कसरी आउँछन् ५० लाख पर्यटक ?
एक दशकभित्र ५० लाख पर्यटक भित्र्याएर देशमै रोजगारी सिर्जना गर्ने सरकारको महत्वाकांक्षी योजना सफल बनाउने हो भने आजैदेखि तयारी थाल्नुपर्छ ।
‘दश वर्षपछि वार्षिक ५० लाख पर्यटक मुलुक भित्र्याइनेछ’– प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि २१ कात्तिकमा वाम गठबन्धनद्वारा सार्वजनिक घोषणापत्रमा भनिएको थियो । संयोग, एमाले–माओवादी केन्द्रको यही गठबन्धन सरकारमा छ । र, आफ्ना महत्वाकांक्षी योजना कार्यान्वयन गर्ने ठाउँमा आइपुगेको छ ।
अहिले नेपाल आउने विदेशी पर्यटकको संख्या करीब १० लाखको हाराहारीमा छ । होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्य त्यस हिसाबमा एक दशकमा ५० लाख आफैंमा अविश्वसनीय नभएको बताउँछन् ।
“अहिलेसम्म राजनीतिक अस्थिरताले बिगारेको थियो, अब स्थिर सरकार बनेको छ, आशा बढाएको छ” शाक्य भन्छन्, “तर, सरकारले नीतिदेखि पूर्वाधार निर्माणमा आजैबाट ध्यान दिनुपर्दछ ।”
८० अन्तर्राष्ट्रिय, १५० आन्तरिक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल दैनिक भरिरहेको उडान संख्या ।
मुलुकमा पर्यटक बढे विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सकिने शाक्यको विश्वास छ । उनको भनाइमा एक जना पर्यटक बराबर करीब आठ नेपालीलाई रोजगारी सिर्जना हुन्छ ।
“२० लाख मात्र पर्यटक पुग्ने हो भने पनि एक करोड ६० लाखका लागि रोजगारी सिर्जना हुन्छ”, शाक्य भन्छन् । विदेशी मुद्रा आर्जन र यसले समग्र अर्थतन्त्रमा पुर्याउने लाभ त बेग्लै छ ।
चुनौतीको चाङ
विश्व मानचित्रमा सानो भए पनि भौगोलिक, सांस्कृतिक र जैविक विविधताका कारण नेपाल पर्यटकीय गन्तव्यका रूपमा चिनिंदै आएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजाल समथर भूभाग, पहाडी र हिमाली क्षेत्रका साथै फरक–फरक हावापानीमा छुट्टै खालको अनुभव गर्न पाइने भएकाले पनि नेपाल विदेशीको रोजाइमा पर्ने गरेको छ ।
“विविधतासँगै संसारकै अग्लो शिखर सगरमाथा, हिमाल र बुद्ध भूमि लुम्बिनी अर्को आकर्षणका केन्द्र हुन्”, उनी भन्छन् ।
दशक लामो हिंसात्मक विद्रोह र त्यसपछिको एक दशक राजनीतिक संक्रमणका कारण नेपालका पर्यटन क्षेत्रका थप सम्भावना ओझेल परे । पटक–पटकका बन्द र हड्तालले पर्यटकमा नकारात्मक सन्देश पुग्यो । झण्डै दुई दशकसम्म पर्यटन क्षेत्र खुम्चन पुग्यो । राम्रो सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभावमा ‘मुख थुनेर बस्नुपर्ने’ अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् ।
पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या नै विमानस्थल हो । अन्तर्राष्ट्रिय उडान हुने एक मात्र त्रिभुवन विमानस्थल अस्तव्यस्त छ । बाह्य र आन्तरिक उडानका लागि थपिएका हवाईजहाजको चाप विमानस्थलले धान्न नसक्ने अवस्था आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतम बताउँछन् ।
यही विमानस्थलबाट अहिले दैनिक ८० वटा अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फ १५० भन्दा बढी उडान भइरहेका छन् । एउटै मात्र धावनमार्ग भएकाले आन्तरिक उडानले अन्तर्राष्ट्रिय उडानलाई आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या पनि छ ।
गौतमका भनाइमा, वार्षिक ४० लाख यात्रुको क्षमता भएको विमानस्थलको क्षमता बढीमा १५ प्रतिशत मात्र वृद्धि गर्न सकिन्छ । अध्यागमन विभागका अनुसार, यो वर्ष अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेमा ३० लाख नेपाली र १० लाख विदेशी छन् ।
प्रष्ट छ, थप पर्यटक ल्याउन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ । तत्कालको विकल्प भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो । भौगोलिक सहजता र २४ सै घण्टा सञ्चालन हुन सक्ने यो विमानस्थलले वार्षिक करीब ३० लाख यात्रु धान्न सक्छ ।
प्राधिकरणका महानिर्देशक गौतम, पोखरा र भैरहवामा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए वार्षिक २० लाख पर्यटक भित्याउन सकिने बताउँछन् । “५० लाखको लक्ष्य पूरा गर्न बारामा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउनुपर्छ”, उनी भन्छन् ।
विमानस्थलसँगै आवश्यक मात्रामा आफ्नै ध्वजावाहक विमान नहुनु पनि अर्को समस्या हो । ३० वर्षअघि चार वटा बोइङ्ग विमानमार्फत अन्तर्राष्ट्रिय उडान शुरू गरेको नेपाल वायु सेवा निगमसँग अहिले दुई वटा एअरबस र एक बोइङ्ग मात्र छ ।
निगमका चार वटा विमान हुँदा जर्मनी, बेलायत, जापान, फ्रान्सलगायत देशबाट उल्लेख्य मात्रामा पर्यटक आउने गर्दथे । पर्यटकलाई गन्तव्य देशको विमान भएकाले पनि राष्ट्रिय ध्वजावाहक विमान नै पहिलो रोजाइमा पर्ने गरेको छ ।
बाह्य पर्यटनका लागि अर्को समस्या, सडक पूर्वाधार हो । सडक गतिला र भरपर्दा छैनन् । एउटा गाडी बिग्रिंदा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता छ । पर्यटन व्यवसायी ऋषिप्रसाद नेपाल, सडकको विस्तार, गुणस्तर र धूलोधुवाँमुक्त बनाउनुपर्ने बताउँछन् । “सडक पूर्वाधार नभई ५० लाख पर्यटक पुर्याउँछु भन्नु हावादारी गफ मात्र हो”, उनी भन्छन् ।
जस्तो कि, कर्णालीको रारा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । तर, कर्णाली राजमार्गको यात्रा भरपर्दो र सुरक्षित छैन । हवाई मार्ग सबैका लागि सुलभ नहुन सक्छ । रारामा पर्यटक बस्ने होटल पनि छैनन् ।
टानका पूर्व अध्यक्ष रिजाल सरकारले वातावरण बनाइदिए व्यवसायीहरू सम्भावना भएका क्षेत्रमा लगानीका लागि तयार रहेको बताउँछन् । “लामो समयको भाडा र सस्तो ब्याजदरमा ऋण लिने वातावरण सरकारले बनाउनुपर्दछ”, उनी भन्छन् । हानका अध्यक्ष शाक्यका अनुसार पोखरा, चितवन, लुम्बिनी, काठमाडौं तथा सगरमाथा क्षेत्रमा खुलेका होटलले अहिलेको संख्यालाई सजिलोसँग धान्न सक्छन् । सिजनमा समेत ६५ प्रतिशत होटल मात्र बुकिङ भएको र यस वर्ष थप चार हजार बेडका नयाँ होटल थपिने उनी बताउँछन् । उनको भनाइमा, नेपाल आउने पर्यटकलाई होटलको समस्या छैन ।
नेपाल पर्यटन बोर्डका अनुसार, देशभर सन् २०१५ सम्ममा ११६ तारे होटल रहेकोमा गएको वर्ष चार वटा तारे होटल थपिएका थिए । काठमाडौं, लुम्बिनी र पोखरामा होटल निर्माणको क्रम धमाधम चलिरहेको छ ।
कमजोर व्यवस्थापन
मुलुकको समग्र आर्थिक विकासमा पर्यटन व्यवसायको भूमिका अहम् छ । अहिले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ प्रतिशतसम्म रहेको छ । पर्यटन क्षेत्रको विकासमा थोरै मात्र ध्यान दिएमा अर्थतन्त्रले फड्को मार्ने विज्ञहरू बताउँछन् । तर, कमजोर व्यवस्थापनको कारण यसो हुनसकेको छैन ।
जस्तो, आर्थिक वर्ष २०७३/७४ मा सरकारको नीति तथा कार्यक्रममा सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरियो । तर, तयारी नपुगेको भन्दै सन् २०२० मा सारियो ।
पर्यटन व्यवसायी ऋषिप्रसाद नेपाल दुई वर्षपछिको भ्रमण वर्ष तयारी अहिल्यैदेखि हुनुपर्ने बताउँछन् । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी भने, पर्यटन प्रवद्र्धनका लागि चीन, यूरोपलगायतका मुलुकमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको बताउँछन् । “बढीभन्दा बढी पर्यटकहरूलाई नेपालमा ल्याउने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यक्रम गरिरहेका छौं”, उनी भन्छन् ।
‘प्रारम्भिक चरणमै छौं’
रवीन्द्र अधिकारी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
पचास लाख पर्यटक भित्याउने हाम्रो दीर्घकालीन लक्ष्य हो । त्यसका लागि धेरै तयारी गर्नुपर्दछ । अहिले हामी प्रारम्भिक चरणमा छौं । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र १५ लाख पर्यटक भित्याउने अहिलेको लक्ष्य हो । त्यसका लागि स्थानीय युवा क्लबदेखि सामाजिक संघसंस्थालाई साझेदार बनाउने सोचमा छौं । विस्तृत खाका केही दिनमै सार्वजनिक गर्छौं ।
पर्यटक ओराल्न पहिलो त पर्याप्त विमान नै छैनन् । विमानस्थलको समस्या पनि छ । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई द्रुत गतिमा सम्पन्न गर्नु बाहेक विकल्प छैन । सडक पूर्वाधार पनि एकदमै नाजुक छ । त्यसलाई सुधार गर्नुपर्दछ । पर्यटकीय गन्तव्यलाई राम्रो र आकर्षक बनाउनुपर्ने चुनौती पनि छ ।