बसको बकितम्
लौ त यात्रु गण
अब म गुल्टिन्छु भीरबाट
देशका नाममा अन्तिम पटक
राम राम भन्नुहोस्
जमीनभरि छरिएका मानव देहका टुक्रा हेरेर
गिद्धहरूले भावुकतावश गर्ने छन् सवाल–
के जीवन नर्कको रेखाचित्र हो?
अखबारको उलिन्काठ चढेर
संसद्मा एक खेप हङ्गामा मच्चाउन पुग्नेछ
तपाईंको हाडखोर
(मरणोपरान्त बधाई खाने चलन छ कि छैन दुनियाँमा?)
कुनै साइँदुवा विपक्षीले
सार्वजनिक महत्वको प्रस्ताव पनि दर्ता गर्नेछ
तर छलफल गर्न उपलब्ध हुने छैनन् विधायकहरू
उनीहरूलाई बोइङ चढेर विदेश उड्न हतार हुनेछ
सिन्डिकेटका अजिङ्गरहरूको कोणसभाले
बाटोलाई ठहर्याउनेछ जिम्मेवार
अनि सरक्क पन्छिनेछ ठेकेदार
र, मन्त्रीकहाँ ह्विस्की खान पुग्नेछ
अन्ततः मृत्युको दोष आउनेछ
तपाईंकै थाप्लोमा–
'किन त्यसलाई घुइँचो गर्नुपर्ने
किन त्यसलाई जान्ने भएर मर्नुपर्ने!'
लौ त यात्रु गण
अब म खस्छु नदीमा
माछाको आहारा हुन
तयार हुनुहोस्
थाहा छ तपाईंलाई?
अचेल माछाको संसारमा
ठूलो माछाले सानो माछा खाँदैन
यसरी भोजनमा अटुट मान्छे भेट्टाउन थालेपछि
माछाले किन माछा खान्छ?
लौ त यात्रु गण
अब म पल्टिन्छु
दुःखीहरूको हाडखोरको
इँटाकार संग्रहालयजस्तो देशलाई
दान दिन तयार हुनुहोस्
आफ्ना हाडखोर
अब त तपाईंलाई ज्ञान भयो होला नि–
यो देशको स्टेयरिङ सही हातमा छैन।