‘चक्रपथ हस्तान्तरण भइसकेपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं’
चिनियाँ सहयोगमा बनेको काठमाडौं उपत्यकाको चक्रपथ चीनकै सहयोगमा आठ लेनमा विस्तार हुँदैछ। कलंकी–कोटेश्वर खण्ड विस्तारको काम अन्तिम चरणमा पुग्दा अहिले सडकको डिजाइन विवादास्पद बनेको छ।
यसमा फूटपाथ, जेब्राक्रसिङ, साइकल लेन, मिडियन (दुई लेनबीच बार, पर्खाल वा खाली ठाउँ) आदि नराखिएको विषयमा प्रश्नहरू उठेका छन्। वैदेशिक समन्वय महाशाखा प्रमुख समेत रहेका सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठसँग गरिएकाे कुराकानी:
चक्रपथ विस्तारमा अहिले किन विवाद भइरहेको छ ?
अहिले काम भइरहेको आठ वर्षअघिको डिजाइनमा हो । त्यतिखेर चक्रपथ वरिपरिको बस्ती अहिलेको जस्तो थिएन । प्रमुख सडकको भित्रपट्टि अर्को सडक खोलेर बस्ती विकास हुनुपर्नेमा नेपालमा सडक निर्माण हुनासाथ त्यसको दायाँबायाँ बस्ती बस्ने चलन छ । त्यही समस्याले सडक सुरक्षा नभएको भनेर गुनासो उठेका हुन् ।
चीनले बनाइदिएको भएर बस्तीको कल्पना नगरिएको डिजाइनमा काम गरिएको हो कि ?
‘ट्राफिक फ्लो’ भइरहने भएकोले अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गति अनुसार सडक डिजाइन गरिएको हो । पहिलो चरणको कलंकी–कोटेश्वर १० किमी आगामी असार मसान्तसम्म बनिसक्छ ।
दोस्रो चरणको कलंकीबाट महाराजगञ्ज नारायणगोपाल चोकसम्मको ८.२ किमीको लागि सम्झौता भइसकेको छ । नारायणगोपाल चोकदेखि कोटेश्वरसम्मको खण्ड तेस्रो चरणमा बन्छ । चक्रपथको सबैतिर यही स्टाण्डर्डको सडक बन्छ ।
चाबहिलदेखि पिङ्गलास्थानसम्म सडकमा विश्व सम्पदा सूचीमा रहेको पशुपति विकास क्षेत्र पर्छ । त्यहाँ पुरातत्व विभागको समन्वयमा अन्डर पास वा फ्लाई ओभर हुन्छ ।
चक्रपथ विस्तारको समयमा पैदलयात्रीका लागि फूटपाथ, जेब्राक्रस र आकाशेपुल जस्ता आवश्यकतालाई प्राथमिकता दिन सकिन्नथ्यो ?
निर्माणाधीन समयमा केही असुविधा हुन्छ । पैदल यात्रुले ध्यान दिएर सडक पार गर्नुपर्छ । निर्माण गर्नेले पनि सुरक्षित वातावरण तयार गर्नुपर्छ । रोड सेफ्टीमा त्यहाँ केही गरिएकै छैन भन्ने होइन ।
निर्माण भइरहेकै बेला तुरुन्त आकाशेपुल बनाउनु पर्यो भनेर हुँदैन । हामीले मुख्य सडक बनाउन नपाएकाले अहिले आकाशेपुलतिर ध्यान दिन सक्दैनौं । सडक निर्माण सम्पन्न हुने बेलातिर मात्र आकाशेपुल बन्न सक्छ । यो कुरा सबैले बुझिदिनुपर्छ । विदेशमा देखेको जस्तो बनाउने हैसियत नेपाल सरकारको छ, छैन हेर्नुपर्छ । सरकारको क्षमताले धान्नेसम्मको क्रमिक सुधार गरेर लैजान्छौं ।
अहिले विस्तार हुँदै गरेको चक्रपथमा ‘मिडियन’ जरुरी छैन ?
दुई लेनको बीचमा दुई सेता धर्काले छुट्याउने मिडियन बनाइन्छ । चीनका शहरी सडकमा त्यही धर्साको मिडियनबाट अनुशासन पालना हुन्छ । ट्राफिक नियम मान्नेले त्यो धर्का नाघेर अर्को लेनमा जाने आँट गर्दैनन् ।
यहाँ पनि नियम पालना गरे/गराए सडक सुरक्षित हुन्छ । तथापि, अहिले समस्याको रुपमा बल्झाइसकेको हुनाले लेन छुट्याउने कंक्रिट ब्लक राख्छौं । रोड सेफ्टी अडिटिङ यसअघि भएको मलाई थाहा छैन । निर्माण सम्पन्न भएर सडक हस्तान्तरण भएपछि हामी गराउँछौं र अडिटरहरूले जे अपुग भयो भन्छन्, त्यसलाई बजेट व्यवस्था गरेर पूरा गर्छौं ।
अहिले चीन सरकारले खटाएको ठेकेदारले काम गरिरहेको ठाउँमा हामी गएर काम गर्दा हुने असमझदारीले प्रगतिमा बाधा हुन्छ । त्यसकारण अहिले उनीहरूले जे गरिरहेका छन्, त्यही अनुसार हुन्छ । हस्तान्तरण भएपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं ।
फूटपाथ र साइकल लेन नराखेको गुनासोबारे के भन्नुहुन्छ ?
अहिलेकै डिजाइनमा पनि दुईतर्फ तीन मिटरमा आधा साइकल लेन र आधा फूटपाथ छुट्याइएको छ । साइकललाई छुट्टै ट्रयाक भएन भनेर जुन गुनासो गरिएको छ, अहिले साइकलबाट यात्रा गर्ने कति छन्, त्यो पनि सोचौं । भविष्यमा साइकल यात्रु बढे भने ग्रीन एरियालाई पनि समावेश गरेर चौडा बनाउन सकिन्छ ।
सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न र ठूला बस चलाउन थालिए पनि चक्रपथमा बस लेनको आवश्यकतालाई ध्यान दिइएन नि ?
बस सेवालाई समयमै आउने, सुरक्षित र भरपर्दो गरी सञ्चालन गर्न सक्यौं भने साना गाडीमा यात्रा गर्नेहरू पनि बसतर्फ आकर्षित हुन्छन् । यात्रुहरूको पहिलो प्राथमिकता पनि बसमै छ ।
शहरभित्र ‘डेडिकेटेड’ लेन त बनाउनै पर्छ । अहिलेको डिजाइनमा यो सुविधा छैन । संभव भएसम्म भविष्यमा रिङरोडमा बसको लागि मात्र भनेर लेन छुट्याउँछौं । रोड सेफ्टी अडिट गर्दा नै यसलाई पनि सुधार गर्न सकिन्छ ।
अहिले नै सडक सुरक्षाका उपाय थप्न सकिन्न ?
कलंकीदेखि कोटेश्वरसम्म पाँच ठाउँमा जेब्राक्रस र तीन ठाउँमा मात्र आकाशेपुल बनाउने सम्झौता भएको थियो । त्यसबाहेक ६ ठाउँमा नेपाल सरकारले आकाशेपुल बनाउँछ ।
अहिलेको अवस्थामा यो अपुग देखिएको छ । आवश्यक ठाउँमा थप आकाशेपुल र जेब्राक्रस बनाइनेछ । कमी–कमजोरी त सच्याउँदै जाने हो ।
प्रस्तुतिः सविता श्रेष्ठ