लुम्बिनी संरक्षणमा खटिने पहिलो व्यक्ति केशरशमशेर
लुम्बिनीमा केशरशमशेरले लापरवाही गरेको वा पुरातात्विक महत्वका सामग्री बिगारेको भन्ने भनाइ आक्षेप मात्र हो भन्ने कुरा त्यहाँका ढिस्कोहरूले नै प्रमाणित गरेका छन्।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरको दक्षिण र उत्तरपट्टिका दुई ठाउँमा एक दशकअघिसम्म माटामा ढिस्काहरू थिए । उत्तरको ढिस्कोमाथि पानीट्यांकी राखिएको थियो भने दक्षिणको ढिस्कोमाथि ईंटाको गोलो खम्बा थियो ।
कुनै स्तूप वा माटोले छोपिएको पुरातात्विक महत्वको संरचनाजस्तो लाग्ने ती ढिस्काहरूको ठाउँमा बगैंचा बनाइएको छ । वास्तवमा ती दुवै ढिस्का स्तूप वा कुनै संरचना होइनन्, लुम्बिनीको पुरातात्विक गतिविधि बुझ्न सहायक हुने सामग्री भने जरूर हुन् ।
लुम्बिनी क्षेत्रमा काम गरेका अनेक व्यक्तित्वहरूमध्येका एक केशरशमशेर पनि हुन् । लुम्बिनी पत्ता लगाएर प्रचारप्रसारमा ल्याउने जर्मन पुरातत्वविद् डा. ए. फुहरर हुन् वा थप अध्ययनका लागि आएका भारतीय विद्वान पूर्णचन्द्र मुखर्जी; उनीहरू विस्तृत कामका लागि लुम्बिनी आएका थिएनन् ।
यस क्षेत्रको विस्तृत विकास वा संरक्षणका लागि खटिने पहिलो व्यक्ति यिनै केशरशमशेर हुन् । उनले यहाँ के काम, कसरी गरे भन्ने प्रश्न बेग्लै हो, तर यहाँ काम गर्दा निस्केको माटोधरि अन्यत्र नफाली सुरक्षित राखिएको थियो ।
त्यही माटो नै मायादेवी मन्दिर उत्तर र दक्षिणमा देखिएका दुई ढिस्का हुन् । भविष्यमा थप अध्ययन हुनसकोस् भनेर राखिएका ती ढिस्कालाई कसैले स्तूपको रूपमा बुझेको पाइन्छ ।
मौर्य सम्राट अशोक (२७३–२३२ इ.पू.) ले इ.पू. २४९ मा लुम्बिनी भ्रमण गर्दा ठड्याउन लगाएको अशोक स्तम्भभन्दा केही फिट पूर्वतिर पनि पहिले माटोको विशाल ढिस्को थियो ।
त्यस ढिस्कोमाथि बोधिसत्व (भविष्यका बुद्ध) लाई जन्म दिइरहेकी माता मायादेवीको शिरविहीन विशाल पाषाण मूर्तिलाई वनदेवी वा काली भनी पूजा गर्ने, बलि चढाउने गरिन्थ्यो ।
लुम्बिनी पत्ता लागेर प्रचारप्रसार हुँदाका बखत अशोकस्तम्भ र त्यसमा कुँदिएको ‘लुम्बिनी’ र ‘शाक्यमुनि बुद्धको जन्मस्थल’ जस्ता शब्दहरूमा नै सबैको ध्यान केन्द्रित भयो ।
अशोकस्तम्भ पूर्वको ढिस्कामा रहेको मूर्ति माता मायादेवीको भनेर डा. ह्वेले पहिचान गरेका थिए । त्यसको केही समयपछि पूर्णचन्द्र मुखर्जीले त्यस ठाउँबाट बाहिर मूर्तिको टाउको भेटेका थिए । त्यसको निकै वर्षपछि खुट्टा जोडिएको थियो ।
मायादेवीको मूर्ति भनेर थाहा पाइसकेपछि त्यस ढिस्कोले त महत्व पाउन थाल्यो, तर उत्खनन् तथा अध्ययन हुनसकेको थिएन । केशरशमशेरले काम गर्ने क्रममा ढिस्कोको विशेष संरक्षण गर्न त्यसमाथि ईंटा छाप्न लगाउँदा वर्तमान मायादेवी मन्दिरको आकार बनेको हो ।
उनको कार्यकालमा त्यस वरिपरि पनि धेरै काम भएका थिए । ती जम्मै काम ‘लेभलिङ मेथड’ मात्रै भएको भन्ने पुरातत्वविद् बाबुकृष्ण रिजालको भनाइ सही हो ।
केशरशमशेरले लुम्बिनीमा पुरातात्विक महत्वका सामग्रीहरू बिगारेको र लापरवाही भएको आक्षेप पनि लगाइन्छ । उनको काम अवैज्ञानिक वा लापरवाहीपूर्ण भएको मान्नेहरूले माटोका दुई थुप्रोबाट पुरातात्विकक वस्तुहरू निस्कने अपेक्षा पनि गरेका थिए, तर स–साना चिजबाहेक महत्वपूर्ण वस्तुहरू निस्केन ।
पछि ती दुवै ढिस्कोमा काम गरेका पन्जाबी इन्जिनियर गोकुलचन्द्र नग्रथ दक्षिणको ढिस्कोमाथिको ईंटाको स्तम्भमा लुम्बिनीको जीर्णोद्धारसम्बन्धी अभिलेख राख्ने सोचमा रहेको वर्णन भारतका चन्द्रमान त्रिपाठीले आफ्नो यात्रा संस्मरण ‘मेरी लुम्बिनी यात्रा’ (धर्मदूत, वर्ष १३, अंक ३, इ.सं. १९४९) मा उल्लेख गरेका छन् ।
तर, त्यो काम गर्नुअघि नै इन्जिनियर नग्रथलाई काठमाडौं बोलाइयो र १९९० सालको विनाशकारी महाभूकम्पले भत्काएको दरबारहरूको मर्मत कार्यमा लाग्दालाग्दै उनको मृत्यु भयो ।
केशरशमशेरले कुनै प्रतिवेदन तयार नपारेको भनेर गाली गर्नेहरूलाई प्रतिवेदन तयार पारेको तर प्रकाशनमा ल्याउन नसकेको भन्ने प्रा. डा. मुकुन्दराज अर्यालको जवाफ काफी भएको छ ।
अभिलेख नै राख्ने योजनाअनुसार काम गर्नेहरूले प्रतिवेदन नलेखी लापरवाही गरेको भन्न मिल्दैन । त्यस्तै, निस्केका पुरातात्विकक सामग्रीहरू भण्डारण गरिएको मात्र नभई माटोको थुप्रोबाट ममहत्वपूर्ण वस्तुहरू ननिस्केबाट पनि केशरशमशेरले आलोचकहरूले भनेजस्तो लापरवाही गरेका थिएनन् भन्ने स्पष्ट हुन्छ ।