दोस्रो पुस्ताको राडार सञ्चालनमा, होला त हवाई आकाश सुरक्षित ?
रमेश लम्साल/सिबी अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । प्राधिकरणका अनुसार १८ माघ बिहान ६ः३० बजेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो ।
हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्राधिकरण, जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले यही १० माघ बुधबार प्राविधिक पक्षको स्थलगत अनुगमन गरी राडार सञ्चालनबारे जानकारी लिएको थियो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ ।
भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तरराष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको प्रवक्ता ठाकुरको भनाइ छ ।
विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने आजदेखि सञ्चालनमा आएको राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ । नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत रु. एक अर्ब छ ।
राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिनेछ । “राडारको कामको सूक्ष्म अनुगमन पछि त्यसको प्रभावकारिता के कति रहेको छ भन्ने जानकारी दिइन्छ,” प्रवक्ता ठाकुरले भने ।
नयाँ राडारबाट काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने छ ।
राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनी बताउँछन् । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ ।
नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभाग समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको उल्लेख गरे । उनी भन्छन्, “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ ।”
नेपालको पूर्वका सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाउन सकिने प्राधिकरणले बताएको छ । पुरानो राडारले करिब ११० किलोमिटर परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटरसम्मको जहाजको सम्पूर्ण जानकारी थाहापाउन सकिन्छ ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ ।
एडिएसबी प्रविधि भित्र्याइँदै
नेपालको हवाई यातायातलाई भरपर्दो र सुरक्षित बनाउन प्राधिकरणले राडार प्रणालीलाई थप परिष्कृत गर्दै लैजाने सोचका साथ ‘स्वचालित निगरानी संयन्त्र’ (एडिएसबी) जडान गर्ने तयारी गरेको छ । यो प्रणाली काठमाडौँ, ललितपुर, नेपालगञ्ज, भैरहवा र पोखरामा जडान गरिने प्राधिकरणका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेपालको हवाई मार्ग निगरानीलाई थप परिष्कृत र भरपर्दो बनाउँदै लैजाने ध्येयका साथ पाँच स्थानमा नयाँ प्रविधि जडान गर्न लागिएको हो ।
विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाई एयरको जहाज रसुवाको घोप्टेभिरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस