लुम्बिनीमा नक्कली टिकट प्रकरण: सम्यक दृष्टिकोणको अभाव
लुम्बिनीमा केही करोड आम्दानीका लागि लगाइएको प्रवेश शुल्क हटाएर स्थानीय बजारदेखि राष्ट्रिय अर्थतन्त्रसम्म योगदान पुर्याउने सोच कार्यान्वयन गर्नु आवश्यक छ।
२७ फागुनमा लुम्बिनीको मायादेवी मन्दिर प्रवेश गर्न लागेका थाई पर्यटकबाट नक्कली टिकट फेला पर्यो ।
यो घटनाले लुम्बिनी विकास कोषका कर्मचारीहरूको मिलेमतोमा नक्कली टिकटको प्रयोग हुँदै आएको आरोप पुष्टि गरेको छ ।
यो नक्कली टिकट प्रकरण लुम्बिनीमा भइरहेको भ्रष्टाचारको एउटा नयाँ रूप हो ।
विश्व बौद्ध जगतका लागि लुम्बिनी आस्थाको केन्द्र र पवित्र तीर्थस्थल पनि हो । तर, लुम्बिनीमा अपेक्षा अनुसार विकास हुनसकेको छैन । यसको मूल कारण लुम्बिनी विकास कोषको कमजोरी नै हो ।
आर्थिक भ्रष्टाचार र राजनीतिक चलखेलबाट बदनामी कमाएको कोषबारे गम्भीर नहुने हो भने बाहिरबाट लुम्बिनीको विकास र प्रचारप्रसारमा सरिक हुँदै आएका नागरिकहरूको प्रयास अर्थहीन हुनेछ ।
दृष्टिकोणको अभाव
जुनसुकै धार्मिक स्थलमा तदनुरूप वातावरणको अपेक्षा गरिन्छ । त्यसअनुसार, बौद्ध स्थलमा बौद्ध वातावरण हुनुपर्छ । त्यहाँ बौद्ध मूल्यमान्यतामाथि आघात पर्ने किसिमको गतिविधि हुनुहुदैन । पंचशीलको पालना बौद्ध मूल्यमान्यताको आधारभूत कुरा हो । हत्या–हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचारी नहुनु, झूटो नबोल्नु र जाँडरक्सी नखानु पंचशील हो ।
बौद्ध जीवन पद्धतिको आर्यअष्टाङ्गिक मार्गमा सम्यक् आजीविका पनि महत्वपूर्ण हो । सम्यक् आजीविकाअन्तर्गत चोरी, डकैती, ठगीजस्ता गतिविधिमा संलग्न भई गरेको अर्थ उपार्जनले जीवनयापन गर्नुहुँदैन ।
पंचशील र आर्यअष्टाङ्गिक मार्गमा कुनै प्रकारले भ्रष्टाचार गर्नुहुँदैन । तर, लुम्बिनी विकास कोष जोडिएको भ्रष्टाचारसँग सम्बन्धी समाचार बरोबर आइराख्नु हरेक हिसाबले गम्भीर कुरा हो ।
लुम्बिनीको प्रमुखस्थल मायादेवी मन्दिर प्रवेशमा स्वदेशी–विदेशी सबैलाई प्रवेश शुल्क लगाउने निर्णय भएकोमा भिक्षु सुदर्शन महास्थविरले कडा विरोध जनाएपछि विदेशी पर्यटकसँग मात्र शुल्क लिने व्यवस्था मिलाइएको थियो ।
त्यसयता विदेशी पर्यटकबाट प्रति व्यक्ति रु.२०० उठाउने गरिएको छ । कोषबाट प्रकाशित तथ्यांक अनुसार, सन् २०१७ मा जम्माजम्मी १५ लाख ५२ हजार ५८७ पर्यटक लुम्बिनी आएका थिए । जसमा ८० प्रतिशतभन्दा बढी आगन्तुक नेपाली थिए ।
त्यसअघिका वर्षहरूमा लुम्बिनीमा पर्यटक आगमनको आँकडा योभन्दा कम भए पनि अनुपात उही थियो । यसको अर्थ हो, लुम्बिनीमा प्रवेश शुल्कबाट खासै आम्दानी हुनसकेको छैन । नेपालीलाई पनि प्रवेश शुल्क लगाएको भए पर्यटक संख्या अझ् घट्नेथियो ।
विश्वका विभिन्न बौद्ध पर्यटकीय स्थलहरूमा कहीं प्रवेश शुल्क लगाइन्छ त कतै लगाइँदैन । भारतमा सबभन्दा बढी पर्यटक आउने बौद्ध स्थल बोधगया स्वदेशी–विदेशी सबैलाई निःशुल्क छ ।
विश्वभरका पर्यटकको चापले स्थानीय बजारलाई मात्र चलायमान गरिरहेको छैन, भारतका अन्य पर्यटकीय स्थल र क्षेत्रहरूको अर्थतन्त्रमा योगदान गरिरहेको छ ।
लुम्बिनीमा पनि केही लाख आम्दानी नहेरी सबैलाई सहज प्रवेश दिने हो भने स्थानीय बजारदेखि राष्ट्रिय अर्थतन्त्रसम्ममा योगदान पुग्नेमा दुईमत हुँदैन । तर यस्तो दृष्टिकोणको नितान्त अभाव देखिन्छ ।
कर्मचारीको करामत
मायादेवी मन्दिर प्रवेशको नक्कली टिकट प्रकरणमा लुम्बिनी विकास कोषकै कर्मचारीहरूको संलग्नता देखिएको छ र केहीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ पनि गरेको छ ।
कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भने पर्यटक लिएर आउने सवारी चालकहरूले नक्कली टिकटबाट मन्दिरमा प्रवेश गराउन खोजेको हुनसक्ने बताउँछन् ।
उनको यो भनाइ कोषको कमजोरीलाई छोप्ने प्रकृतिको छ । बाहिरबाट नक्कली टिकट आएको भए पनि त्यहाँ अनियमितता त भयो नै । यसबारे गम्भीर छानबिन त गर्नैपर्छ ।
एउटा निश्चित धर्म–दर्शनसँग सम्बन्धित तीर्थस्थल भएकाले लुम्बिनीमा बेग्लै वातावरणको अपेक्षा गरिनु स्वाभाविक हो । तर लुम्बिनी विकास कोषका कर्मचारीहरू दिनदहाडै रक्सी खाएर आइपुग्नु, आगन्तुकले सुन्ने गरी जथाभावी बोलेर बस्नु र शिष्टाचारको नितान्त अभाव रहनु हदैसम्मको लापरबाही हो ।
बौद्ध विश्वले अत्यन्तै पवित्रस्थलको रूपमा लिने लुम्बिनीमा कार्यरत कर्मचारीहरू बौद्ध धर्मावलम्बी नै हुनुपर्छ भन्न त नमिल्ला तर सामान्य शिष्टाचार जानेका र भ्रष्टाचारको गन्ध नभएका कर्मचारीको अपेक्षा गर्दा कसैबाट आपत्ति नआउला ।