जब दीप श्रेष्ठ दूरसम्म गुञ्जिए
कति कमजोर रहेछ भाग्य
तिम्रो सिउँदो कोर्न सकिन... ।
गाउनुअघि गायक दीप श्रेष्ठले यो गीतसँग जोडिएको एउटा किस्सा सुनाए । “मेरो एउटा साथी एक जना युवतीसँग गहिरो प्रेममा थियो । तर युवती भने माया गरे पनि विवाहका लागि तयार नहुने । जब, केटाले माथिको दुई लाइन लेखेर प्रेमिकालाई चिठी पठाए, युवतीको मन पग्लिएछ । उनी भागेर विवाह गर्न राजी भइन् ।”
यौवन तुलाधरको शब्द रचना र दीप श्रेष्ठको स्वर तथा संगीतमा सजिएको यो गीत पोखराको लेकसाइडमा हिजो भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा गुञ्जियो ।
‘ओपन हाउस रेष्ट्रो एण्ड लाउन्ज बार’ को उद्घाटन समारोहमा श्रेष्ठले यो गीत सुनाएका थिए ।
गायक श्रेष्ठले आफ्नै विगतका प्रेम–कथा पनि सुनाए । युवावस्थामा उनले एक जना दार्जलिङकी युवतीलाई मन पराउँदा रहेछन् ।
उनकै प्रेममा उनले
म त दूरदेखि आएँ
तिम्रो नाम बोकेर ...।
गीतको रचना गरेका रहेछन् ।
२० दिनअघि मात्र कास्कीको पर्यटकीय गाउँ घान्द्रुक बसेर फर्किएका श्रेष्ठले २०३० सालतिर पोखराको लामाचौर स्कुलमा एक महिना विताएका रहेछन् । यहाँका डाँडाकाँडा रनवन चहारी सकेका उनी भन्छन्, “आधा त म पोखराकै हुँ जस्तो लाग्छ ।”
त्यसपछि उनले अर्को चर्चित गीत सुनाए ।
गुँरासको फुल सिउरी
बेतको टोकरी बोकी
साइलीबरी चियाबारीमा..।
गीतकार विजय श्रेष्ठ यो गीत लेख्दालेख्दै विचमा अलमलिएछन्, चियाको एक सुइरो दुई पात हुन्छ की दुई सुइरो एक पात हुन्छ भनेर । गायक दीपले दार्जलिङ्गे साथीहरुलाई सोधेपछि मात्र थाहा पाएछन्, “चियाको त एक सुइरो दुई पात हुँदोरहेछ ।” त्यसपछि उक्त लाइन गीतमा राखिएको रहेछ ।
नेपाली साँगीतिक क्षेत्रमा ५० वर्षभन्दा लामो समयदेखि सक्रिय दीप श्रेष्ठका गीतका आप्mनै भाका छन्– मानिसका मन मुटुलाई छुने ।
अन्तिम गीत गाउनुअघि उनले भने, साथीभाईको गीत गाउँदा गाउँदा मलाई पनि एउटा गीत लेख्न मन लाग्यो, उनले गाए–
वितेका कुराले केही चोट लाग्छ
तिमी टाढा हुँदा धेरै दुख लाग्छ
मलाई जस्तै तिमीलाई पनि त्यस्तै हुन सक्छ
मेरी मायालु ।