कविताको मोर्चा
पेशाले प्रहरी निरीक्षक वाक्सेली थापा आफूमा कविको परिचय थप्न चाहन्छन् । यसैको पहिलो पाइला हो, कविताकृति भस्मासुरको देश । सोख र पेशाको यो संयोजन उनको कवितामा पनि प्रष्ट देखिन्छ । ‘हतियारको हरक’ कवितामा उनी लेख्छन्ः
लौ सुघ्नुस् !
यहींसम्म आइरहेछ अझै
हतियारको अमिलो हरक
कोतगार्डको अँध्यारो कुनाबाट
तैपनि ठीकै छ ।
हतियार बोक्नै पर्ने पेशामा आबद्ध भए पनि, रोचक चाहिं के छ भने, कवि थापा हतियारको अहं गर्दैनन् । कवितामा विद्रोह र क्रान्तिको स्वर ओकले पनि उनी हिंसामा विश्वास गर्दैनन् । शान्ति, सद्भाव र भाइचाराको कुरा गर्छन् ।
५१ वटा कविता संग्रहित कृतिले देशभक्तिसँगै जनजीविका, असमानता र उत्पीडनका विषय उठान गरेको छ । विकृत राजनीतिको परिणतिमा पनि उनी उत्तिकै चिन्तित देखिन्छन् । प्रेमका कुरा पनि छुटेका छैनन् ।
सम्पादन अभाव र नराखे पनि हुने केही कवितालाई कृतिमा समावेश गर्ने लोभ देखाए पनि थापाले पहिलो कृतिबाटै आफूलाई सम्भावनाशील सर्जकको सूचीमा उभ्याउन भने सफल भएका छन् ।
सबैभन्दा बढी लेखिने कविता विधामार्फत यस्तो सूचीमा पर्न सक्नु नै पनि उपलब्धि हो । तर, उनी सम्पूर्ण रुपमा कवितामा दरिन लेखनको निरन्तरता र विषयवस्तुमाथिको थप अध्ययनको खाँचो छ ।
तातो तातो सास फ्याँक्दै
धपेडीमा बगरमाथि
यति हतार हतार
किन दौडिरहेछ सुनकोशी
मानौं भ्याउनु छ आजै
थमौती हुन नसक्ने
गम्भीर मुद्दाको कुनै तारिख ।
(सुनकोशीको छातीमा)