ढेंग स्टेशन र रेल सपना
रेलवे सञ्जाल नै नभएको नेपालमा रेलको गाथा भने लोक–संस्कृतिकै हिस्सा बनिसकेको छ।
नेपालमा रेलवे लाइन नगण्य भए पनि जनमानसमा रेलगाडीले राम्रै छाप पारेको छ । दुइटा सानो रेल सेवा (अमलेखगञ्ज–रक्सौल र जनकपुर–जयनगर) मात्रै बनेको यहाँ रेलको गाथा लोक–संस्कृतिकै हिस्सा बन्यो ।
सिमाना पार गरेर अनेक मुकाम जाने नेपालीलाई औद्योगिक युगको आगो, फलाम, धुवाँ, कोइला र बाफको रेलगाडी–प्रस्तुतिले पूरै रोमाञ्चित बनाइदियो । त्यसैले रेलको नामोनिसान नहुँदा पनि हामी हाम्रा अनेकन् लोकगीतमा रेलको चर्चा पाउँछौं।
लालबहादुर खातीकोः ‘अरु कालो रेलको धुवाँले....’
मेलवादेवीकोः ‘सवारी मेरो रेलैमा...’
आजसम्म पनि रेलगाडीलाई इङ्गित गर्न गीतहरू स्टिम इन्जिनको ‘छुक् छुक्’ को कुरा गर्छन् जबकि पूरै भारतमा डिजल र बिजुलीका इन्जिनले रेलका डब्बा तात्छन् । कोइलाका इन्जिन त अब संग्रहालयमा मात्र पाइन्छन्।
नेपालमा रेलको सपना फेरि देख्न थालिएको छ । चलचित्र छक्कापञ्जा मा प्रियंका कार्की, दीपकराज गिरीलगायतका कलाकारहरु “पूर्व पश्चिम रेल !!” भन्दै नाच्छन् । जताततै रेलमार्ग जोड्न नेता–पार्टी तल्लीन छन्— पूर्व–पश्चिम तराई, केरुङ्ग–लुम्बिनी, काठमाडौं–पोखरा, तराईबाट काठमाडौं अनि मेट्रो रेल र मोनो रेल।
कल्पना र सपनाको एउटा कुरा । तर, विपनामा भने हामीसँग दुइटा रेल लाइन थिए, उही जनकपुर–जयनगर र अमलेखगञ्ज–रक्सौल । चन्द्रशमशेर प्रधानमन्त्री हुँदा कलकत्ताबाट अर्डर गरी ल्याइएका थिए यी दुई रेल, जुन कामको नेगोसिएसनमा मेरा पूर्वज यज्ञमणि आचार्य दीक्षित खटाइएका थिए।
तीन–चार दशकअघिसम्म पनि नेपालकै एक भागबाट पूर्व–पश्चिम अर्काे भाग जान दक्षिण सीमा छिचोल्नुपथ्र्यो । त्यहाँ छोटी लाइन (मिटर गेज) रेल समातेर यता वा उता गई फेरि नेपाल छिर्नुपर्ने अवस्था थियो।
भारतमार्फत यस्तो ‘अन्तर नेपाल यात्रा’ सम्भव पारिदिएको थियो, उपनिवेशकालको एक रेल कम्पनी जसले पूर्व सिलगुडीबाट जलपाइगुडीहुँदै नेपाली सिमाना च्याप्दै रक्सौल, बेतिया, सुगौली, गोण्डा, गोरखपुर, नेपालगञ्ज रोड छिचोल्दै आगरासम्म पुग्थ्यो।
आजसम्म पनि यो रेललाइन कायमै छ, जबकि गएको दशकमै भारतका छोटी लाइनहरु ‘स्ट्यान्डर्ड’ ब्रड गेजमा स्तरोन्नति भइसकेकोमा यो लाइनको पनि भएको छ । छोटी लाइनको अवसानलाई नेपालको इतिहासकै एउटा कालखण्डको पनि अन्त्य मान्नुपर्दछ।
५–६ वर्षको हुँदो हुँ, ट्रकमा भीमफेदी झरेर अमलेखगञ्जमा नेपाली रेल चढेको सम्झन्छु । चारकोसे झाडी पार गर्दै जाने त्यो रेलको यात्रा अनुभव कसैले वर्णन गरेकै हुनुपर्दछ, मेरो यादमा भने त्यो अजङ्गको जंगल दुनियाँको दर्शन थियो।
हामी आमा, दाइ, बहिनी र म सिसौट (उवेलाको वागमतीपूर्वको रौतहट, अहिले सर्लाही) जाँदै थियौं । रक्सौलमा भारतीय छोटी लाइन समातेर पूर्व लाग्यौं।
डेढ दुई घण्टापछि ढेंग स्टेशन पुग्यौं । हामीलाई लिन जेठो मामा नवराज पौडेल आउनुभएको थियो । मामासँगै गडी (गोरुगाडा) चढेर उत्तर लाग्यौं र मनुस्मारा नदी तर्दै सिसौट पुग्यौं।
मामाघर अहिले रहेन, वागमतीको बाढी (सिमाना दक्षिण बनेको तटबन्ध) का कारण भत्कियो । मामाघरका सबै पलायन भइसके, आँपको गाछी, बगैंचा पनि छैनन्, छ त मात्र ‘बडा गुरुज्यू’ (भीमसेन थापापछिका प्रधानमन्त्री रंगनाथ पौडेल) र उनका खलकको सम्झना।
तर ढेंग स्टेशन जस्तो थियो, त्यस्तै छ । ब्रिटिश पालादेखि, आजसम्म । उही पहेंलो भवन, मात्र बाहिर गोरुगाडा हैन टेम्पो कुरेर बस्छन्।
ढेंग स्टेशन ठीक सीमाना पारि पर्दछ, तर मेरा लागि यो नेपालको र आफ्नो पारिवारिक इतिहासको पाटो हो।
रेलगाडी भन्नेबित्तिकै धेरै नेपालीको मस्तिष्कमा तरंग आउँछ, मुटुमा गाँठो पर्छ । मलाई पनि त्यस्तै हुन्छ।