‘सिमसार जैविक विविधताको घर हो’
नेपालका सिमसारहरू नासिंदै गएको बारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको वनस्पति विज्ञान विभागका प्राध्यापक रामप्रसाद चौधरी भन्छन्, “संरक्षणका कुरा एक दिन गरेर हुँदैन ।”
सिमसार के हो र नेपालका सिमसारहरुको अवस्था कस्तो छ ?
पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँ सिमसार हो । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदी किनार र धानखेत समेत पर्दछन् । डेढ दशकअघिको अध्ययन अनुसार नेपालमा साना ठूला गरी तीन हजार ९०० सिमसार क्षेत्र छन् । त्यसमध्ये १० वटा सिमसार विश्व रामसार सूचीमा सूचीकृत भएका छन् ।
सिमसार मासिनुको खास–खास कारण के–के हुन् ?
मुख्यतः मानवीय अतिक्रमण नै हो । सिमसार क्षेत्र पुरेर घरघडेरी बनाउने काम गरियो । संरक्षण, सम्वद्र्धन र उपयोगितालाई एकीकृत रुपमा अघि बढाए मात्रै सिमसारको अस्तित्व बचाउन सकिन्छ । सिमसार संरक्षणका लागि सरकार, गैर–सरकारी संघ–संस्था, विज्ञसमूह र स्थानीय समुदायको एकीकृत प्रयास अत्यावश्यक छ ।
सिमसार किन संरक्षण गर्नुपर्छ ?
मानव सभ्यताको विकास नै पानीबाट भएको हो । अर्कोतर्फ, सिमसार जैविक विविधताको घर हो, जहाँ चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको बासस्थान हुन्छ । सिमसार नासिंदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दछ । सिमसार सुरक्षाबाट वातावरण संरक्षण मात्र नभई आर्थिक फाइदा पनि लिन सकिन्छ । अहिले विश्वभर पर्या–पर्यटनको विकास भएको छ ।
सिमसारको संरक्षण कसरी गर्न सकिन्छ ?
विश्व सिमसार दिवसको अवसरमा एक दिन संरक्षणका कुरा गरेर पुग्दैन । हामीले ३६५ दिन नै सिमसारको संरक्षण गर्ने योजना बनाएर लाग्नुपर्दछ । सरकारले विशेष योजना बनाउनुपर्दछ । धेरै मानिसलाई अहिले पनि सिमसारको महत्व थाहा छैन । उनीहरूलाई बुझाउने कार्यक्रम चलाउनुपर्छ ।
सिमसार क्षेत्रमा स्थानीय तहको भूमिकालाई कसरी हेर्नुहुन्छ ?
गाउँ विकास समिति र जिल्ला विकास समितिले सिमसारलाई राजश्व संकलनको माध्यम मात्र बनाए, संरक्षणमा ध्यान दिएनन् । अब स्थानीय तहहरुले उपयोगितासँगै संरक्षणमा जोड दिनुपर्दछ । केही ठाउँका सामुदायिक वनहरूले संरक्षण र उपयोगितालाई सँगसँगै लगेर राम्रो काम गरेका छन् ।