ईंटा फलाउने खेत !
भूकम्पपछि पानीको मुहान नै सुकेपछि विशंखुनारायण फाँटका खेतमा अन्न होइन, ईंटा उत्पादन हुन थालेका छन्।
ललितपुरको गोदावरी नगरपालिका–२ विशंखुनारायणका राधाकृष्ण विष्ट (७२) ले प्रति रोपनी रु.१३ हजार लिने शर्तमा ५ रोपनी खेत यसै वर्ष ईंटाभट्टालाई भाडामा दिए । विष्टकै छिमेकी सीता विष्टले पनि ६ रोपनी खेत ईंटाभट्टालाई नै जिम्मा लगाइन् ।
यी दुई मात्र होइन, गाउँका कृष्णबहादुर सिलवाल, श्रीकृष्ण सिलवाल, लालकृष्ण सिलवाल, सुमित्रा सिलवाललगायत थुप्रै किसानले आफ्नो खेत ईंटा बनाउने प्रयोजनकै लागि भाडामा दिएका छन् ।
अन्न फलाउने खेतमा ‘ईंटा फलाउन’ दिएपछि चक्रपथ सातदोबाटोबाट १३ किमि दक्षिणमा पर्ने विशंखु फाँट अहिले उजाड भएको छ । जबकि, केही वर्षअघिसम्म यिनै खेत तोरी, गहुँ र तरकारीलगायतका बालीले हराभरा देखिन्थे ।
यसो हुनुको एउटै कारण हो– १२ वैशाख २०७२ को भूकम्प । गोदावरी नपा–२ का वडा सदस्य पुरुषोत्तम विष्टका भनाइमा विशंखु फाँटका कम्तीमा १०० घरधनीले करीब ६ रोपनीका दरले आफ्नो खेत ईंटा बनाउने प्रयोजनका लागि भाडामा दिएका छन् ।
सुके मुल, सकियो खेती
गोदावरी नपा–२ का वडा सदस्य पुरुषोत्तम विष्ट भूकम्पपछि धोबिखोलाको पानीको मूल सुक्दा सिंचाइमा संकट आएको बताउँछन् । “भूकम्पअघिसम्म पानी प्रशस्त थियो, त्यसपछि त खोलो नै सुक्यो” विष्ट भन्छन् ।
सिंचाइ अभावपछि अन्न उत्पादन घट्यो । दुई रोपनी खेतबाट ९ मुरी धान, ३ मुरी गहुँ र वर्षभरि खाएर बेच्न पुग्ने तरकारी फलाउने पशुपति विष्ट अहिले “अन्न त कता हो कता, तरकारी नै किनेर खानुपरेको” बताउँछन् ।
देवचन्द्र विष्टको परिवार चार रोपनी १३ आना जग्गामा फल्ने अन्न र तरकारीमा निर्भर थियो । तरकारी बेचेरै उनी वर्षको रु.५० हजार भन्दा बढी आम्दानी गर्थे । तर, देवचन्द्रलाई यी सबै सपनाजस्तो लाग्छ । “अहिलेसम्म ऋण धनमा चलिरहेको छु, माटो बेच्ने विचार छ”, उनी भन्छन् । विशंखु फाँटका थुप्रैले खेतको माटो ईंटाभट्टालाई बेच्ने सोच बनाएका छन् ।
ईंटाभट्टाहरूले खेतको माटोबाट काँचो ईंटा बनाई अन्यत्र रहेको भट्टीमा पोल्न लैजाने गरेका छन् । खेतमै काँचो ईंटा बनाउन थालेपछि विशंखु गाउँ प्रदूषित बनेको छ । ईंटा बोक्ने सवारी साधनको ओहोरदोहोरसँगै बढेको धूलो, धुवाँले गाउँमा प्रदूषण थपेको स्थानीय कृष्णबहादुर सिलवाल बताउँछन् । “केही अघिसम्म काठमाडौंको धूलो, धुवाँ छल्न शान्त वातावरण खोज्दै मानिसहरू यहाँ आउँथे, अहिले त विशंखु पनि काठमाडौं जस्तै भइसक्यो”, उनी भन्छन् ।
खानेपानीकै संकट
भूकम्पलगत्तै विशंखुमा सिंचाइका लागि मात्र होइन, पिउने पानीकै हाहाकार भयो । तर, त्यसको दुई वर्षपछि बल्ल स्थानीयले राहत पाएका छन् । अक्सफाम नेपाल, एकीकृत शहरी विकास केन्द्रलगायतका साझेदार निकाय र स्थानीयको जनश्रमदानबाट रु.१२ लाख ७१ हजार लागतमा १२ घनमीटर क्षमताको ट्याङ्की निर्माण गरी दैनिक १२ हजार लिटर पानी वितरण गर्न थालिएको छ । यसबाट ६२ घरमा २४ सै घण्टा खानेपानी उपलब्ध भइरहेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का भूगर्भविद् राजेन्द्र श्रेष्ठ भूकम्पले जमीन हल्लाउँदा एकैठाउँमा रहेको पानी छचल्किएर अन्यत्र जाँदा पहाडी र हिमाली क्षेत्रमा पानीको मूल सुकेको बताउँछन् । उनका अनुसार भूमिगत पानीको मुख्य स्रोत नै वर्षा हो तर पछिल्लो दुई दशकयता वर्षाको चक्रमा आएको परिवर्तनले पनि मूल सुक्दै गएको छ । श्रेष्ठ भन्छन्, “यसबारे धेरै अध्ययन हुनै बाँकी छ ।” दैलेख र सिन्धुपाल्चोकमा भने मूलको अध्ययन शुरू भएको छ ।
काठमाडौं उपत्यकाको २० देखि १०० मीटर गहिराइसम्म भूमिगत पानी पाइन्छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार, उपत्यकामा हरेक वर्ष भूमिगत पानीको तह ८० सेन्टिमिटरले घटिरहेको छ । भूमिगत जलस्रोत विकास समितिका भूगर्भविद् सुरेन्द्र श्रेष्ठ उपत्यकाका ठूला होटल तथा कलेजले अनियन्त्रित रूपमा बोरिङ्गमार्फत पानी निकालिरहेका कारण पनि पानीको स्रोत घट्दै गएको हो । यसबाहेक भौतिक संरचना निर्माणले वर्षात्को पानी पर्याप्त मात्रामा ‘रिचार्ज’ हुन नपाउँदा पनि पानीको तह घटिरहेको छ ।