घिमिरेका बिर्ता (इतिहास)
मुकुन्द सेनले श्रीनाथ जोशीलाई आमचोक (अहिले खोटाङ) को पालिंपाटार खेत, कार्की छाप घडेरी र खर्क समेतको एक बिर्ता सं. १८१८ मा दिएका थिए । त्यसमा श्रीनाथको थर छैन, जोशी मात्र लेखिएको छ । जोशी भनेको जोतिषी पेशा गर्ने अर्थात् चिना हेर्ने, चिनाचपेटा बनाउन पनि सक्ने फलित ज्योतिषका जानिफकार र पञ्चाङ्ग बनाउन पनि सक्ने हुन्थे । उसबेला राजाका चिना लेख्ने, ग्रहफल बताउने विज्ञ ब्राह्मणहरूले बिर्ता पाउँथे ।
मकवानी राजा शुभ सेनले त्यस्तै ज्योतिष दुर्गा दास जोशीलाई सिम्पानी (खोटाङ), डिप्रुङ्ग खर्क बिर्ता दिएका थिए । शुभ सेनका छोरा महीपतिले उनै जोशीलाई टुवाखोला पारिको इजरा गाउँ, सिम्पानीमै जोडिएको कात्तिके खर्क र तल १०० मुरी माटाको खोला खेत थपिदिएका थिए । ज्योतिषी पेशाका यी जोशीको थर घिमिरे हो । अहिले यिनका बस्ती सिम्पानी इजारा गाउँमा छँदैछ । यी घिमिरेहरूले पछिसम्मै फलित ज्योतिषी पेशा अपनाएका थिए ।
मुकुन्द सेनले श्रीनाथ जोशीको पालिंपाटार खेत थासुवा खोलादेखि पश्चिम, मखुवा खोलादेखि पूर्व, कोशीदेखि उत्तर कार्की छाप घडेरी र खर्क एक समेत तिल, जौ, जल, कुश समातेर संकल्प गरी बिर्ता दान दिएका थिए । पहिले घिमिरे थरका ज्योतिषीले जस्तै श्रीनाथको थर नलेखी जोशी लेखिएको छ । यिनले सो बिर्ता १० वर्ष मात्र भोग गरेको देखिन्छ । सं. १८२८ मा कर्ण सेनले विरिञ्चि घिमिरेलाई आमचोकको पालिंपाटार बिर्ताको १२५ मुरी खेत, घडेरी, खर्कको सट्टामा दिंग्लाकोटको अमलाबोटे खेत दिए । यी विरिञ्चि श्रीनाथका भाइ वा छोरा थिए होलान् ।
त्यस खेतको साँध–किल्ला छुट्याइएको छ । माटो जम्मा १२५ मुरी छ । पहिले श्रीनाथ जोशीलाई पालिंपाटार खेत, घडेरी, खर्क बिर्ता दिने मुकुन्द सेनको मुकाम अमरपुर छ । यो अहिले सप्तरीमा पर्छ । फट्केमा रुजु बस्ने चौतरिया अजित राई छन् । मैले यस मोहरको नक्कल खोटाङ, फूलबारीका यदुनन्दन आचार्यबाट पाएको हुँ । कर्ण सेनको स्याहामोहरको उतार चाहिं चौरासी कुशबाट उद्धृत गरिएको हो ।
मुकुन्द सेनले सं. १८१८ मा श्रीनाथ जोशीलाई गरिदिएको स्याहामोहर
श्री
श्रीरामजिसहाये श्रीवाराहजीउ सहाये
पट्टासही
(मुकुन्दसेन)
छाप
स्वस्तिश्रीरुपनारायणेत्यादिविविधविरुदावलीविराजमान–मानोन्नत–महाराज–श्रीहिन्दुपति–छत्रपति–राजराजेश्वर महाराजाधीराज श्रीश्रीश्रीमन्मुकुन्दसेनदेवानां सदा समरविययीनाम्
श्रीनाथु जोइसिके तर्फ आमचोकमधे पालिंपाटार थासुवाखोलामै पछीम मखुवाखोलासे पूर्व कोसिसै उत्तर कारकि छाप घडयारि खरक येक १ सजल सतील कुस बीर्तीकै दीहल है आपन खातीरज्मा सौ वसथु वसावथु जोतथु जोतावथु जे उतपंन होअै कुस विर्ती जानी परम सुख भोग्य करथु आसिर्वाद देल करथु दस बिर्तीआक सरह सेवा रुजु रहल करथु इति संवत् १८१८ साल फागुन वदि १५ रोज मोकाम अमरपुर
(किनारामा) रुजु चौतरिया अजीत राये
आमचोकको पालिंपाटारबिर्ताको सट्टा दिंग्लामा
आगे दिंग्लाका अमलमध्ये विरंचि धिमि¥यालाई कर्णसेनले आंचोकको पालिंपाटार खेत घ¥याडी खरकको साटो अमलाबोटेखेत दियाको रहेछ तसको साध चनौट्या खेत रैकर तेर्छो बाटो भज्यांका लुहकिलदेखि पश्चिम रांच्याको पुछारको भंज्यां डाडाका पानिढलाको उत्तर पाडरीकोट्या खोलादेखि दखिन येति चार किला भित्रको खेत १ ।२० विरौटो ५ मुरी जमा खेत १ ।२५