कांग्रेसको शुद्धीकरणमा देखिएको अन्योल
कांग्रेसलाई ‘जुत्ता पालिस’ जस्ता कार्यक्रमद्वारा शुद्धीकरण गर्नु भनेको क्यान्सर लागेको बिरामीलाई केमोथेरापी नदिएर सिटामोल खुवाए जस्तै हो ।
स्वच्छ मन र शुद्ध शरीरको माध्यमबाट समाजको शुद्धीकरण संभव हुने विश्वास महात्मा गान्धीको थियो । त्यसैले उनी सात्विक भोजन गर्दथे, विकारको शुद्धीकरणका लागि उपवास बस्दथे । ‘शुद्धीकरण आफैं पनि संक्रामक हुन्छ, आफैंबाट थालिने शुद्धीकरणले आफू वरिपरिको वातावरणलाई शुद्ध बनाउँछ’– गान्धी भन्थे ।
शरीरमा विकार वा विष (टक्सिक) को सञ्चितिले रोग निम्त्याउँछ । रक्स्याहा र अल्छीहरूका कलेजो, मिर्गौला, रगतका धमनीहरूमा विष र बोसो जम्न गई गम्भीर रोग निम्तिएको हुन्छ । उनीहरूलाई रोगमुक्त गर्न ‘डिटक्सिफिकेसन’ (विषहरण) अपरिहार्य हुन्छ । नत्र मृत्यु अवश्यंभावी हुन्छ ।
आजको हाम्रो राजनीतिक अवस्था पनि ‘टक्सिफाइड’ बिरामीको जस्तो छ । सिद्धान्त वा भाष्यले दक्षिणपन्थी, समाजवादी, साम्यवादी सबै दलहरूमा विकारको सञ्चिति बढिरहेको छ । दलहरू दह्रा र छरितो नभई मोटा र भद्दा भएका छन् ।
दलहरू अस्वाभाविक मोटाउनुमा अस्वस्थकर राजनीतिक जीवनशैली हो । अझ तिनका नेतृत्वकर्ताहरूले सार्वजनिक जीवनका अत्यावश्यक तत्वहरू मूल्य र सदाचारलाई तिलाञ्जली दिइसकेका छन् ।
उनीहरू लोकतन्त्र वा लोककल्याणका मूल्यहरूद्वारा निर्देशित छैनन् । केवल पद र पैसा प्राप्तिको अन्धवेगमा उनीहरू विकारग्रस्त बनिरहेका छन् । तर, उपचारनिम्ति न स्वयं तत्पर छन्, न त पार्टी पंक्ति नै ।
हुन त विकार कुनै पार्टीविशेषको रोग होइन । तर, यसपल्ट चाहिं प्रदेश र संघीय संसद्को निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेसको लज्जाजनक हारलाई लिएर शुद्धीकरणको आवाज उठिरहेको छ ।
सात दशक लामो राजनीतिक इतिहासमा कुनै पनि निर्वाचनमा कांग्रेसको यो हदको कन्तविजोग भएको थिएन । तर, यतिसम्मको हारपछि पनि पार्टीभित्र पराजयको यथोचित समीक्षा हुनसकेको छैन ।
एक गुटले अर्कोलाई दोषारोपण गरे पनि पार्टीका जिम्मेवार तह, अझ सभापतिले असफलताको जिम्मेवारी लिने न्यूनतम प्रजातान्त्रिक संस्कार समेत प्रदर्शन गरेका छैनन् । ‘कम्युनिष्ट सत्तामा आए रुन पनि पाइँदैन’ भन्दै वामपन्थीको चुनावी गठबन्धनलाई ‘अधिनायकवादी कदम’ का रूपमा दुष्प्रचार गर्ने सभापति शेरबहादुर देउवा तिनै ‘अधिनायकवादी’ का राम्रा कुराको सिको गर्न समेत चुकेका छन् ।
२०६४ को संविधानसभाको निर्वाचनमा एमालेको अनपेक्षित पराजयपश्चात् पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, देउवा विशेष महाधिवेशन बोलाइनुपर्ने पार्टीको ठूलो पंक्तिको माग समेत लत्याइरहेका छन् ।
शुद्धीकरण विधि
कांग्रेसभित्र शुद्धीकरणको माग देखिए पनि उपयुक्त विधि बारे भने अन्योल देखिन्छ । पराजयलगत्तै यस्तो आवाज चर्काउने युवा पंक्ति मत्थर हुन थालेको आभास पाइँदैछ । पार्टीका सात युवा नेताहरूले हारको समीक्षा र जिम्मेवारी वहन गर्न नेतृत्वलाई कडा चुनौती दिएका थिए । तर, ती सातमध्येमै फुट ल्याउन सभापतिले विश्वप्रकाश शर्मालाई प्रवक्तामा नियुक्ति गरे ।
शर्मा बाहेकका युवाले असन्तुष्टि प्रकट गर्न छाडिहालेका त छैनन्, तर प्रभावकारी उपाय अवलम्बन गर्नबाट भने चुकिरहेका छन् । यसको एउटा उदाहरण हो, तिनैमध्येका केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङ आयोजित ‘जुत्ता पालिस’ कार्यक्रम ।
बन्द र अधिनायकवादी शासन व्यवस्थामा विरोधका लागि कुनै पनि उपाय बाँकी नरहँदा सांकेतिक रूपमा यस्ता कार्यक्रम उपयुक्त हुने गर्छन् । तर, खुला समाजमा यसखाले कार्यक्रम प्रहसन र ‘फोटो सेसन’ मा सीमित हुनपुग्छन् । र, भइदियो त्यस्तै ।
युवा पंक्तिले ठूलो मञ्च र व्यापक जनमत बनाउँदै घेराउ, सत्याग्रह, हस्ताक्षर संकलन, देशव्यापी दौडाहा आदि जस्ता माध्यमद्वारा नेतृत्वलाई गलाउन सक्नुपर्ने थियो । तर, उनीहरू आफैं गल्दै गएका देखिन्छन् ।
आज देशमा विरोधका नाममा ‘पपुलिस्ट’ (लोकरिझयाइँका) तिगडमहरू प्रचलित छन् । संचारमाध्यमको उत्कर्ष र सामाजिक संजालको विगविगीका कारण विरोधको माध्यम फोटो सेसन र चटपटा कार्यक्रम हुने गरेका छन् । तर, विकार सञ्चितिका कारण अतिशय मोटाएको कांग्रेसलाई ‘जुत्ता पालिस’ जस्ता कार्यक्रमद्वारा शुद्धीकरण गर्नु भनेको क्यान्सर लागेको बिरामीलाई केमोथेरापी नदिएर सिटामोल खुवाए जस्तै हो ।
कांग्रेस युवाले पार्टी बचाउने विधि खोजी गर्न टाढा गइरहनुपर्दैन, आफ्नै अग्रजहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदिले अपनाएका विरोधका विधि हेरे मात्र पुग्छ ।
किनकि, पार्टीको अस्तित्वका लागि कठोर निर्णय लिने समय उनीहरूसामु आइसकेको छ । समय नघर्किंदै पार्टीलाई शुद्धीकरण गर्न सके मात्र युवा पुस्ताले स्वस्थ कांग्रेस अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्नेछ ।