प्रविधिले सहज बनाउँदै सार्वजनिक सवारी
सार्वजनिक सवारी साधनमा एपको प्रयोगसँगै यात्रा थोरै भए पनि सहज बन्न थालेको छ।
छोटो दूरीमा पनि ठूला बस चल्न थालेपछि काठमाडौं उपत्यकाको सार्वजनिक यातायात यात्रा केही सजिलो भएको छ । झुण्डिएर, कोच्चिएर यात्रा गर्नुपर्ने बाध्यतामा कमी आएको छ । बस स्टपको जानकारी दिन डिस्प्ले स्क्रिन र स्पिकर, उभिने यात्रुका लागि ह्याङ्गिङ स्ट्र्याप, ट्राभल कार्ड, ह्वीलचेयरसहित यात्राको प्रबन्ध पनि मिलाइएको छ ।
पछिल्लो समय सार्वजनिक बसले मोबाइल एपसमेत सञ्चालन गर्न थालेका छन् । एपले बस र यात्रुलाई नजिक्याएको छ । बस कुर्दा हुने हैरानी थोरै भए पनि घटेको छ ।
साझा यातायातले गत भदौदेखि मेरो साझ एप प्रयोगमा ल्याएको छ । साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेय एप प्रयोगकर्ताले आफ्नो रुटको बस कहाँ आइपुग्यो भन्ने मात्र होइन, बस र सडकको अवस्थाबारे पनि समयमै थाहा पाउने बताउँछन् ।
एपमार्फत आफ्नो रुटको मात्र होइन, काठमाडौंभरका साझाका ४६ वटा बस कहाँ चलिरहेका छन् भनेर थाहा पाउन सकिन्छ । यसले यात्रुमा अन्योल हटाउन र समय बचत गर्न सहयोग पुर्याएको छ ।
एप ६ हजार ५०० भन्दा बढी पटक डाउनलोड भइसकेको बताउँदै पाण्डे भन्छन्, “एप ल्याउनुअघि बस कहाँ आइपुग्यो भन्दै अफिसमा धेरै फोन आउँथ्यो” पाण्डेय भन्छन्, “अहिले फोन पनि कम भएको छ ।”
साझासँगै उपत्यकामा चल्ने महानगर, सिटी मेट्रो, अरेञ्ज, सामाखुशी, मयुर यातायातको सेवा पनि एपमार्फत हेर्न सकिन्छ । जसमा ३०० भन्दा बढी सवारी आवद्ध छन् । महानगरको एप त १५ हजारभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
उपत्यकाका २० भन्दा बढी यातायात समितिका सवारी साधनका सेवालाई सूचनाप्रविधिमा ढाल्ने काम भने एउटै कम्पनी, राम–लक्ष्मण इनोभेसन्स्ले गरेको हो ।
साझा बसका हकमा भने कम्पनीले निःशुल्क बनाइदिएको हो । “पूर्व इटहरी र पश्चिम पोखराका केही यातायात समितिका लागि पनि एप बनाइदिएका छौं, प्रायजसो यातायातका एप पाँच हजारभन्दा धेरै पटक डाउनलोड भइसकेका छन्”, अनुसन्धानकर्ता दाजुभाइ राम र लक्ष्मण रिजालमध्येका लक्ष्मण भन्छन् । उनी एपले यात्रु मात्र नभई व्यवस्थापनमा समेत फाइदा पुगेको बताउँछन् । “बसको गति, दिनभरको दूरीलगायतका जानकारी पनि दिन्छ”, उनी भन्छन् ।
एपले सहज
एप प्रयोगकर्ताले बसको सेवा तथा एपले दिएको सुविधाबारे एपमै ‘रिभ्यू’ समेत पनि लेख्छन्, जसमा एपमा गर्नुपर्ने सुधार र थप्नुपर्ने विशेषताबारे सुझाव पनि दिइएको पाइन्छ ।
ललितपुर, सातदोबाटोका कुशल राजभण्डारीको मोबाइलमा मेरो साझा र महानगरयातायात एप छ । एपको सहायताले स्थान र समय अनुकूल सवारी साधनको सूचना लिन सजिलो भएको बताउँदै उनी भन्छन्, “कतिबेला गाडी आउँछ भनेर कुर्ने समय अन्तै लगाउन थालेको छु ।”
नेपालको यातायात प्रणालीलाई डिजिटल बनाउन कार्यालय भेन्चर्सले ३० पुसमा नेपाली र अंग्रेजी दुई भाषामा प्रयोग गर्न सकिने सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र बीटुबी एप ‘मोटरभाडा कम्पनी’ लञ्च गरेको छ ।
एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिने मोटरभाडा एपका प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेसन, गाडी आइपुग्ने समय, लाइभ ट्र्याकिङ, प्रत्यक्ष ट्राफिक अपडेटलगायतका जानकारी प्राप्त गर्न सकिने भेन्चर्सका प्रमुख कार्यकारी निर्देशक प्रसुन तिमिल्सिना बताउँछन् ।
मोटरभाडा कम्पनी एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैरसरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था तथा व्यक्तिले पनि आफ्नो गाडी ‘ट्र्याक’ गर्ने तिमिल्सिनाको भनाइ छ । “छुट्टाछुट्टै बसहरूका आ–आफ्ना एपलाई हामीले एकैठाउँ मोटरभाडा मा समेट्न खोजेका छौं”, तिमिल्सिना भन्छन् । यो एपमा सार्वजनिक यातायातको रुट र बसको जानकारी अद्यावधिक गरिंदैछ ।
लामो दूरीका बसको टिकट पनि एपबाटै बुकिङ गर्न सकिने भएको छ । ट्राभल नेपाल बस एपमा मिति, गाडी चढ्ने स्थान र गन्तव्य, सीटसमेत बुकिङ गर्न सकिन्छ । टिकटको रकम पनि अनलाइनबाटै भुक्तान गर्न सकिन्छ । यात्राका लागि आवश्यक जानकारी दिने ट्राभल नेपाल बस, यातायात नेपाल, ट्राफिक पोलिस नेपाल, सिटी गाइड, गन्तव्य प्लस लगायतका एप्स एप स्टोरमा उपलब्ध छन् ।
ट्याक्सीमा एप
बससँगै ट्याक्सीमा पनि प्रविधिको प्रयोग थालिएको छ । उपत्यकामा अहिले हाम्रो ट्याक्सी, एड्डी क्याब, कावा, अनभर स्मार्ट ट्याक्सी लगायत विभिन्न कम्पनीले अनलाइन र एपमार्फत बुकिङ शुरू गरिसकेका छन् ।
एड्डी एपमार्फत विभिन्न कम्पनीले अनलाइन तथा एपबाटै ट्याक्सी बुकिङ गर्ने सुविधा दिन थालेका छन् । चालकले आफ्नो स्मार्टफोनमै बुकिङको खबर र यात्रुले ट्याक्सी र चालकको टेलिफोन नम्बर पाउँछन् ।
प्रविधिबारे थोरै मात्र पनि जानकार चालकहरू यस्ता कम्पनीमा आबद्ध भइरहेका छन् । ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम ट्याक्सी भनेको ठाउँमा जान नमान्ने, ठगिने जस्ता गुनासो हटाउन प्रविधिको प्रयोगले सहयोग गरिरहेको बताउँछन् ।
उपत्यकामा गुड्ने करीब १० हजार ५०० ट्याक्सीमध्ये केहीमा परीक्षणकै रूपमा भए पनि एपको प्रयोग भइरहेको छ । संघले पनि एड्डी क्याब सँगको सहकार्यमा ट्याक्सीलाई समयसापेक्ष बनाइरहेको छ ।
फोनबाट ट्याक्सी बुकिङ गरेर यात्रुलाई सेवा दिन थालेको सारथि क्याब मा अहिले ४५ ट्याक्सी आबद्ध छन् । क्याबले आवद्ध ट्याक्सी चालकलाई प्रविधिको प्रयोगसँगै यात्रुसँग सम्मानजनक व्यवहार गर्ने तरिका पनि सिकाउँछ । यात्रु चढाएदेखि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र ट्राफिक जाममा रोकिएको समयलगायतका जानकारी ‘कन्ट्रोल रुम’ बाटै हेर्न सकिन्छ ।
सारथि क्याब ले बढी सुविधायुक्त र उपभोक्तामैत्री बनाएर मात्रै एपलाई सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले अनलाइन ट्याक्सी बुकिङसँगै ट्याक्सीमै मोबाइल रिचार्ज गर्ने, बिजुली र टेलिफोनको शुल्क तिर्ने, ब्यांकमा पैसा बचतलगायत सुविधा दिने योजनासहित एप एक/दुई महीनाभित्रै ल्याउने तयारी गरिएको सारथि क्याब का मार्केटिङ प्रमुख पेमा मोक्तान बताउँछिन् ।
‘टुटल’ को प्रशंसा
मोटरसाइकलको माध्यमबाट यात्रुलाई गन्तव्यमा पुर्याउन सकिने सुविधा दिन बनाइएको टुटल एपले बजार विस्तार गरिरहेको छ । पुस २०७३ बाट शुरू गरिएको टुटल कम्पनीको टुटल एप ५० हजारभन्दा बढी पटक डाउनलोड गरिसकिएको छ । ‘नयाँ उद्यम’ थालेको भन्दै कम्पनीका सह–संस्थापक शिक्षित भट्टको प्रशंसा हुन थालेको छ ।
यो एपमार्फत सेवा दिएबापत चालकले आम्दानी र यात्रुले सहयोग पाउने भएकाले पनि टुटल सेवा प्रिय बन्दै गएको भट्ट बताउँछन् । अहिलेसम्म टुटल मा पाँच हजार मोटरसाइकल चालक आबद्ध भएको समेत उनी बताउँछन् ।
टुटल एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, मोटरसाइकल विवरण र लाइसेन्सलगायतका आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत फारम भर्नुपर्छ । एपको प्रयोगकर्ताले उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्छन् । एपबाट नजिकको टुटल प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ । बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउन सकिन्छ ।
यो सुविधा लिएबापत यात्रुले कम्तीमा तीन किलोमिटरसम्मको ५० रुपैयाँ र त्यसपछि प्रति किलोमिटरमा १२ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । टुटल का सेवाग्राहीले भाडा इ–सेवा मार्फत तिर्नुपर्छ ।
“थोरै शुल्कमा सजिलो यात्रा गर्न सकिएको प्रतिक्रिया पाइरहेका छौं” भट्ट भन्छन्, “महिला, दृष्टिविहीनमा टुटल लोकप्रिय बनेको छ ।” सवारी चालक र यात्रुको जस्तो नभई परेका बेला सहयोग गर्ने अवधारणाबाट उत्प्रेरित भई ‘एप’ बनाइएको बताउँदै उनी यसबाट धेरैले रोजगारी समेत पाएको दाबी गर्छन् ।
नेपाली सडकमा ‘सेमी लो फ्लोर बस’
साझा यातायातले सार्वजनिक यातायातमा मुलुकमै पहिलोपटक शारीरिक रूपमा अशक्त लक्षित ‘सेमी लो फ्लोर बस’ भित्र्याएको छ । चढ्ने र ओर्लने ढोकामा एउटा मात्र सिंढी रहेको बसमा ह्वीलचेयरलाई पनि सजिलै चढाउन र ओराल्न सकिन्छ । यसअघिका बसमा यस्तो सुविधा थिएन । ४१ सीट क्षमताको यो बसमा ३५ वटा ह्याङ्गिङ स्ट्र्याप छन् ।
साझाका यसअघिका बसमा भएका सुविधाबाहेक नयाँ बसमा बस स्टपको जानकारीका लागि ‘अनाउन्समेन्ट सिस्टम’ थपिएको छ । बसको ढोका पनि फराकिलो छ । होचो भएकाले पनि नयाँ बस कुन रुटमा चलाउने भन्ने अध्ययन भइरहेको साझाका निमित्त कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताउँछन् ।
भारतको राजस्थानस्थित अशोक लेल्याण्ड कम्पनीले सहुलियत मूल्यमा बस उपलब्ध गराए पनि कार्यालयमा ल्याउँदासम्म थप ३५ लाख रुपैयाँ लागेको थियो । “खाल्डाखुल्डी बाटोमा गुड्न नसक्ने भएकोले ट्रेलरमै राखेर बस ल्याउनुपर्यो”, पाण्डेय भन्छन् ।