त्यसयता नेतादेखि अभिनेतासम्ममा बालबालिका भर्नाको होड चल्दैछ । उदात्त भावना वा सस्तो लोकप्रियता (लोकरिझयाइँ), के कति कारणले अभिभावकत्व ग्रहण गरिएका हुन्, पटाक्षेप आउने दिनहरूले गर्ने नै छन् । तर रहस्यको पर्दा उघ्रनु अगाडि हाम्रो शिक्षाको वर्तमान स्थिति र चुनौती उपर सानो चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
सबैभन्दा पहिले त, भर्ना अभियानको सन्दर्भ वा पृष्ठभूमि विद्यालय उमेरका तीन लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालयबाहिर रहनु नै हो । तीन लाख अर्थात् विद्यालय उमेरका कुल बालबालिकाको तीन प्रतिशत विद्यालय बाहिरै छन् ।
विकासोन्मुख मुलुकका निम्ति तीन प्रतिशत बालबालिका विद्यालय बाहिर रहनु आफैंमा ठूलो आँकडा नहोला । तर आधारभूत तहसम्मको शिक्षालाई संविधानले नै मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको सन्दर्भमा छुटेका सबैलाई विद्यालय ल्याउने दायित्व राज्यको हुनुपर्दछ । यस अर्थमा विद्यालय भर्ना अभियान प्रशंसनीय प्रयास हो ।
तर, भर्ना अभियानमार्फत नै शिक्षाका लक्ष्यहरू सम्बोधन गर्न खोजिएको हो भने त्यो स्वैरकल्पना मात्र हो । किनकि, आज शिक्षा क्षेत्रको मूल समस्या बालबालिकालाई विद्यालयसम्म पुर्याउने भन्दा पनि उनीहरूलाई आधारभूत तहसम्म टिकाइराख्नु हो, सार्वजनिक विद्यालयहरूको स्तरोन्नति हो ।
कक्षा १ मा भर्ना भएकाहरूमध्ये ३० प्रतिशत मात्र प्रवेशिका तहसम्म पुग्ने तथ्याङ्कहरूले देखाउँछ । यसको अर्थ, विद्यालय उमेरका अधिकांश बालबालिका ‘ड्रप आउट’ अर्थात् बीचमै पढाइ छाड्छन् । भनिरहनुपर्दैन, यस्तो ‘ड्रप आउट’ सामुदायिक विद्यालयमै अधिक हुने गर्दछ । जसका अनेकौं कारण छन् ।
नेपाली शिक्षा प्रणालीको आजको मूल समस्या सामुदायिक विद्यालयको स्तर नै हो । सामुदायिक विद्यालयको गिर्दो शैक्षिक स्तरका कारण नै निजी विद्यालय फस्टाइरहेका छन् । एकातिर सामुदायिक विद्यालयको कन्तबिजोग र अर्कोतिर निजी विद्यालयको चर्को शुल्कका कारण अभिभावकले ठूलो सास्ती बेहोर्नुपरेको छ ।
सार्वजनिक शिक्षाको गिर्दो साखले राज्यलाई नै गिजोलिरहेको छ । किनकि, पछिल्ला वर्षहरूमा कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत र राष्ट्रिय बजेटको १७ प्रतिशत शिक्षाकै लागि छुट्याइएको देखिन्छ । जुन कुल गार्हस्थ्य उत्पादनको र कुल बजेटको २० प्रतिशतको विश्वव्यापी मापदण्डभन्दा थोरै मात्र कम लगभग ५ प्रतिशत छ । तर प्रतिफल न्यून भने छ ।
त्रिलोचन मार्ग
बालबालिकाको अभिभावकत्व ग्रहणको होडबाजी चलिरहेका बेला प्रदेश–७ का मुख्य मन्त्री त्रिलोचन भट्टले चाहिं फरक र उदाहरणीय बाटो रोजे । कतिपय झैं अभिभावकत्वको सस्तो लोकप्रियता प्रदर्शन गर्नुको साटो उनले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे ।
सार्वजनिक शिक्षा सुधारको रट लगाउने तर छोराछोरीलाई महँगा विद्यालयमा भर्ना गराएर घरेलु कामदार अनि सर्वसाधारणका सन्तानलाई सार्वजनिक विद्यालय धकेल्ने अधिकांश नेता, नीतिनिर्माता र उच्चपदस्थ कर्मचारी भन्दा भट्टको कदम नितान्त फरक र प्रशंसनीय छ ।
राज्यले व्यापक लगानी गर्नु तर सार्वजनिक विद्यालय टिठलाग्दो रहिरहनुको मूल कारण नीतिनिर्माता तहबाट अपनत्व नलिइनु नै हो । राज्यले मन्त्री, सांसद्, राजनीतिक दलका केन्द्रीय सदस्य, नीतिनिर्माता, निजामती कर्मचारीका सन्तानलाई सार्वजनिक विद्यालयमा अनिवार्य भर्नाको नियम ल्याए मात्र पनि विद्यालयको गुणस्तर स्वतः उकासिनेछ ।
चीन जस्ता कम्युनिष्ट मुलुकदेखि अमेरिका जस्ता पूँजीवादी मुलुकका सार्वजनिक शैक्षिक प्रतिष्ठान अब्बल हुनुका पछाडि ती संस्थाप्रति शासनमा बस्नेहरूको अपनत्व नै हो । यसो गरिएमा निजी शैक्षिक संस्थाहरू बाध्यता भन्दा पनि ऐच्छिक रोजाइमा पर्नेछन् । तर, यस्तो कदमबाट निजी संस्थाहरू किञ्चित पनि आत्तिनुपर्दैन ।
विदेशमा जस्तै सम्भ्रान्तहरूले सुविधासम्पन्न यस्ता विद्यालयमा आफ्ना सन्तान पढाउन सक्नेछन् । शैक्षिक प्रतिष्ठानलाई ‘नाफामूलक उद्यम’ बनाइराख्नुको कुनै तूक पनि छैन, कम्तीमा पनि हाम्रो जस्तो ‘समाजवादउन्मुख’ राष्ट्रका हकमा ।
यो सुधारको थालनी एउटा विन्दुबाट हुनुपर्नेछ । र, त्यो विन्दु भनेको शासनसत्ताको शीर्ष तह नै हो । किनभने, टाउकामा हालिएको पानी बग्दै पैतालासम्म पुग्नेछ । र, त्यो पैताला भनेको तल्लो तहका जनता हुन् ।