भारतले सहमति नदिँदा पुल निर्माणमा ढिलाइ
भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष ठेक्का सम्झौता गरेको थियो ।
रु एक करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पुल निर्माण हुन लागेको हो । पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिए । रासस