बद्रीले रूवाए अनि नचाए, नेताले गरेका बाचा सम्झाए
बाध्य भइयो परदेशमा छिर्न
मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन अहिलेको सालपनि आमा घरमा आउँदिन ।
लोक गायक बद्री पंगेनी मञ्चमा प्रवेश गरेसंगै यो गीत गाउन थालेपछि मेला हेर्न आएका अधिकांश दर्शकहरु भावुक बने ।
पाको उमेरका दर्शक विशेषगरी महिला दर्शक भावुक भएपनि युवापुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए ।
दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको हात समातेरै गीत गाउन थाले ।
मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । आमाहरुले त आँशु झार्न मात्रे सकेनन् ।
विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिसकेपछि बद्रीले गीतबाटै नेताहरुलाई व्यंग्य गरे । निर्वाचनको समयमा जनतासँग गरेका बाचा सम्झाए । गाउँका समस्या र विकास निर्माणका कुरा गीतबाटै उल्लेख गरे । गीतबाटै उनले भने–
हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन
जनतालाई साँझ बिहान पेटभरि खाना छैन ।
उनले अगाडी थपे–
सुन नेता ज्यू शहर मात्र बस्ने नगर
ल है नेता ज्यू चिल्ला कारमा फस्ने नगर ।
पंगेनीले गीत गाउँदै गर्दा प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे मञ्चमै थिए । यो गीतमा बद्रीले दर्शकहरुको गडगडाहट ताली पाए ।
अर्घाखाँचीको सन्धिखर्कमा जारी ‘अर्घाखाँची महोत्सव’मा पंगेनीले रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरे ।
धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रचारका लागि सन्धिखर्कमा महोत्सवको आयोजना गरिएको छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची