टेकू दोभान विलाप
उपत्यकावासीको संस्कृति र इतिहास बेगरको सोचको उपज हो टेकू दोभानको यो दुरवस्था।
नेपालमण्डलको उद्गमस्थल टेकू दोभान– वागमती र विष्णुमतीको संगम । लिच्छविकालदेखि नै यो बौद्ध चैत्य र मठमन्दिरले सुसज्जित छ । आफ्नो इतिहास र सम्पदाको महत्व आकलन गर्ने नागरिक हामी भएको भए टेकू दोभान क्षेत्रको संरक्षण हुन्थ्यो ।
संगम छेउ सफा सुग्घर हुन्थ्यो र पुर्खाले निर्माण गरेका संरचनाहरु वर्तमान नेपालको गहना ठानी रेखदेख हुन्थ्यो ।
तर वास्तविकता अर्कै र रगत चिसो पार्ने खालको छ । विष्णुमती र वागमती उपत्यकाको मलमूत्र बोकेर एक हुन्छन् र चोभारतर्फ दक्षिण लाग्दछ ।
दोभान छेउ यहाँको ऐतिहासिक परिवेश ध्वस्त पार्ने गरी बडेमाको कंक्रिट पुल बन्दैछ । दोभानको शिखर शैलीको शिव मन्दिर भूकम्पको धक्काले ढल्न आँटेको छ । एकातर्फ चितामा कसैको लाश जलेर खरानी बन्दैछ, तर मलामी सबै हिंडिसके । अर्कोतर्फ अव्यवस्थित आधुनिक घरले स्थल कुरुप बनेको छ ।
यताउता भेटिएका मूर्तिहरूलाई एउटा भित्तामा यसै टाँसिएको छ संरक्षणको नाममा । भूकम्पको बेला जम्मा पारिएका मूर्ति र पत्थरको रास पनि छ । बगरे र निर्माण सामग्रीका ट्रकहरू यत्रतत्र हिंड्छन् छापेको ढुंगामाथि । एउटा ट्रक प्राचीन शिवलिंगलाई किचिदिएला कि जस्तो गरी पार्क गरिएको छ ।
काठमाडौं शहरको दक्षिण भेकको श्मशान घाट, यो टेकू देवस्थल । यहाँ अनगिन्ती सम्पदा स्थल छन् । नेपालमण्डलको जुहारत हो टेकू दोभान, तर हामीले रछ्यान झैं ठानिरहेका छौं ।
टेकू दोभान उपत्यकावासीको मायाको आशमा बसेको छ । आफूलाई वजनदार समुदाय सम्झने हो भने प्रमाणित गर्नु पर्यो, टेकू दोभान संरक्षण गर्न अघि सर्नु पर्यो ।