एमालेको आकस्मिक बैठक बस्दै , माओवादीसँग एकीकरण घोषणाको तयारी
नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच आजै पार्टी एकीकरणको घोषणा गर्ने तयारी भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री आधा–आधा कार्यकाल चलाउने सहमति बनिसकेको छ ।
संगठन र सैद्धान्तिक विषयलाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने तयारी भएको छ । कार्यदलले संगठन र सिद्धान्तका बारेमा टुंगो लगाउने गरी एकता घोषणा गर्ने तयारीमा दुवै दलका नेताहरु सहमत भएका छन् ।
संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा नेताहरुबीच छलफल चलेको छ ।
केन्द्रीय समिति कस्तो बनाउने भन्ने विषयमा विभिन्न मोडलमा छलफल भइरहेको छ ।
निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँड ६०–४० कै आधारमा गरिएकाले त्यही प्रक्रियाअनुसार एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बनाउने विषयमा छलफल चलिरहेको बताइएको छ । तर, केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
एमालेका एक पदाधिकारीका अनुसार, ९९ सदस्यीय वा ३४४ सदस्यीय बनाउने भन्ने बारेमा छलफल चलिरहेको छ ।
९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा एमालेका ५९ पोलिटव्यूरो सहित ६० जना र माओवादीबाट थप हुने ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने विकल्पलाई पनि खुल्ला राखिएको छ ।
९९ जनाको केन्द्रीय समिति बनाउँदा त्यसको एक तिहाई मात्र पोलिटव्यूरो बनाउनु पर्ने वाध्यताले नेताहरुको व्यवस्थापनमा कठिनाई हुन सक्छ ।
एमालेको २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने विकल्पमा पनि छलफल भइरहेको छ । ३४४ जनाको केन्द्रीय समिति बनाउँदा ११४ सदस्यीय पोलिटव्यूरो बनाउनुपर्ने हुन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पटक–पटक भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ ।
यसअघि पटक–पटक एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि पद बाँडफाँडमा कुरा नमिल्दा बस्न सकेको थिएन ।
पार्टी एकीकरणबारे निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।
ललितपुरको मानभवनस्थित व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा एमाले स्थायी समितिको बैठक बस्दैछ । ओली र दाहालबीच पनि यही घरमा पटक–पटक ‘वान टु वान’ वार्ता भएको थियो ।