मोबाइल फिल्म प्रतियोगिता हुदै
सर्वनामले मोवाइल फिल्म प्रतियोगीता ‘दृश्यांश’को आयोजना गर्ने भएको छ । त्यसका लागि १७ माघसम्म फिल्म पठाउन आह्वान गरेको छ ।
सर्वनाम थिएटर, कालिकास्थानमा पत्रकार सम्मेलन गरी ‘दृश्यांश’का विषयमा जानकारी दिइएको छ । प्रतियोगीताको बारेमा जानकारी दिदै ‘दृश्यांश’ संयोजक सम्पदा मल्लले कथा भएर पनि प्रविधीको कारणले खुम्चिएका युवा पुस्तालाई मुलधारमा ल्याउन सहयोग पुग्ने बताइन् । यसको पहिलो संस्करणमा करिब चारसय चलचित्र आएको र उत्साहजनक सहभागिता भएकोले दोस्रो संस्करण आयोजना गर्न हौसिएको मल्लले बताइन् । पहिलो संस्करणमा निश्चल बस्नेत, अभिनाश विक्रम शाह, दिपक रौनीयार र सुशिल पौडेल निर्णायक रहेका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेतले कुनैबेला आफूले चलचित्र बनाउने सोच्दा प्लेटफर्म नपाएको र धेरै भोतारिनु परेको अभुनव सुनाए । यस्ता प्रतियोगिताले प्रविधिको कारण खुम्चिएका प्रतिभालाई मूलधारमा ल्याउन सघाउने उनले बताए ।
त्यस्तै निर्देशक अभिनाश विक्रम शाहले अघिल्लो ‘दृश्यांश’को अनुभव सुनाउदै पहिलो संस्करणमा उत्कृष्ट चलचित्र आएको बताए । सह–आयोजक सिनेमाघरका सागर खरेलले नेपाली चलचित्रलाई विश्वब्यापीकरण गर्ने अभियानका साथ एप्लीकेशनको शुरुवात गरेको बताए ।
पत्रकार सम्मेलनमा सर्वनामका निर्देशक अशेष मल्लले कलाका विषयमा बोलेका थिए । संसारभर कलाका विविध विधा र व्यक्त गर्ने माध्यम फरक भए पनि कला एउटै भएको उनको भनाइ थियो ।
प्रतियोगितामा सहभागि हुन मोबाइबाट खिचिएको चलचित्र १७ माघसम्म सर्वनाम थिएटरमा बुझाउनुपर्ने छ । चलचित्र अधिकतम ३ मिनेट मात्रै हुनुपर्ने छ । पहिलो पुरस्कार नगद रु. ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याब ३ भी र तेस्रो पुरस्कार टचकन ट्याब रहेको छ । साथै उत्कृष्ट चलचित्रहरुलाई सिनेमाघर एपमा राखेर धेरै हेरिएको चलचित्रलाई अडियन्स च्वाइस अवार्डमा ९.७ इन्चको आइप्याड प्रदान गरिनेछ ।