गाउँका विद्यालयमा सेलिब्रिटी
विभिन्न क्षेत्रमा दक्ष व्यक्तिलाई सरकारी विद्यालयसम्म पुर्याउने ‘कक्षाकोठामा एक दिन’ अभियानले विद्यार्थीमा ऊर्जा थपिरहेको छ।
अमेरिकी राजदूत अलाइना बी. टेपलिजको २८ मंसीरमा बुद्ध माध्यमिक विद्यालय, टीकाभैरव, ललितपुरका कक्षा ९ का विद्यार्थीलाई पढाएपछिको भनाइ थियो, “एक दिनका लागि शिक्षक भएँ । तेज र प्रतिभाशाली नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरें ।”
२९ मंसीरमा रामादेवी माध्यमिक विद्यालय, सिन्धुपाल्चोकका कक्षा १० का विद्यार्थीलाई पढाएर निस्केका गायक अमृत गुरुङको प्रतिक्रिया थियो, “शिक्षण पेशालाई आदर गर्छु, यो कठिन पेशा हो ।”
२७ मंसीरमा चण्डेश्वरी माध्यमिक विद्यालय, सिम्ले, ललितपुर पुगेका साहित्यकार नयनराज पाण्डेले पढाइसँगै दैनिकी लेख्न हौस्याए । ‘आजैदेखि दैनिकी लेख्छौं’ विद्यार्थीले प्रतिबद्धता जनाए ।
कूटनीतिज्ञ, गायक र साहित्यकार, एकाएक कसरी कक्षाकोठामा पुगे त ? ‘कक्षाकोठामा एक दिन’ अभियानमार्फत विद्यालयसम्म डोर्याइरहेको टिच फर नेपाल (टीएफएन) का प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल भन्छन्, “ख्यातिप्राप्त व्यक्तिहरूले एकै दिन भए पनि पढाइदिंदा गाउँका विद्यार्थीलाई ठूलो प्रेरणा मिल्छ, जीवन नै परिवर्तन हुन सक्छ ।”
नौलो अभियान
२८ मंसीरमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई स्कूलमा देख्ने बित्तिकै महाकाली माध्यमिक विद्यालय, गिरानचौर, सिन्धुपाल्चोकका विद्यार्थी झुम्मिए । उनले शिक्षक झै पढाउन थालेपछि भने झनै हौसिए ।
२ पुसमा सिन्धुपाल्चोककै थाङपालकोटस्थित चिलाउने माध्यमिक विद्यालय पुगेका विकास तथा अर्थ–राजनीतिका अध्येता विमलकुमार फुयाँलले पनि कक्षा ९ र १० का विद्यार्थीलाई पढाए ।
त्यही दिन प्रारम्भिक बाल विकास विशेषज्ञ मीनाक्षी दाहालले चिलाउनेकै शिशुकक्षा र कक्षा १ का विद्यार्थीलाई पढाइन् भने किंग्स् कलेज, काठमाडौंकी सहायक प्राध्यापक भावना श्रेष्ठले रैथाने मावि, भोटाङमा ।
३ पुसमा चिकित्सक विशाल ढकाल, चलचित्र निर्देशक दीपक रौनियार, हंसराज हुलासचन्द एन्ड कम्पनीको मानव संसाधन विभाग प्रमुख नीता राणाले धनुषाको मिथिलेश्वरस्थित श्री माध्यमिक विद्यालयमा पढाए ।
मंसीर अन्तिम साताभर सामसङ इलेक्ट्रोनिक्स्की निर्देशक सीमा गोल्छा, वरिष्ठ पत्रकार प्रा. रामकृष्ण रेग्मी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, राष्ट्रिय वाणिज्य ब्यांकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सानिमा ब्यांकका कार्यकारी अधिकृत भुवन दाहाल, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले ललितपुर, सिन्धुपाल्चोक र धनुषाका विभिन्न सरकारी विद्यालयमा कक्षा लिए ।
‘कक्षाकोठामा एक दिन’ अभियानका संयोजक नवाङ शेर्पा आ–आफ्नो क्षेत्रमा ख्याति कमाएका ७० जना व्यक्तित्वले ललितपुर, सिन्धुपाल्चोक र धनुषाका ३४ विद्यालयका सरकारी विद्यालयमा पढाएको बताउँछन् । टीएफएनले २०६९ सालदेखि यो अभियान थालेको हो ।
“यस्तो कक्षाले सधैं उस्तै र उही विषयवस्तु पढिरहेका विद्यार्थीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गर्ने रहेछ”, चिलाउने माविका शिक्षक बाबुलाल तामाङ भन्छन् । गाउँका पढेलेखेका सबै वैदेशिक रोजगारीमा गएकाले विद्यार्थीमा जति पढे पनि विदेशै जानुपर्ने हो भन्ने भावना बन्दै गएको बताउँदै तामाङ भन्छन्, “प्रख्यात व्यक्तित्वहरू गाउँमै आएर पढाइदिंदा विद्यार्थीमा यो सोचाइ परिवर्तन हुन सक्छ ।”
सिन्धुपाल्चोकका कक्षा ९ र १० का विद्यार्थी पढाएर फर्किएका अध्येता फुयाँल टीएफएनको यो अभियानलाई देशव्यापी बनाउनुपर्ने बताउँछन् । सार्वजनिक शिक्षा प्रवर्द्धन मञ्चका अध्यक्ष समेत रहेका फुयाँलको भनाइमा सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्न र विद्यार्थीको आत्मविश्वास बढाउन यस्ता अभियान आवश्यक छन् । “यसबाट नयाँ पुस्ताको प्रतिभा र कमजोरी थाहा पनि हुन्छ”, उनी भन्छन् ।
टीएफएन स्वयंसेवी शिक्षकका रूपमा ललितपुरस्थित ज्योतिडाँडा सहकारी माविमा पढाएकी किंग्स् कलेजकी सहायक प्राध्यापक भावना श्रेष्ठ पनि ‘कक्षाकोठामा एक दिन’ अभियानलाई विस्तार गर्नुपर्ने बताउँछिन् ।
“गाउँका सरकारी विद्यालयका विद्यार्थीले ड्राइभर, खलासी, वैदेशिक रोजगारीमा गएका मान्छेलाई नै ‘रोलमोडल’ ठानिरहेका हुन्छन्, अलि ठूलो सपना देखाउन पनि सफल व्यक्तित्वहरूले कक्षाकोठामा पुग्नैपर्छ”, उनी भन्छिन् ।
यसका लागि सरकारी विद्यालय स्वयंले पनि चासो दिनुपर्ने उनको जोड छ । “सफल व्यक्तिहरूले गाउँघरतिर जाँदा कक्षाकोठामा पुगेर अनुभव सुनाइदिए पनि यो अभियानमा टेवा पुग्नेछ”, श्रेष्ठको सुझव छ ।
गाउँमा स्वयंसेवी शिक्षक
टीएफएनले स्नातक तह उत्तीर्ण विद्यार्थीलाई दुई वर्षका लागि स्वयंसेवी शिक्षक (फेलो) का रुपमा सरकारी विद्यालयहरूमा पढाउन पठाउने गरेको छ । उनीहरूले गाउँका सरकारी विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अंग्रेजी, गणित र विज्ञान पढाउँछन् ।
पाँच वर्षअघि शुरु भएको यो अभियानअन्तर्गत सिन्धुपाल्चोकका १५, ललितपुरका १४ र धनुषाका ५ विद्यालयमा स्वयंसेवी शिक्षकहरूले पढाउँदै आएका छन् ।
स्वयंसेवी शिक्षकले विद्यालयमा पढाउनेसँगै गाउँघरमा सामाजिक कार्य गर्न पनि उत्प्रेरित गरिरहेका छन् । शुरुआतमा जे पनि बिग्रेको देख्दा आफैं सुधार्न खोज्ने भएकोले गाह्रो भएको बताउँदै चिलाउने माध्यमिक विद्यालय, थाङपालकोटका स्वयंसेवी शिक्षक विशाल न्यौपाने भन्छन्, “अब त विद्यार्थी र अरु शिक्षक नै अघि सर्न थालेका छन् ।” स्वयंसेवी शिक्षकहरूले कक्षामा कमजोर विद्यार्थीलाई बिहान–बेलुका निःशुल्क रुपमा थप कक्षा पढाउने पनि गरेका छन् ।
स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी यो अभियानमा जोडिएका छन् । अहिले तीनै जिल्लाका ३४ विद्यालयमा ८४ जनाले पढाइरहेका छन् भने १०२ जना दुई वर्ष पढाएर फर्किसकेका छन् ।
आगामी वर्ष थप विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्ने टीएफएनले तयारी गरेको छ । जसका लागि यो वर्ष आवेदन दिएका १,३२० जनामध्ये ५५ जना छनोट भएका छन् ।