डिजिटल अभिलेखमा द्वन्द्वपीडितको भोगाइ
दशवर्षे सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका महिलाहरूको भोगाइ सम्बन्धी डिजिटल अभिलेख तयार भएको छ । द स्टोरी किचेन नामक गैरसरकारी संस्थाले तयार पारेको अभिलेख ब्रेकिङसाइलेन्सइन्डिङइम्यूनिटी डटअाेअारजीमा हेर्न सकिन्छ । अति द्वन्द्व प्रभावित १० जिल्लाका पीडित महिलाहरूको आवाज र दृश्य समेटिएको वेबसाइट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ८ चैतमा राजधानीमा सार्वजनिक गरेकी हुन् ।
वेबसाइटमा राखिएका बाह्रमध्ये अधिकांश अडियो र दृश्य सामग्री द्वन्द्वपीडित महिलाहरू आफैंले लेखेर तयार पारेको द स्टोरी किचेनकी अध्यक्ष जया लुइँटेलले जानकारी दिइन् । पीडित महिलाहरूलाई उद्धृत गर्दै लुइँटेल भन्छिन्, “देशमा लडाइँ त सकियो तर हाम्रो घर–घरमा लडाइँ अझै सकिएको छैन ।”
माअाेवादी, सेना र प्रहरीद्वारा प्रताडित महिलाहरू मनोसामाजिक रूपमा समाजमा परिपूरण गराउन पनि उनीहरूको अभिलेख अत्यावश्यक रहेको आयोजकले जनाएको छ । भविष्यमा यस्तो घटना नदोहोरिऊन् भन्नका लागि पनि यस्ता अभिलेख आवश्यक देखिन्छ ।
द्वन्द्वपीडित महिलाहरूको प्रतिनिधिमूलक वास्तविक कथालाई राजधानीस्थित मण्डला नाटकघरका कलाकारले मञ्चन गरेका थिए ।
दण्डहीनता अन्त्यका लागि मौनता तोड्नुको विकल्प नभएको र पीडित महिलाहरूले खुलेर बोल्ने साहस गरेकोमा निकै खुशी लागेको संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले बताइन् । “सत्य भन्न सकिन्छ र न्याय दिन सकिन्छ” उनी भन्छिन्, “प्रत्येक नागरिकलाई द्वन्द्वकालमा कहाँ, के, कसरी, किन भएको भन्ने थाहा पाउने अधिकार छ ।”
द्वन्द्वका क्रममा श्रीमान् गुमाएकी सुर्खेतकी शीतलसिंह राठौरले हिमालखबरसँग भनिन्, “द्वन्द्वपीडितका नाममा जागीर खाने काम मात्रै नहोस् भन्ने लाग्छ ।” सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद थपिए पनि आयोगले पीडितको पक्षमा काम गर्न नसकेको उनको गुनासो छ ।