गुजाराको कथा
खगेन्द्र संग्रौला
मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ— लेखेर गुजारा चल्या छ, प्रिय बन्धु ? यो प्रश्नको अप्रीतिकर उत्तर हर्दम मेरो मथिङ्गलको अग्रभागमा हाजिर छ र प्रश्न सुन्यो कि वञ्चना–पीडित यो उत्तर मेरा जिब्रामा खुत्रुक्क ओर्लिन हतारिन्छ । व्याकुल उत्तरलाई अदपमा राखेर ओठे जवाफ दिनबाट म जोगिन्छु । कारण प्रश्नको अन्तर्यमा सद्भावयुक्त अभिप्राय छ र छ त्यसमा सकारात्मक उत्तरको तीव्र अपेक्षा पनि । यस्तो उत्तर जसमा लेखक, पुस्तक, पाठक र प्रकाशकको उज्यालो भविष्य ध्वनित होस् ।
शुभेच्छुक जनहरूद्वारा घरीघरी मलाई नै यो प्रश्न सोधिनुको कारण छ । अभिव्यक्तिका तीनवटा फाँटमा म कलम घोट्छु । म साहित्य लेख्छु, अखबारमा शब्दको खेती गर्छु र अनुवाद गर्छु । प्रश्नकर्ता मान्यवरलाई लाग्दो हो— शब्दकर्मका ती–तीनवटा मुहानबाट रकमको नित्य प्रवाह हुने भएपछि लेखेर मेरो गुजारा कसो नचल्दो हो ? सरल गणितको हिसाबले प्रियजनहरूको यो लख कटाइमा कुनै खोट छैन, तर लेखनबाट हुने मेरो गुजारा भने हदैसम्म गएगुज्रेको छ । वञ्चनाको यो कथा सम्झायो कि मलाई नमज्जा लागेर आउँछ । र, मलाई कवि बैरागी काल्दाइलाई झैं त्यसैत्यसै झोक चल्छ । तैपनि प्रश्नकर्ताका विनयशील वचनको मान राख्न सकारात्मकताको हल्का लेप लगाएर म कामचलाउ उत्तर दिन्छु— हजूर, पन्ध्र–सोह्र प्रतिशतजति गुजारा चलेको छ भन्नुप¥यो ।
नचिताएको उत्तर सुन्दा आशालु प्रश्नकर्ता त्यसैत्यसै खिन्न हुन्छ । निजको खिन्नता देखेर म त्यसैत्यसै उद्विग्न हुन्छु ।
अदम्य जिज्ञासा बोकेर निशानामा तीर ताक्दै हिंड्ने प्रश्नको स्वभावै ज्याद्रो । एक पटक उठ्यो कि उत्तर हात नपारी विश्राम गर्न त्यो मरिगए मान्दैन । त्यसैले त म यो प्रश्नको नित्य लखेटाइबाट हैरान छु । कतै लुक्न खोज्छु, चीलका जस्ता चक्षु भएको प्रश्नले मलाई फेला पारिहाल्छ । छलेर उम्किऊँ भन्छु, शिकार खोज्न हिंडेको प्रश्नले मलाई पक्राउ गरिहाल्छ । यो अनवरत आखेट र त्यसबाट उत्पन्न पीडाबाट छुटकारा पाउन म आज यो प्रश्नको सत्य–साँचो उत्तर दिन्छु— गुजारा चलेको छ मान्यवर, तर मेरो होइन, अरूहरूको ।
यी अरूहरू मेरा पुस्तक प्रकाशकहरू हुन् । यी रङ्गरङ्गका र ढङ्गढङ्गका छन् । यिनका स्वभाव, शैली र प्रवृत्ति पृथक्–पृथक् छन् । यिनको नैतिकता र इमानको मात्रा फरक–फरक छ । यिनको एउटा विशेषता भने साझ छ— यिनले पैसा बडो राम्रोसँग चिनेका छन् । यिनको अतृप्त तृष्णाले नित्य पुकारा गर्दो हो— प्रभु, परिपञ्च मिलेसम्म पैसाजति मलाई ।
मेरा बहुबिध प्रकाशकहरूको गोलोमा एउटा अपवादजन्य महल नभएको होइन । यो कटु चर्चामा त्यो महल छुट्दा सत्य अधुरो रहन्छ । मेरो लेखकस्वको थैलो खासै तलमाथि नपार्ने महल हो यो । तर के लाग्छ, तैबिसेक इमानी यो महलले पनि मलाई मर्का पार्न भ्याएकै छ । रिसानी माफ होस् पृथक् महल, यहाँ म यो मर्काको गुप्त कथा कहन विवश छु ।
अपवादजन्य यो महल कन्जुस छ । यसले मेरा पुस्तकहरूको समानुपातिक विज्ञापन र वितरणमा कन्जुसी गर्छ । पाठक एक ठाउँ हात थापेर बस्छ, पुस्तकलाई अर्को ठाउँ पसलको कुनामा भूमिगत राखिन्छ । अलमस्त र अल्छे प्रकाशक मेरो गृहनगरी चाबेलका पसलहरूमा धरी मेरा पुस्तक पठाउँदैन । यो बेहोसी वा उपेक्षाको कारण द्रव्यमुखी छ । र नै बजारु, बिकाउ र विकृतिबद्र्धक पुस्तकहरूमा यो एकाग्र हुँदो छ । गहन र सुन्दर, लोकोपयोगी र दीर्घायु पुस्तकप्रति निज हजूरको अरुचि बढ्दो छ ।
साहित्यको सौन्दर्य एवं उपयोगमूल्य झरपातको भन्दा बढी छ । जान्नेहरू भन्छन्— गहन चिन्तन र चित्ताकर्षक शिल्पयुक्त साहित्य पाठकको आत्मिक जागरण र उन्नयनको जादूगरी माध्यम हो । तर मेरो प्रकाशक ठान्दो हो— यो सब गफ हो । नाथे साहित्यद्वारा के को जागरण ? के को आत्मिक उन्नयन ? यस्तो अमूर्त परिवर्तन देख्ने र यसलाई तौलिने दृष्टि र तराजु कोसँग छ ? साहित्यको प्रयोजन त जसरी हुन्छ आम पाठकको अभिरुचिलाई तुष्टि दिनु पो हो ।
ठीक हो मान्यवर, तर कस्तो अभिरुचिलाई तुष्टि ? पाठकको मानस एवं मनोविज्ञानमा कस्तो प्रभाव पार्ने तुष्टि ? सनसनी, हिंसा र बतासे भावुकताले भरिपूर्ण साहित्यले के गर्छ ? आम पाठकको भद्दा अभिरुचिलाई झ्नै भद्दा बनाउँछ । यही हो र साहित्यको धर्म ? धर्म त पाठकको अभिरुचिको परिष्कार र सौन्दर्य–चेतनाको उँभौली पो हुनुपर्ने हो कि ! प्रकाशक फिस्स हाँस्दै भन्दो हो— यो सब गफ हो । साहित्यको एकमात्र धर्म हो– बिक्नु र प्रकाशकको थैली पुष्टिनु ।
उसोभए प्रकाशकको दाउ बजारु पुस्तकको प्रकाशन, लटालट बिक्री र शीघ्र धनार्जन ? मान्यवर, कमाउ धन्दाका लागि झ्न् बिकाउ चीज त अरू नै पो छन् । नजर होस् त, राजनीतिमा झ्ूटका पुलिन्दा कति साह्रो बिकाउ छन् ! अर्थमा लोकगीतका बलरामको दूधको बजार कति व्यापक छ ! धर्ममा अन्धविश्वासको धन्दा कति मालामाल छ ! यहाँ पनि ठुस्स पर्दै प्रकाशक भन्दो हो— यो ताल न तुकको तोरिलाहुरे तुलना हो ।
अँ, प्रसङ्ग मेरो गुजाराको छ । माध्यम मेरो शब्दकर्म छ र चर्चामा छ मेरा प्रकाशकहरूको ठगवृत्ति । यी धनुर्धारी शिकारी निम्न, मध्यम र उच्च तहका गरी तीन काँटका छन् । अब म समय–समयमा झ्ेलेका थरीथरीका प्रकाशकहरूलाई घोलेर एउटा क्वाँटी बिम्ब निर्माण गर्छु, र त्यसमार्फत आफ्नो गुजाराको यथार्थ सुनाउँछु । यो बिम्ब एकमा अनेकको सम्मिश्रण हो । तथापि हेक्का रहोस् मान्यवर, यो बिम्बमा ललाटमा प्रगतिशीलताको रक्तचन्दन लेपन गरेका प्रकाशकहरूका हंसको अंश अलि बढी नै छ ।
यो बिम्बको शुभ नाम हो, श्री ज्ञानरत्न उपकारी ।
पोहोरको कुरा हो, दशैं आइपुगेको छ । आफू फकिरसँग दशैं खर्चको जोहो छैन । कुलबन्धुको गोलोमा पाको पुस्तामा पर्छु म । त्यसैले सबै नातागोता आए मेरो द्वारमा आसिक माग्नेहरूको धुइरो लाग्छ । अलिकता शिकार, अलिकता मेवामिष्ठान्न, अलिकता अर्घ, अलिकता जमरा, अलिकता के, अलिकता के... । यी अलिकताहरू एकमुष्ट हुँदा दशैं खर्च दह्रै हुन्छ । तर ज्यानको खल्ती उजाड छ । खल्ती उजाड भएपछि मन पनि उदास नै हुनेभयो ।
भन्नुस्त, अब गर्ने के ? मलाई झवाट्ट प्रकाशकको याद आउँछ र उजाड मानसमा हठात् आशाको हरियाली छाउँछ । मेरो पछिल्लो पुस्तक छापिएको ६ महीना भएको छ । पुस्तक ठूलै छ । मोल पनि ठूलै । विमोचनमा सहीछाप ठोकेर दुई सय थान पुस्तक बेचेको उमङ्गमय सम्झ्ना मेरो चित्तको एकान्त कुनामा ताजै छ । हरेक पटक सोध्दा प्रकाशक नामक कौवाले शुभै शुभ बोलेको छ । दाइ, बिक्री राम्रो छ । प्रतिक्रिया निको छ । सोच्छु, कमाउ धन्दामा निवृत्त मनकारी मनुवाले मेरो दशैं खर्चको गर्जो कसो नटार्ला ?
पछिल्लो फोन वार्तामा ज्ञानी ज्ञानरत्नले प्रसन्नता ध्वनित हुने लबजमा भनेको छ— दाइ, दुई हजार थान सकिनै लाग्यो, तेस्रो हजार छपाउन लागेको छु । तर अचम्म, ६–६ महीनासम्म यो परम् ज्ञानी लेखकस्वबारे एकदम मौन छ । किन ? म शुद्ध मनले सोच्छु— आखिर मान्छेका फरक–फरक स्वभाव त हुन्छन् नै । श्रीमान् ज्ञानरत्नको स्वभावगत विशेषता होला यो । मैले नै कुरा उठाएको भए पनि त हुन्थ्यो नि !
एसएमएसमार्फत सविनय सम्पर्क गर्छु– ज्ञानरत्न उपकारीजी, दशैंमा यो दमडीशून्य लेखकलाई यसो केही सानो उपकार... । म जेबी फोनमा कान थापेर व्यग्र प्रतीक्षामा बस्छु । उत्तर आउँदैन । फेरि एसएमएस गर्छु र प्रतीक्षामा बस्छु । तैपनि उत्तर आउँदैन । म सोझे चित्तले गम खान्छु— कर्मशील उपकारी काममा व्यस्त होला । प्रसन्नपूर्वक मलाई भनेको उसैले हो— मेरो पुस्तकबाट उसलाई राम्रो लाभ भइरहेको छ । म मुनाफाको मुहानलाई नै उपेक्षा गरेको त पक्कै नहोला ।
कुरै कुरामा उपकारीले मलाई यो पनि भनेको छ— दाइ, हजार थान बिक्दा मेरो लागत उठ्छ अनि त्यसउता नाफा शुरू हुन्छ । अनि ? अनि अस्ति मात्र उसले मखलेल स्वरमा उद्घोष गरेको छ— दुई हजार थान गयो, दाइ । पुस्तक गयोको अर्थ हो, उपकारीलाई थानैपिच्छे नाफा आइरहेछ । म लेखक गाइ हुँ, ऊ प्रकाशक ग्वाला हो । नित्य दूध पघार्न गाईलाई यसो घँस्याउनु पनि पर्छ । हुनुसम्म रकमपारखी ग्वालालाई यति नाथे कुराको हेक्का कसो नहोला ?
दुई दिन विस्फारित नेत्रले उत्तरको बाटो हेर्छु । अहँ, चाइँचुइँ छैन । हैन, के खालको मान्छे हो यो ? आपूmलाई खाँचो पर्दा दिनमा पाँ–पाँचपटक फोन गर्ने मान्छे यही हो । हेर, अहिले मलाई खाँचो पर्दा ! एसएमएसबाट पार नलागेपछि म फोनबाट उही व्यहोरा निवेदन गर्छु— “ज्ञानरत्न उपकारीजी, दशैंमा यो दमडीशून्य मनुवालाई यसो केही सानो उपकार... ।”
फोनमा अलिबेर सन्नाटा छाउँछ । अनि उपकारी ङाङङाङ–ङुङङुङको लबजमा भन्छ— हुन्छ दाइ, म हेर्छु । एक दिन बित्छ, उपकारी मलाई हेर्दैन । दुई दिन बित्छ, ऊ मलाई हेर्दैन । अनि तीन दिन बित्छ, के को हेथ्र्यो ? हेर्छु भन्नेले नहेर्ने भो भनेर किञ्चित् खिन्न हुँदै म फेरि एसएमएस गर्छु— उपकारीजी, मलाई हेर्छु भनेको खै त ? जाँगर मरेको तालमा ऊ भन्छ— दाइ, दुई–तीन दिनमा म पच्चीस हजार रुपैयाँ पठाइदिन्छु । बोलकबोलका ६ दिन बित्छन्, थैलो आउँदैन । अब भने उपकारीको नियतमाथि मेरो मनमा कसोकसो शङ्का जागेर आउँछ । गाँठ्ठे, ठगपछि फेरि ठगकै पो फेला परें कि क्या हो ?
पुनःस्मरण गराउन लाज लाग्छ र आजीत एवं थकित मनोदशामा म मौनधारण गर्छु ।
एकाध दिनपछि मेरो घरपिंढीमा उपकारीको दूत आउँछ र मलाई रामनामी टाइपको पहेंलो बन्द खाम टक्र्याउँछ । प्रसन्नता र सन्देहमिश्रित भावले हत्तपत्त खाम खोलेर नोट गन्छु– जम्मा दश हजार छ । ज्ञानरत्नले बाचा गरेको झ्ण्डै दुइतिहाई रकम नदिंदा मेरो दुईतिहाइ उमङ्ग खरानी हुन्छ । फोन गरेर सोध्छु— “भाइ, पठाएको कति हो ?”
खाममा जति छ, त्यति नै हो ऊ भन्छ । उसको बोलीमा एकथोपो लज्जाभाव छैन । बाँकी पन्ध्र हजार ? दाइ, म अहिले आर्थिक सकसमा छु, दशैंपछि बीस हजार टक्र्याउँछु । भर नहुने भाका राखेर ऊ सरक्क पन्छिन्छ । मेरा अपमानित नजर शून्य आकाशको विराट शून्यतामा विलीन हुन्छन् ।
दशैं आएर मेरो मानसमा ज्ञानरत्न उपकारीको कटु सम्झ्ना झ्न् गाढा बनाएर जान्छ ।
दशैंपछि एक हप्ता बाटो हेर्छु । अघोरी उपकारी प्रकट हुँदैन । तिहार मुखमुख आइसक्छ । दुःखको मामलो फेरि पनि दमडीकै छ । उपकारीलाई एसएमएस गर्न मेरा औंला मान्दैनन्, फोन गर्न बक् फुट्दैन । अथाह ग्लानिको भावनाले चित्त कटक्क काटिन्छ । हैट्, जिन्दगी ! आफैं आफ्नो श्रम र साधनाको भिखारीजस्तो म । तर के लाग्छ, जिन्दगीरूपी वाहन त चलाउनै प¥यो । वाहन चलाउन इन्धन त चाहियो नै । अपमानको जहर पचाएर त्यसैत्यसै नूर गिरेको मुद्रामा म प्रकाशक ज्ञानरत्न उपकारीलाई पुनः एसएमएस गर्छु– भाइ, मलाई वचनको याद आयो । सास जाओस्, विश्वास नजाओस् भन्ने लोकोक्ति छ । लौन जी ।
अहँ, जवाफ छैन । अनेक एसएमएस व्यर्थ भएपछि लाचार भएर म फोन गर्छु, उठ्दैन । उता ज्ञानरत्न उपकारी मौन साधनामा लीन छ यता म हर्दम हात पसारेर बसेको छु । जीवनभरिको कष्टसाध्य साधनाबाट निर्मित मेरो दृष्टि, भाषा र शिल्पको फल हो यो, किन छाडूँ भन्ने भावनाले हठ गर्छ । फेरि एसएमएस र फेरि फोन । जवाफ मरिगए आउँदैन मानौं मेरो विरलाकोटी प्रकाशक श्री ज्ञानरत्न उपकारी मानवलोकबाटै विलुप्त भयो । मलाई चिन्ता लाग्छ र एक सूत्रमार्फत बुझछु । सूत्र भन्छ— ज्ञानरत्न इहलोकमै स्वस्थ, शान्त र प्रसन्न छ ।
हारथाक र हैरान भएको म आफ्ना चिन्ता, अभाव र अपेक्षाहरूको बोझ् थपक्क बिसाउँछु र प्रकाशक उपकारीको मनोदशा र मनोवृत्तिबारे उसकै दृष्टि र कोणबाट गम खाने यत्न गर्छु । ऊ जे गर्दैछ, खासमा त्यसको पछाडि उसका पनि त केही तर्क होलान् । हैन, ऊ के सोच्दो हो ? ऊ जे सोच्दो हो, आखिर त्यस्तो नै किन सोच्दो हो ? कल्पना गरौं, अहिले ऊ आफ्नो कार्यालयमा लचकदार कौचमा बसेको छ । साथमा केही सहयोगी र यारहरू छन् । जब मेरो फोन जान्छ, स्मार्ट फोनमा नाम हेरेर सके ऊ कित्कित् हाँस्छ । र कटाक्षको भावमा भन्छ— ल, चाबेलको चाउरे फेरि आयो । धत्, यो कस्तो लिसो लागेको ? दिन्छु तँलाई पैसा !
मेरो लखकटाइ जारी छ । लेखकलाई लेखकस्वबाट वञ्चित गर्नुका पछाडि द्रव्यपारखी प्रकाशक ज्ञानरत्न उपकारीका आफ्नै तर्क हुँदा हुन् । र, ऊ ठान्दो हो— ती तर्क अकाट्य हुन् । यो असमान र अन्यायी जगत्मा समानता र न्यायको वितरण बराबरी हुनुपर्छ— शायद उसको मान्यता यस्तो छ । अर्थात् लेखकलाई नाम, प्रकाशकलाई दाम । लेखकलाई यश, प्रकाशकलाई ऐश्वर्य । लेखकलाई नाम र दाम दुवै कहाँ हुन्छ ? जनबहुल र अभावग्रस्त जगत्मा कहाँ मिल्छ दुई हातमा लड्डु ? लाजै नमानी चिची पनि चाहिने, पापाको पनि लोभ गर्ने ?
मान्छेका फेला परेपछि मान्छेले पाठ सिक्छ । चाबेलिया बूढाले सिकोस् अब । यो कटाक्षकारी कथनको लयमा ऊ फेरि कित्कित् हाँस्दो हो । आफ्ना इष्टदेवका तर्कमा दह्रो दम देखेर निकटवर्ती जन मखलेल हुँदा हुन् ।
नेपाल बर्खामासका च्याउसरी लेखक उम्रिने विचित्रको मुलुक हो । मुलुकमा गनिनसक्नु प्रतिभासम्पन्न लेखक छन्, जो नाम र दाम दुवैबाट वञ्चित छन् । उपकारीको तर्कको लहरो यसरी झङ्गिदो हो । कत्रा दुःखले कमाएको पैसोले कृति प्रकाशित गरिपाऊँ भनी जम्लाहात गर्दै मकहाँ धाउने लेखक कति छन् कति । यी सब निष्कामकर्मी हुन् । केहीको लोभ छैन यिनलाई । न आनन्ददायी नामको, न मेवादायी दामको । यिनको चर्चा कहीं, कतै, कसैले, कहिल्यै गर्दैन । तैपनि कसैसँग यिनकोे केही गुनासो छैन । पुस्तकमा नाम र फोटो छापियो कि यिनका लागि लाख भयो । अनि एसएमएस र फोनको अथक् साधक चाबेलको तृषित जीव ? मैले कत्रो कृपाले पुस्तक छापिदिएँ, आमसञ्चारमा यत्रतत्र उसको फोटो आयो । जताततै कत्रो हाईहाई भयो उसको ! यतिले नपुगेर अझ् पैसो चाहियो रे ! लेखक नाथेको लोभी जात !
यहाँनेर विलक्षण प्रकाशक श्री उपकारीलाई यो अकिञ्चन लेखकलाई दश हजार नखत टक्र्याएकोमा भारी पछुतो लाग्दो हो । थुक्क म ! बूढालाई व्यर्थै दिएँछु त्यत्रो रकम । एसएमएस र फोनमा हात पसाथ्र्यो, याचना गथ्र्यो, थाक्थ्यो र आफैं थान्को लाग्थ्यो । द–दश हजार क्याँट, हत्तेरी मेरो बुद्धि !
गम्भीर आत्ममन्थनको यस मोडमा पुगेर मिस्टर उपकारी नैतिकता, वचन र इमानको अर्थउपर घोत्लिंदो हो । यो भोग, सोख र मोजको जमाना हो । सारा जगत् त्यतै छ । लोकमान प्रवृत्तिको हात माथि परेको लोकमा के हो नैतिकता ? के हो वचन ? के हो इमान ? म त भन्छु— यी सब जिब्राका खेल हुन् । जगत्मा आज को छ नैतिकवान ? को छ वचनपालक ? को छ इमानी ? बडाबडा लाल पार्टीका कत्राकत्रा त्यागीहरू त्यागलाई नै त्यागेर लोभ, लाभ र भोगमा लिप्त छन् भन्देखिन् नाथे म एउटाले इमानको यत्रो सगर कसरी थाम्नु ? म थाम्दिनँ । खाँचैसित्ती । चाबेलियाले सरापे सरापोस् । उसको मुख दुख्छ, मेरो रौं हल्लिंदैन ।
घाम डुब्न लागेको बेला छ । उपकारीको समीपका जन आ–आफ्ना गुँडतिर लाग्छन् । उपकारी हाई काढ्छ, कन्सिरी कन्याउँछ, रुद्रघण्टी मुसार्छ । अगाडि टेबुलमा निष्कामकर्मी प्रतिभाहरूका निरस पाण्डुलिपिहरूको सानोतिनो चाङ छ । उपकारीको खल्तीमा तिनले टक्र्याएका क्याँटका रसमय बिटा छन् । म अनुमान गर्छु— चतुर र विरल प्रकाशक ज्ञानरत्न उपकारी आनन्दमग्न मुद्रामा रकम गन्न थाल्दो हो । र, मनमनै बडो शानले भन्दो हो— ओ चाबेलवासी मनुवा, चित्त फराकिलो पार्ने कला यी महान् मनीषीहरूबाट सिक ।
म अब आफूतिर फर्किन्छु । लोकमा नैतिकता, वचन र इमान जब तिरष्कृत हुन्छन्, बाँकी रहन्छ केवल बाहुबल । त्यस्तो बाहुबल, जुन न मसँग छ, न जसमा मलाई चाख छ । लाग्छ, लेखनीमा ठगिनु मेरो नियति हो, ठग्नु श्री उपकारीहरूको प्रिय धन्दा । यही हो लेखनीबाट हुने मेरो गुजाराको यथार्थ कथा । कथा सकियो । तैपनि परम् उपकारी प्रकाशकका कठोर कटाक्षले निर्ममता साथ डसेका मेरा आँखासामु शून्यमा उही प्रश्न तुन्द्रुङ्ग झुण्डिन्छ— लेखेर गुजारा चलेको छ, प्रिय बन्धु ?
चलेको छ मान्यवर, तर मेरो होइन, मेरा उपकारीहरूको ।