भूराजनीतिक जटिलता र यसले निम्त्याउने संकट
भूराजनीति अर्थात् भौगोलिक निकटताको सम्बन्धलाई असर गर्ने राजनीति यतिखेर नेपालमा गहिरो रुपमा प्रकट भएको छ। यसको चेपुवा कहालीलाग्दो हुनसक्छ।
नेपालको राजनीति चैत–वैशाखमा तात्ने गर्छ । यो पटक पनि प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीको भारत भ्रमण चैतमा भयो र नेपालको मात्र होइन दक्षिणएशियाको राजनीतिक बजार समेत यसबाट तात्न पुगेको छ । यसको तातो हिमालपारि चीनमा पनि पुगेको हुनुपर्छ ।
नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समानता छन् । यही नेपाल गत केही दशकबाट आर्थिक भविष्यको खोजी र आफ्नो सार्वभौमसत्ता जोगाउने चिन्ताले चीनप्रति नजिकिन थालेको छ ।
खासगरी नेपालको राजनीतिमा वामवर्चस्व बढेपछि यहाँको समृद्धिको बाटो हिमालपारि हो भन्ने बुझाइ हालैको निर्वाचन परिणामले पनि देखायो ।
प्रम ओलीको भारत भ्रमणले पाएको महत्व असाधारण छ । ओलीमार्फत चीन नेपाल प्रवेश गर्दैछ भन्ने बुझाइ भारतीय सत्तापक्षमा मात्र नभएर आम भारतीयमा रहेको पाइयो । यो भ्रमणपूर्व उत्तरी र पश्चिमी भारतीय राज्यहरूको घुमघाममा निस्केको मैले ट्याक्सी चालकदेखि दिल्लीका बुद्धिजीवीसम्मले नेपालका प्रमबारे चासो राखेको पाएँ ।
यो चासोको केन्द्रमा थियो, नेपालको उत्तरी छिमेकी चीन । यसअघि नेपालका प्रम भ्रमणमा आउँदा भारतका बुद्धिजीवी, सत्तापक्ष, विपक्ष, मिडिया र आम जनताले यति धेरै चासो राख्दैनथे । तर यो पटकको परिदृश्य भिन्न थियो ।
ओलीलाई अनुकूलता
भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) विरोधी सबैजसो शक्ति नेपाल–भारत सम्बन्ध बिग्रेकोमा प्रम नरेन्द्र मोदीलाई मुख्य दोषी ठान्छन् । भारतीय राष्ट्रिय कंग्रेसका नेताहरू नेपाल जस्तो हिन्दूबहुल देशसँग पनि मोदी असहिष्णु भएको आरोप लगाउँछन् र नाकाबन्दीको उदाहरण दिन्छन् ।
भारतमा एकवर्षपछि लोक सभा निर्वाचन हुँदैछ, तर भारतीय कंग्रेसले राजनीतिक फाइदाको लागि मात्र मोदीको नेपाल विरोधी नीतिमाथि प्रहार गरेको होइन । कंग्रेसका अधिकांश नेता मोदीको कूटनीतिले दक्षिण एशियामा चीनको प्रभाव बढेको बुझाइमा छन् । चीनको बढ्दो सामथ्र्य र प्रभाव विस्तार भारतमा सत्तापक्ष र विपक्ष दुवैको लागि टाउकोदुखाइ भएको छ ।
नेपोलियन वोनापार्टले ‘चीनलाई सुत्न देऊ, त्यो उठ्यो भने जगत हल्लाउँछ’ भनेका थिए । चीन जाग्न लागेको देखेर सात दशक अगाडि नेहरू हडबडाएका थिए । अहिले भारतका प्रम नरेन्द्र मोदी आत्तिएका छन् र नेपालसँग ‘कोर्स करेक्शन’ को बाटो समातेका छन् ।
दिल्लीमा भाजपा र यसको भ्रातृ संगठन राष्ट्रिय स्वयम् सेवक संघको हिन्दुत्वको विचारसँग असहमत बुद्धिजीवीहरूको ठूलो तप्का छ । जसले प्रम मोदीको उँचाइ घटाउन नेपाललाई चीनको पोल्टामा पार्ने खलनायकको रूपमा चित्रण गर्छ । खासगरी धर्मनिरपेक्ष पक्षधर वाम बुद्धिजीवीहरू प्रम मोदीको हिन्दुत्वमाथि कडा प्रहार गर्छन् ।
नेपालमा भारत विरोधी भावना बढ्नु र चीनले ‘स्पेश’ पाउनुमा मोदी सरकारको बेमौसमको हस्तक्षेपकारी भूमिका जिम्मेवार छ भनी निष्कर्ष निकाल्ने जमात पनि दिल्लीमा छ । नेपाललाई हिन्दूहरूको एकमात्र पवित्र तीर्थस्थल देख्ने अति दक्षिणपन्थीहरू पनि प्रम मोदीले नेपालमा चीनको विस्तार गर्न सघाएकोमा दुःखी छन् ।
अर्थात्, भारत भूमि प्रम ओलीको लागि अत्यन्त अनुकूल थियो, यो पटक । ओली त्यो माहोल देखेर हौसिए पनि । सम्झनुपर्ने कुरा के छ भने, यो माहोल बन्नुमा चीनप्रति भारतको डर नै प्रमुख कारण हो ।
भारतका सबै राजनीतिक दल नेपालका प्रमलाई कसरी चीनबाट टाढा राख्न सकिन्छ भन्ने टाउकोदुखाइमा थिए, छन् । प्रम ओलीको भ्रमणको क्रममा आएको १२ बुँदे संयुक्त वक्तव्यको महत्व आफ्नो ठाउँमा होला, तर नेपाल अब भूराजनीतिको कुन कित्तामा कसरी बस्छ भन्ने प्रश्नले नेपालीको भविष्य निर्धारण गर्नेछ ।
भारतको बाध्यता
विश्व रंगमञ्चमा उदाउँदो चीनलाई हिमालपारि नै रोक्नुपर्ने भारतीय रणनीति छ । भारतको सुरक्षा संवेदनशीलतालाई चुनौती हुने गरी चीनलाई हिमालवारि ओराल्ने संभावना नेपालबाट छ भन्ने दिल्लीको आकलन छ । भारतीयहरू नेपालमा कम्युनिष्ट गठबन्धनको सरकारसँग तर्सेका छन् । तर, कम्युनिष्टहरू लोकतान्त्रिक प्रक्रियाबाट सत्तामा आएको हुनाले उनीहरूलाई आफ्नो पक्षमा पार्नु भारतको बाध्यता भएको छ ।
प्रम ओलीले यो पटक भारतमा पाएको सम्मान र देखाएको साहस यही बाध्यताको परिणाम हो ।
दिल्लीले सातदशक अगाडि मोहनशमशेर राणालाई पनि ठूलो मानसम्मानका साथ स्वागत गरेको थियो । ७ फागुन २००६ मा दिल्ली पुगेर फुरुङ्ग भएका राणा प्रम मोहनशमशेर त्यसको ठीक एक वर्षपछि राजपाट छाडी देश बाहिर जाने परिस्थिति बनेको थियो ।
अहिले भारतीय दृष्टिकोण ठीक त्यही ठाउँमा पुगेको भान हुन्छ, जहाँ सात दशक अगाडि नेपालको भूराजनीति थियो । त्यतिखेर मोहनशमशेरलाई स्वागत गर्न भारतीय प्रम जवाहरलाल नेहरू नै दिल्ली रेल्वे स्टेशनमा उभिएका थिए ।
त्यतिबेला भारत भर्खर स्वतन्त्र भएको थियो, नेहरू प्रथम प्रधानमन्त्री बनेका थिए । उनी नेपाल आउन हतार गरिरहेका थिए । त्यसको लागि नेपालका प्रम मोहनशमशेरका छोरा मेजर जनरल विजयशमशेरलाई साउथ ब्लकमा भेटेर भनेका पनि थिए । तिनताकाको विश्व राजनीतिमा नेहरूको ठूलै रवाफ थियो, तर नेपाललाई लिएर उनी चिन्तित थिए ।
उनले नेपालको उत्तरबाट चीनले विस्तार गर्न सक्ने साम्यवादलाई रोक्न तत्कालै मोहनशमशेरलाई भेट्न जरूरी ठानेका थिए । नेहरूलाई लागेको थियो– नेपालमा जनताको सरकार नहुने हो भने साम्यवादको विस्तारलाई रोक्न सकिन्न । नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले नबाँध्ने हो भने भारतीय सुरक्षामा उत्तरबाट खतरा छ भन्ने उनले देखेका थिए । तर, डरपोक मोहनशमशेर आफैं दिल्ली दौडिए । त्यही हडबडीमा ‘नेपाल–भारत मैत्री सन्धि १९५०’ भयो ।
२००७ सालका क्रान्ति नायक विश्वेश्वरप्रसाद कोइरालालाई पनि राजा त्रिभुवनले निर्वाचन आलटाल गरेर नेपालमा उत्तरको प्रभाव छिर्ने माहोल बनाउँदैछन् भन्ने लागेको थियो । उनले यो आशयको लामो टेलिग्राम नेहरूलाई पठाए ।
एशियाका यी दुई महान् नेताले नेपालमा कम्युनिष्ट विचार उत्तरबाट पस्ने र थेग्न गाह्रो पर्ने अनुमान गरे, तर त्यो उत्तरबाट कम र पूर्वी भारतबाट बढी आयो । बीपी र नेहरूले नेपालमा कम्युनिष्ट शासन आउने खतरा देखेका थिए, तर कसरी, कहिले र कस्तो आउँछ भन्नेमा चाहिं दुवै नेता चुके ।
भारत भूमि प्रम ओलीको लागि अत्यन्त अनुकूल थियो, यो पटक । ओली त्यो माहोल देखेर हौसिए पनि । सम्झनुपर्ने कुरा के छ भने, यो माहोल बन्नुमा चीनप्रति भारतको डर नै प्रमुख कारण हो।
नेपालमा जनप्रतिनिधिको शासनको अभावमा कम्युनिष्ट शासन आएको होइन । अहिले जनताको प्रतिनिधि भएरै कम्युनिष्टहरूले झ्ण्डै दुईतिहाइ बहुमतको सरकार बनाएका छन् । बीपी र नेहरूले कम्युनिष्टको लागि दक्षिणएशिया उर्वर भूमि हुने देखेका थिए । तसर्थ उनीहरू चीन र चिनियाँ राजनीतिक विचारलाई दक्षिणएशियामा रोक्न चाहन्थे ।
सन् १९५० को दशकको चीन सैन्य उन्मादको कारण विस्तारवादमा लागेको थियो । २१औं शताब्दीको चीन अनेकन् सफ्टवेयर लिएर अगाडि बढेको छ । ती सफ्टवेयरमा सबभन्दा ठूलो शक्ति आर्थिक हो ।
विश्व जनमत आफ्नो पक्षमा पार्न चीनले अर्बौं डलर खर्चेको छ, नेपालमा पनि त्यही प्रयोगमा छ । नेपाली जनताबीच चीनले विकासदाताको पहिचान बनाउँदैछ ।
सांस्कृतिक आदान–प्रदान र विकासका आर्थिक प्याकेजहरूले चीनप्रति आज विश्व आकर्षण बढ्दो छ । भारतले चिनियाँ रणनीति बुझेकै छ, तर गर्ने के ? भारतको आर्थिक, प्राविधिक हैसियत चीनको भन्दा धेरै तल छ । र पनि, भारतले नेपालको लागि विकास प्याकेज घोषणा गर्नुपर्ने बाध्यता छ, यो पटक पनि गर्यो । नेपालको राजनीतिक प्रणालीलाई मान्य भन्दै निर्वाचन प्रक्रियाको पनि प्रशंसा गर्यो ।
छिमेकी नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको गुणगान गर्यो । प्रष्टै छ, भूराजनीतिमा धेरै ठूलो पराजय व्यहोरेको भारत नेपालमा ‘कोर्स करेक्शन’ को इमानदार प्रयास गर्न बाध्य छ ।
नेपाललाई आफ्नो प्रभाव क्षेत्रभित्रै राख्नुपर्ने भारतको बाध्यता छ । जुन ढंगले नेपालको राज्यसत्ता परिवर्तन भयो, त्यसको कल्पना भारतले गरेको थिएन होला । त्यसबाट भारतको अहंकारमा चोट पुगेको थियो ।
त्यो चोटमा प्रम ओलीले मल्हमपट्टी गरिदिएका छन् । दक्षिणएशिया भारतीय प्रभाव मुक्त क्षेत्र हुँदै गर्दा ओलीले पहिलो भ्रमण भारतमा गरेर मोदीलाई मात्र नभई धेरै हदसम्म पश्चिमा जगत र एशिया–प्रशान्त क्षेत्रलाई पनि दिनुपर्ने सन्देश दिएका छन् ।
फुरुङ्ग पर्ने नेपाली सत्ता
नेपोलियन वोनापार्टले ‘चीनलाई सुत्न देऊ, त्यो उठ्यो भने जगत हल्लाउँछ’ भनेका थिए । चीन जाग्न लागेको देखेर सात दशक अगाडि नेहरू हडबडाएका थिए । चीनको समृद्धि र विश्वराजनीतिमा नेतृत्वदायी भूमिका देखेर अहिले भारतका प्रम नरेन्द्र मोदी आत्तिएका छन् र नेपालसँग ‘कोर्स करेक्शन’ को बाटो समातेका छन् ।
त्यही छिमेकी नेपाल, जहाँको जनमानस भारतलाई लिएर सधैं सशंकित छ भने चीनप्रति सधैं निष्फिक्री । चीनले सन् १९५० को दशकमा तिब्बत विलय गर्दा नेपालीहरू खासै चिन्तित भएनन् । ७० को दशकमा भारतले सिक्किम विलय गरेको विरोधमा भने नेपालमा आन्दोलन नै भयो ।
अहिले दिल्लीमा १२बुँदे संयुक्त वक्तव्य निकालेर प्रम ओली फर्किएका छन्, तर सम्बन्ध दरिलो बनाउने भनेको दुई देशका कार्यकारी प्रमुखको ‘वान टु वान’ वार्ताले हो । विगतमा प्रम गिरिजाप्रसाद कोइराला त्यस्ता ‘वान टु वान’ कुराकानीपछि खिन्न र दिक्दार भएको मैले देखेको छु । उनी भन्थे, “यी इण्डियनहरू कुरै बुझादैनन् ।”
वार्तामा जुन प्रकारका विषय आउँथे, त्यसमा आफ्नो धारणा राख्ने शक्ति कोइरालालाई नेपालको संविधान, कानून र राजनीतिक परिस्थितिले कहिल्यै पनि दिंदैनथ्यो । यो पटक प्रम ओलीले दिक्दारी होइन, उत्साहले भरिएको वातावरण मोदीसँग ‘वान टु वान’ वार्ता गरे भनेर विश्वास गर्न अझै तीन महीना कुर्नुपर्नेछ ।
भारत भ्रमण सफल भयो भनी फुरुङ्ग पर्ने नेपाली सत्ताको बानी छ । मोहनशमशेरले यस्तै फुरुङ्ग भएर १९५० मा नेपाल–भारत मैत्री सन्धि गरेर नेहरूपुत्री इन्दिरालाई हीरा र पन्नाजडित माला उपहार पनि दिएका थिए ।
त्यसबेला भारतमा ठूलै हल्लीखल्ली मच्चाएको त्यो बहुमूल्य उपहारलाई पछि राष्ट्रिय खजानामा हालियो । २०७५ सालमा हुने प्रम ओलीका भ्रमणहरू दोहोरिएको मात्र नबनुन्, अन्यथा भूराजनीतिको चेपुवा कसिंदै जाने पक्का छ ।
सबैमा नयाँ वर्षको शुभकामना !