डढेलोले ९७ जनाको मृत्यु
नेपालमा १२ वर्षको अवधिमा डढेलोका कारण ९७ जनाले ज्यान गुमाएका छन् ।
डढेलोका अनुसन्धानदाता एवम् दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक सुन्दर शर्माका अनुसार, २०६२ देखि अहिलेसम्म डढेलोका कारण ९७ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा घाइते हुनेको संख्या ८८ पुगेको छ ।
२०६६ सालको गर्मी याममा लागेको डढेलोले सबैभन्दा बढी मानवीय क्षति भएको थियो । उक्त वर्ष डढेलोबाट ४९ जनाले ज्यान गुमाएका थिए भने, ९ जना घाइते भएका थिए । त्यस्तै ६४ घर जलेर नष्ट भएका थिए । ०६४ मा एक लाख ४६ हजार ७४२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।
त्यसैगरी २०७१ सालमा डढेलोका कारण १३ जनाले ज्यान गुमाएका थिए भने ११ जना घाइते भएका थिए । २०७२ मा एक लाख ३० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो भने, ११ जनाको मृत्यु र ११ जना घाइते भएका थिए ।
नेपालको कूल भू–भागको करीब ४४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ ।
नेपालमा डढेलो लाग्नुको प्रमुख कारण मानवीय कारण नै मानिन्छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यका अनुसार वनमा डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ भन्ने परम्परागत सोच भएका मानिसले डढेलो लगाउने गरेका छन् । वनमा डढेलो लागिसकेपछि नियन्त्रण गर्न कठिन हुने हुँदा त्यसबाट मानवीयसँगै वातावरणीय क्षति भइरहेको आचार्यको भनाइ छ ।
वन जंगलमा डढेलो लगाउनेलाई कानुनमा दण्ड जरिवानाको व्यवस्था भएपनि प्रभावकारी रुपमा त्यसको कार्यान्वयन हुन सकेको छैन । जसका कारण पनि डढेलोका घटनाहरुमा कमी आउन नसकेको आचार्य बताउँछन् ।
मुलुकी ऐन, २०२० मा आगो लगाउनेको महलमा, आगो लगाउने कार्यलाई फौजदारी अभियोगको रुपमा लिएको छ ।
त्यसैगरी वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वनमा आगो लगाउने कार्यलाई बन्देज लगाई कानुनी अपराधको रुपमा लिएर कैद सजाय र दण्ड जरिवानाको व्यवस्था गरेको छ । यी सबै ऐन/नियम कागजमै सिमित भएका छन् ।
तर, सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक भने, सामुदायिक वन उपभोक्ता समुहहरुले आफ्नो कार्ययोजना अनुसार डढेलो नियन्त्रणको कामलाई प्रभावकारी रुपमा सञ्चालन गरेको दाबी गर्छिन् ।