स्पाः थकान र तनाव व्यवस्थापनको गन्तव्य
व्यस्त जीवनशैलीसँगै थकान र तनाव व्यवस्थापनका लागि स्पा जाने प्रवृत्ति बढेको छ।
शहरीकरणसँगै प्रदूषण र कामकाजी मानिसको व्यस्तता सिर्जित तनावका कारण आनन्दको खोज पनि बढेको छ । ‘रिफ्रेसमेन्ट वर्कसप’ भन्दै विभिन्न खाले कार्यक्रममा मानिसको संलग्नता यसैको उपज हो । र, स्पा यस्तै खोजको पछिल्लो गन्तव्य हो ।
माटो, हावा, पानी, ताप र प्राकृतिक वातावरणको माध्यमबाट शरीर र मस्तिष्क स्वस्थ राख्न गरिने उपचार पद्धति नै स्पा हो । स्पामार्फत विभिन्न थेरापीबाट विकार तत्व बाहिर निकाली शरीर स्वस्थ र तनावबाट मुक्त राख्न सहयोग पुर्याउने विश्वास गरिन्छ ।
त्यसो त नुहाउँदा कालोमाटो, कमेरो दल्ने, ढुंगामाथि सुत्ने, ढुङ्गाले सेक्ने, बालुवामा सुत्ने, बाफ लिने, बुकुवा घस्ने, तेलले मालिस गर्ने हाम्रो पुरानै चलन हो । “स्पा त्यसैको आधुनिक स्वरुप मात्र हो”, ट्रयांकुलिटी स्पाका अध्यक्ष भुवन फैंजु भन्छन् ।
नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्ट एन्ड स्पाले पहिलोपटक स्पा भित्र्याएको हो । तर, त्यसपछिको दुई दशकमा स्पाले नेपालीजनमा चिनारी स्थापित गरिसकेको छ । स्पा सञ्चालकहरूका अनुसार अहिले मुलुकभर करीब एक हजार स्पा एण्ड वेलनेस सेन्टर सञ्चालनमा छन् ।
“पहिलेपहिले अधिकांश नेपाली स्पालाई महँगो र ‘लक्जरी’ का रुपमा लिने गर्दथे, आउने विदेशी मात्र हुन्थे”, आठ वर्षदेखि स्पा सेवा दिंदै आएको ललितपुर, सानेपास्थित चैतन्य मेडी स्पाकी अपरेसन म्यानेजर पिया बज्राचार्य भन्छिन्, “अहिले विदेशी र नेपाली दुवै बराबर छन् ।”
विलासी होइन
काभ्रेपलाञ्चोकस्थित धुलिखेल माउन्टेन रिसोर्टकी जनरल म्यानेजर मोनिका वन (३५) आफैं पनि उदाहरण हुन् । नसा च्यापिएर ढाड दुख्ने समस्याबाट पीडित उनी एक वर्षसम्मको स्पाको मसाज थेरापीबाट धेरै ठीक भएको बताउँछिन् । “हरेक महीना तीन/चार दिन ओछ्यान पर्नुपथ्र्यो” उनी भन्छिन्, “नियमित स्पा लिन थालेपछि निकै आराम महसूस भएको छ ।” ९० मिनेटको स्पाको प्याकेजले शारीरिक मात्र होइन, मानसिक रुपमा समेत स्फूर्ति मिलेको उनको अनुभव छ ।
१० वर्षमै ब्राण्ड बनेको ट्रयांकुलिटी स्पाका अहिले देशभर १५ र मलेशियामा दुइटा आउटलेट छन् । ट्रयांकुलिटी स्पाका फैंजुको भनाइमा, स्पाले स्वस्थ बनाउनुका साथै मस्तिष्कलाई आनन्द पनि दिलाउँछ ।
उमेर बढ्दै जाँदा हुने थकान हटाएर ऊर्जा भर्छ । आयुर्वेदिक पद्धतिबाट उपचार गरिने भएकाले ‘साइड इफेक्ट’ नहुने बताउँदै उनी भन्छन्, “त्यसैले पनि स्पा विलासिताको साधन नभई अत्यावश्यक कर्म हो ।”
ट्रयांकुलिटीका कार्यकारी निर्देशक सुरेश पुरी त अहिले आफन्त र साथीहरूबीच उपहारका रुपमा पनि स्पाको गिफ्ट भौचर दिन थालिएको बताउँछन् । “स्पा लिंदै मीटिङ गरौं समेत भन्न थालिएको छ” उनी भन्छन्, “व्यवसायी, खेलाडीहरू समूहमै आउँछन् ।” स्पाले बाथ, युरिक एसिड, कोलेस्टेरोल, मधुमेह, उच्चरक्तचाप, मुटुसम्बन्धी रोगलाई फाइदा गर्दछ । यसका साथै थकान नहुने, छाला नरम र चम्किलो बनाउने तथा थप सक्रिय बनाउने दाबी गरिन्छ ।
स्पामा फ्लावर डस्ट, सि सल्ट, सउना, ज्याकुजी, मड, स्टिम, मिल्क, ह्वाईटिनी, हनीलगायतका स्नान गर्न सकिन्छ । यसबाहेक शिरोधारा, बडी स्क्रब, फेस मसाजसँगै शरीरका विभिन्न भागको मसाज पनि गरिन्छ ।
यसबाहेक ब्यूटी केयरका विभिन्न भाग समेटेर उपयुक्त प्याकेज समेत बनाउन सकिन्छ । अहिले बालबालिका तथा गर्भवतीका लागि पनि स्पाले मसाज सुविधा उपलब्ध गराउन थालेको छ । महीनामा एकदेखि दुई पटकसम्म स्पा जानु उपयुक्त हुने पुरी बताउँछन् ।
स्वस्थ पर्यटन
योग प्रशिक्षक श्रीमती कृति कार्कीकै बलमा कलाकार वीरेन श्रेष्ठले तीन वर्षदेखि काठमाडौंको ठमेलमा ‘मण्डला स्टुडियो योगा एण्ड स्पा’ सञ्चालन गरिरहेका छन् ।
उनले त्यहाँ योग, ध्यानसँगै स्पा तालिम र अग्र्यानिक रेस्टुरेन्ट पनि चलाउँछन् । “नेपालमा आउने अधिकांश पर्यटक घुमघाम र ट्रेकिङको लागि आएका हुन्छन्” उनी भन्छन्, “लामो यात्रा पछिको थकान र दुखाइबाट छुटकारा लिन उनीहरूले स्पा नै रुचाउँछन् ।”
मण्डलाबाट अहिलेसम्म १५० ले स्पाको कोर्स गरिसकेका छन् । स्पा लिने ठाउँ मात्र नभएर नेपाललाई स्पा सिक्ने गन्तव्यको रुपमा विकास गर्न सकिने श्रेष्ठ बताउँछन् ।
स्पा सञ्चालनमा दक्ष थेरापिस्ट अभाव देखिएपछि फैंजुले पाँच वर्षअघि ट्रयांकुलिटी इन्टरनेसनल ब्यूटी एन्ड स्पा एकेडेमी स्थापना गरे । अहिलेसम्म एकेडेमीबाट विदेशीसहित ५०० जनाभन्दा बढीले एक सातादेखि ६ महीनासम्मको स्पा कोर्स लिइसकेका छन् ।
यो कोर्समा बडी केयर, ब्यूटी केयर, स्किन केयर, हेयर केयर, नेल केयरसँगै नवजात शिशु स्याहार, मालिस, गर्भवती मसाज र स्याहारलगायतका तालिम दिइन्छ । “तालिम सकिनासाथ रोजगारी पाइने भएकोले पनि आकर्षण बढेको छ”, फैंजु भन्छन् ।
काठमाडौं उपत्यकासँगै बाहिरका तारे होटल तथा रिसोर्टमा पनि स्पा खुल्ने क्रम बढेको छ । यसले पनि स्पा व्यवसाय फस्टाएको देखिन्छ । तर, सबै स्पालाई एउटै रुपमा हेर्न नहुने चैतन्य स्पाकी मार्केटिङ म्यानेजर रुमा शाक्य बताउँछिन् । “सेवाको प्रकार र गुणस्तरका आधारमा स्पालाई वर्गीकरण गर्न आवश्यक छ”, उनी भन्छिन् ।
स्पामा दक्ष जनशक्ति उत्पादनका साथै, लगानी गर्न सके ‘वेलनेस टुरिजम’ पनि प्रवद्र्धन गर्न सकिन्छ । पर्यटकको नेपाल बसाइलाई लम्ब्याउन सकिन्छ । थाइल्यान्ड, इन्डोनेशियाको बाली, भारतको केरल, श्रीलंका जसरी स्पा गन्तव्य बनिरहेका छन्, नेपालमा पनि स्पा त्यही रुपमा विस्तार गर्ने सम्भावना नभएको होइन ।
त्यही सोचका साथ एक दशकअघि नै नेपाल पर्यटन बोर्डको पहलमा होटल एसोसिएसन अफ नेपालसँग मिलेर ‘स्पा एण्ड वेलनेस एसोसिएसन अफ नेपाल’ गठन पनि भएको थियो । “विडम्बना त्यो संस्था सक्रिय हुनसकेन” ट्रयांकुलिटी स्पाका फैंजु भन्छन्, “तर अहिलेबाटै काम थाल्ने हो भने अझै हामी ढिला भइसकेका छैनौं ।”