हङकङबाट डढेलोभित्रका सतिसाल
साढे पाँच दशकदेखि संगीतको माध्यमबाट चेतना छर्न सक्रिय ७२ वर्षीय गायक/संगीतकार रामेश र उनीजस्तै स्रष्टाबारेको वृत्तचित्र डढेलोभित्रका सतिसालः समाज रुपान्तरणका स्वरहरु प्रदर्शनको तयारीमा छ। ७ कात्तिकमा हङकङको युनलङ थिएटरमा यसको प्रिमियर हुने भएको छ।
वृत्तचित्रमा रामेशको सांगीतिक जीवनको आरोह–अवरोहसँगै पञ्चायतकालमा साहित्य र संगीतलाई नयाँ दिशा दिने राल्फा समूह र जनता जगाउन भन्दै देश यात्रामा निस्केका रामेश–मञ्जुल तथा संकल्प अभियानको पाटोलाई उजागर गर्ने प्रयत्न गरिएको छ। सार्थक जनसंगीत प्रतिष्ठान नेपालका लागि हङकङ हिमायतीले निर्माण गरेको यो वृत्तचित्रको निर्देशन प्रणय लिम्बू र डम्बरकृष्ण श्रेष्ठ (अनुशील) ले गरेका हुन्। प्रणयका इतिहास जित्नेहरुका लागि र क्षमा देऊ तर नबिर्स वृत्तचित्र चर्चित छन्। उनी निर्देशित चलचित्र द स्पोन्सर प्रदर्शनको चरणमा छ। पत्रकार अनुशीलले यसअघि हङकङका नेपाली नामक वृत्तचित्र बनाएका थिए।
रामेशलाई केन्द्रबिन्दुमा राखेर बनाइएको ९० मिनेटको वृत्तचित्रमा रायन, मञ्जुल, गणेश रसिकसहित तत्कालीन राल्फा समूहका सदस्य, जेबी टुहुरे, श्याम तमोट, रामकृष्ण दुवाल, जीवन शर्मा, ओम श्रेष्ठ, सौरभ श्रेष्ठ, माइला लामा, आभास, अमृत गुरुङलगायत ३५ जना कलाकार, लेखक, विश्लेषक, नेताहरुको अनुभव समेटिएको छ।
रामेशका गाउँ गाउँबाट उठ, एक जुगमा एक दिन, संघर्ष हो जीवन, देश जनताको नाम हो, मेरो प्यारो ओखलढुंगा, गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन, कोई त भने जहाजमा हरर जस्ता थुप्रै गीत चर्चित छन्। चलचित्र बलिदान का गायक–संगीतकार, पटकथा र संवाद लेखक समेत रहेका उनले बाल संगीत तथा नारी जागरणमा पनि उल्लेख्य योगदान दिएका छन्। वृत्तचित्रमा रामेश जन्मे–हुर्केको र जनसंगीत अभियानमा लागेका पाल्पा, ओखलढुंगा, तेह्रथुम, धरान र काठमाडौंमा छायाङ्कन गरिएको छ।
सार्थक जनसंगीत प्रतिष्ठानका अध्यक्ष श्याम तमोट परिवर्तनको आवाज उठाउने रामेश र उनी जस्तै सर्जकको अनुभव र जीवनगाथा समेटिएको यो वृत्तचित्र नयाँ पुस्ताका लागि उपहार हुने बताउँछन्। फिल्म निर्माणमा सहयोग गरेका हङकङका इन्द्र बनेमले रामेश जस्ता स्रष्टा राज्यबाटै उपेक्षित बनेको देखेपछि वृत्तचित्र बनाउने सोच बनेको बताउँछन्।