सातवटा निर्वाचनमा संसद्मा कम्युनिष्टको उपस्थिति कति ?
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास जुट र फुटको घटनाले भरिएको छ । ६ दशकमा भएका सात वटा निर्वाचनको परिणाम हेर्दा कम्युनिष्टहरूलाई जुुट्दा फाइदा र फुट्दा घाटा भएको देखिन्छ ।
१०९ सिटका लागि २०१५ सालमा भएको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले ४ सिट मात्रै जितेको थियो । २०१७ सालमा निर्दलीय पञ्चायती व्यवस्था लादिएपछि लामो समय नेपालमा दलीय आधारमा निर्वाचन हुन सकेन ।
२०४६ मा जनआन्दोलनको सफलतापछि २०४८ सालमा भएको आम निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले राम्रो मत पाए । त्यसबेला माले र माक्र्सवादी मिलेर बनेको नेकपा (एमाले) ले ६९, संयुक्त जनमोर्चाले ९ र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले २ सिट जिते ।
कुल २०५ सिटका लागि भएको त्यस निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले ८० सिट पाएका थिए ।
२०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कम्युनिष्ट पार्टीहरूको मत उकालै चढ्यो । त्यसबेला नेकपा एमाले ८८ सिट जितेर सबभन्दा ठूलो पार्टी बन्यो भने नेमकिपा पनि ४ सिटमा विजयी भयो ।
२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने कम्युनिष्ट पार्टीहरू केही खस्किए । माओवादीको हिंसात्मक आन्दोलनका कारण त्यस निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले ७८ सिटमा चित्त बुझाउनुपर्यो । कुल २०५ सिटमा एमालेले ७१, राष्ट्रिय जनमोर्चाले ५, संयुक्त जनमोर्चा नेपालले १ र नेमकिपाले १ सिट मात्र जिते ।
माओवादी २०६२–६३ को जनआन्दोलन र शान्ति सम्झौता हुँदै संसदीय राजनीतिमा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा कम्युनिष्टहरूले भारी मत पाए ।
६०१ सदस्यीय संविधानसभामा २६ सिट मनोनीत गर्ने व्यवस्था थियो । ५७५ सिटका लागि भएको निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले ३५२ सिट जिते । जसमध्ये माओवादीले २२०, एमालेले १०३ र साना कम्युनिष्ट पार्टीहरूले २९ सिट जिते ।
दोस्रो संविधानसभा सदस्य निर्वाचन (२०७०) मा कम्युनिष्ट मत फेरि केही ओरालो झर्यो । ५७५ सिटकै लागि भएको निर्वाचनमा कम्युनिष्टहरूले २७५ सिट जिते– एमाले १७५, माओवादीले ८० र साना पार्टीहरूले २० सिट । पहिलो संविधानसभामा पहिलो दल भएको माओवादी ६ वर्षको अवधिमै तेस्रो दलमा खुम्चियो ।
संविधान जारी भएपछिको पहिलो आम निर्वाचन– २०७४ मा कम्युनिष्ट पार्टीहरूले गतिलो ‘कम ब्याक’ गरे । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले पार्टी एकताको प्रस्तावसहित गरेको चुनावी तालमेलप्रति मतदाता आकर्षित भएको देखियो ।
परिणाम, कुल २७५ सिटका लागि भएको निर्वाचनमा एमाले र माओवादीले स्पष्ट बहुमत प्राप्त गरे । निर्वाचनमा एमालेले १२१ र माओवादी केन्द्रले ५३ सिट गरी कुल १७४ हासिल गरे ।