‘थाङ्ला’ फेरि पोखरामा
हिमाली जीवन, संघर्ष, द्वन्द्व र प्रेम जोडिएको नाटक ‘थाङ्ला’ २० बर्षपछि फेरि पोखरेली दर्शकले मन पराएका छन् ।
तिमी मेरो को हो ?
नाटक थाङ्लामा कलाकार पेम्बा (रोय श्रेष्ठ) ले बहुपति प्रथा अन्तर्गत आप्mनै श्रीमती लोप्साङ (दिया मास्के) लाई सोध्छ । कलिलो बालक पेम्बालाई आफ्नो विवाह भइसकेको थाहा हुँदैन । ठूलो भइसकेपछि दाजु ग्याल्पो (प्रकाश घिमिरे) ले लामाबाट पूजापाठ गराएर लोप्साङ र पेम्बालाई श्रीमान–श्रीमतीका रुपमा रहन बाध्य पार्छ ।
यता, प्रेम सम्बन्धमा रहेको पेम्बाले दाजुको श्रीमतीलाई आप्mनी पनि श्रीमती मान्नुपर्ने अवस्था आएपछि उसले आत्महत्या गर्छ ।
व्यक्तिगत स्वतन्त्रता, धार्मिक बन्धन, प्रेम लगायतका द्वन्द्वमा अल्झिएको एउटा परिवारको यो कथाले हिमाली क्षेत्रका बासिन्दाको दुखको कथा समेटेको छ ।
नाटकको एउटा दृष्यमा ठूलो हावाहुरीका बेला छोरीसँग कुरा गर्दै पेम्बाले भनिरहेकी हुन्छिन्, “यो ठाउँमा हावासँग जुध्न सकिएन भने बाँच्न पनि सकिंदैन ।”
हिउँ पर्ने सुख्खा ठाउँ, तीब्बतसँगको कठिन व्यापार र कष्टकर जीवनलाई कलात्मक रुपमा उतारिएको थाङ्लाले हिमाली क्षेत्रका बासिन्दाका सँस्कार, संकृति र जीवन बुझ्न सघाउँछ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तद्धारा लिखित यो नाटक पोखरामा दोस्रो पटक प्रदर्शन गरिएको हो ।
‘थाङ्ला’ अर्थात भोटेभाषामा ‘हिमालको देउता’ शिर्षकको नाटक पोखरेली रंगमञ्चमा २० बर्षअघि पहिलोा पटक प्रदर्शन गरिएको थियो । त्यतिबेला पोखरा दीपेन्द्र सभागृहमा १२ पटक मञ्चन भएको यो नाटकबाट ९ लाख रुपैयाँ संकलन भएको थियो ।
त्यसपछि सन् २००० मा प्रज्ञा प्रतिष्ठान काठमाडौँमा र गतबर्ष शिल्पी थिएटरमा ३५ पटक मञ्चन गरिएको ‘थाङ्ला’ त्यसपछि दिल्ली लगायत भारतका विभिन्न शहरमा डुल्यो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि शुरु भएको “राष्ट्रिय नाटक महोत्सव”को शुरुमै थाङ्ला प्रदर्शन गरिएको हो । यो नाटक आज दुई पटक प्रदर्शन गरिएको नाटक भोलि पनि दुई पटक देखाइने छ ।
देशविदेश घुमेर आइपुग्दा नाटकमा केही परिमार्जन गरिएको निर्देशक अनुप बरालले बताएका छन् ।
“पहिले लभ स्टोरी जस्तो मात्र थियो,” उनले भने, “अहिले समाज पनि परिवर्तन भइसकेको अवस्थामा नयाँ पुस्ताले ग्रहण गर्ने गरी परिमार्जन गरेका छौँ ।”
चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँका १० वटा नाटक मञ्चन हँुदैछन् । महोत्सवमा भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदिको घेरा, सखि लगायतका नाटक समेत मञ्चन हुनेछन् ।
विश्व रंगमञ्च दिवसको अवसरमा आयोजित नाटक महोत्सवमा विभिन्न छलफल तथा अन्तक्र्रिया समेत हुने व्यवस्थापनको जिम्मा पाएका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।
-युवराज श्रेष्ठ, पोखरा