विकासको बाटोमा विराटनगर
प्रदेश–१ को अस्थायी राजधानी तोकिएको विराटनगरलाई स्थायी राजधानी बनाउन महानगरपालिकाले धेरै योजना अघि सारेको छ।
दोब्बर चौडा पारेर कालोपत्रे गरिएको विराटनगर–८, अशोक चोक । तस्वीरहरु: कमल रिमाल
विराटनगर उपमहानगरपालिकाले वडा नम्बर–८ स्वागतम् टोलमा सडक बनाउने भन्दै रूपा राजवंशीको घरको भित्ता भत्काइदिएको थियो । त्यसयताको दुई वर्ष स्वागतम् टोल हिउँदमा धूलो र बर्खामा हिलोमा डुबिरह्यो ।
अहिले महानगरपालिकाले ३२ फिटको कालोपत्रे सडक बनाइदिएपछि राजवंशीले आफ्नो घर भत्किएको र ४ फिट जमीन सडकमा परेको पीडा बिर्सिएकी छन् । “बाटो नभएर परै रोकिएको एम्बुलेन्समा छिमेकीलाई बोकेर चढाएका थियौं” उनी भन्छिन्, “अब एम्बुलेन्स मात्र हैन, दमकल नै आउने सडक बनेको छ ।”
त्यसका लागि उत्तर–दक्षिण सडकका दुईतर्फ घर भएकाहरूले ४–४ फिट जग्गा छाडेका छन् । बदलामा सबैले चिल्लो सडकमा आउने स्कूल बसमा छोराछोरी चढाउन, साइकल र स्कूटरमा आउजाउ गर्न पाएका छन् ।
सडक चौडा हुनुअघि यस टोलमा रु.८ लाख प्रति कट्ठामा घडेरी किनबेच हुन्थ्यो, अहिले रु.१८ लाख पुगेको छ । सँगैको आदर्श टोलका मोहम्मद तैयव (६५) ले घर बनाउँदा निर्माण सामग्री अरूको जमीनबाट पुर्याएका थिए । अहिले उनको टोलमा पनि सजिलै दमकल छिर्छ ।
आदर्श टोल विकास संस्थाका अध्यक्ष मोहम्मद लतिव यसका लागि स्थानीयलाई सम्झउन तीन महीना लागेको बताउँछन् । महानगरपालिकाको सामाजिक शाखा प्रमुख पुनम दाहाल सडक चौडा हुँदाको फाइदा बुझेकाहरूमार्फत स्थानीयवासीलाई मनाएर सडक बढाउने कामलाई तीव्रता दिएको बताउँछन् । “त्यसक्रममा कति ठाउँमा त प्रहरी परिचालन पनि गर्नुपर्यो”, दाहाल भन्छन् ।
विराटनगरमा अहिले एशियाली विकास ब्यांंकको सहयोगमा रु.२ अर्ब ९५ करोडको मझाैला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना संचालनमा छ । यसअन्तर्गत सबै सडक चौडा पार्ने र घरहरूबाट निस्कने ढल व्यवस्थापन गर्ने काम हुँदैछ ।
यस क्रममा १६० किलोमिटर सडक चौडा पारिएको छ । सडक छेउका घरधनीहरूले १.५ मिटरका दरले ७१० कट्ठा अर्थात् ३५ बिघा जग्गा दिएका छन् । सडक चौडा बनाउँदा करीब १००० घरका भित्ता र १५०० पर्खाल भत्काउनु परेको इन्जिनियर प्रकाश चौधरीले बताए ।
नगरपालिका र धनी आफैंले पनि भत्काएकाले बजारभित्रका घरहरूका स्वरुप बिग्रिएका छन् । हुनेखानेहरूका घरका डिजाइन फेरिएका छन् ।
घरहरूबाट निस्किएको ढल जम्मा गर्न ९ हेक्टर जग्गामा निर्माणाधीन प्रशोधन केन्द्रको ७५ प्रतिशत काम सकिएको छ । त्यसबाट मल बनाउने र छानिएको सफा पानी सिंघिया खोलामा मिसाउने महानगरपालिकाको योजना छ ।
विराटनगर–८, आदर्श टोल ।
विराटनगरमा रु.२ अर्ब ६१ करोडको क्षेत्रीय शहरी विकास कार्यक्रम पनि संचालनमा छ । त्यसअन्तर्गत ७५ किमी सडकमा कालोपत्रे गरिंदैछ भने २६ वटा पिच सडकमा रु.२ करोड १५ लाख लागतमा मर्मत कार्य भइरहेको छ ।
महानगरपालिकाले १९ वटै वडाका ८५ वटा सानाठूला सडक र नालाका लागि रु.१२ करोड १० लाख ७० हजार छुट्याएको छ । त्यस्तै, भारतसँग जोडिएको सडक र नाला व्यवस्थित गर्न रु.४७ लाख ८४ हजार छुट्याइएको छ । धरान रोडबाट विराटनगर विमानस्थल जोड्ने ८०० मिटर सडक चौडा पार्न रु.२ करोड ४० लाख लागेको महानगरपालिकाले जनाएको छ ।
शहरी विकास कार्यालयमार्फत रु.४५ करोडको लागतमा रोडशेष–रानी ५ किमी सडक कालोपत्रे र नाला निर्माण भइरहेको छ । रु.८ करोड ४७ लाखको बसपार्क निर्माण अन्तिम चरणमा छ भने जोगवनी–धरान सडकलाई ६ लेन बनाउने काम सुचारु छ ।
महानगरभित्रको १२.४ किमी सडक निर्माणमा ढिलासुस्ती भएपछि ५ वैशाखमा ठेकेदारहरूलाई बोलाएर समयमै नसके कारबाहीको चेतावनी दिएको मेयर भीम पराजुलीले बताए ।
जनप्रतिनिधि आउनुअघि गुणस्तरीय काम नभएको तर अहिले आफूहरूले निगरानी बढाएको उनको भनाइ छ । त्यसक्रममा लापरवाही गर्ने ठेकेदारका कर्मचारीलाई पक्राउ समेत गराएको उनी बताउँछन् ।
जनप्रतिनिधिको निगरानीमा परेका ठेकेदारहरूले काममा लापरवाही र ढिलाइ गर्न नपाएका मेयर पराजुली बताउँछन् । “सडक विस्तारमा धेरैले सहयोग गरे” उनी भन्छन्, “कतिपय ठाउँमा सडक चौडा गर्न नदिने व्यक्तिलाई प्रहरी लगाएर हटाई डोजर चलायौं ।”
कमल रिमाल, विराटनगर
पढ्नुहाेस् ।
प्रदेश – ५ मा पूर्वाधारकाे पिरलो
संघीयता कार्यान्वयनमा केन्द्रकै अवरोध