चुनाव सकियो, वैरभाव बढ्यो
प्रकाश सिंह,बाजुरा
बाजुराका केही गाउँमा चुनावी वैरभाव कायमै छ । कुनै गाउँमा पानी खाने धारा अलग भएका छन् भने कतै बोलचाल बन्द भएको छ ।
स्थानीय तह निर्वाचन गत असारमै सकियो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि भर्खरै सकिएको छ । गाउँघरमा चुनावी वैरभाव भने कायमै छ । कुनै गाउँमा पानी खाने धारा अलग भएका छन् भने कतै बोलचाल बन्द भएको छ ।
बाजुरामा स्थानीय तह निर्वाचन जित्नेभन्दा हार्ने निकै बढी छन् । हार्नेहरूको छट्पटी एकातिर छ भने, जित्नेहरू पनि सबै निर्लिप्त भएर आफ्नो जिम्मेवारीमा जुट्न सकिरहेका छैनन् । उनीहरूलाई चुनावी प्रतिस्पर्धाका क्रममा आफन्त र नातागोताबीच बढेको मनोमालिन्यले सताइरहेको छ ।
बडिमालिका नगरपालिका–७ मा फरक दलबाट वडाध्यक्षका उम्मेदवार बनेका साला–भिनाजु, वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार ज्वाइँ–जेठान र पाण्डव गुफा गाउँपालिका–१ मा वडाध्यक्ष लडेका काका–भतिजाको विवाद त अदालतमै पुगेको छ ।
बडिमालिका–७ को अध्यक्षमा नेकपा (एमाले) का धर्मराज पाध्याय र नेपाली कांग्रेसबाट उनका भिनाजु विजयराज पण्डित उम्मेदवार थिए । निर्वाचनमा पाध्यायले चार मतले उछिनेपछि भिनाजु दिपायलस्थित उच्च अदालत पुगे । मुद्दा चलेपछि दिदी पनि बोल्न छाडेको र भान्जाभान्जी पनि टाढिएको पाध्याय बताउँछन् । जन्मेको ९ महीनामै आमाको निधन भएपछि उनी दिदीभिनाजुकै सहारामा हुर्किएका थिए । “चुनावअघिसम्म गाह्रोसारो टार्ने पनि उनै दिदीभिनाजु थिए; तर अहिले वैरी ठहरिएको छु” पाध्याय भन्छन्, “यसपालिको दशैंतिहार समेत चुनावी वैरभावले खाइदियो ।”
पाण्डव गुफा गाउँपालिका–१ का काका–भतिजा रामलाल र डबल बोगटीको सम्बन्ध पनि चुनावमा वडाध्यक्षको प्रतिस्पर्धासँगै धमिलिएको छ । काकासँग दुई मतले हारेका बोगटी उच्च अदालत, दिपायल पुगेपछि पारिवारिक सम्बन्ध पूरै बिग्रियो । “मेरा सहोदर दाजुको छोरो हो, ऊ जन्मेको दुई वर्षमै दाजु बित्नुभएपछि मैले नै खेलाएर हुर्काएको हुँ” बोगटी भन्छन्, “आजभोलि बाटो काटेर हिंड्छ, मन सारै पोल्छ ।”
बडिमालिका–२ का ज्वाइँ–जेठानको सम्बन्ध पनि चुनावी परिणामसँगै धमिलिएको छ । एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका डम्मर महतले ६ मतले पराजित गरेपछि कांग्रेसतर्फका प्रतिस्पर्धी रहेका उनका जेठान गोपाल कार्की अदालत पुगेका छन् । उच्च अदालत पुगेका उनले मतगणनामा धाँधली भएको दाबी गर्दै पुनः गणनाको माग गरेका छन् । “चुनाव जिते पनि तारेख धाउँदाको हैरान भयो” महत भन्छन्, “अर्कोतिर पारिवारिक सम्बन्ध बिग्रियो ।”
२०५४ सालदेखि द्वन्द्व
बाजुराकै हिमाली गाउँपालिका–४ फैती गाउँमा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा फाटेको मन अहिलेसम्म पनि जोडिन सकेको छैन । त्यो बेला कांग्रेस र एमालेको नाममा भएको मतभिन्नतालाई त्यसपछिका हरेक निर्वाचनले झन बढाउँदै लगेको स्थानीय चक्र मल्ल बताउँछन् । “गत असारको स्थानीय तह चुनावमा तीन दिनसम्म गाउँ निकै अशान्त बन्यो” उनी भन्छन्, “दुई पक्षबीच भिडन्त नै हुन थालेपछि प्रहरी टोली आएर रोक्नुपर्यो ।”
त्यसबेला एमाले समर्थक रङ्ग मल्लको घर तोडफोड र कुटपिट गरेको भन्दै कांग्रेस समर्थक ललित मल्ल, कल्पना मल्ल, चिरञ्जीवी मल्ल र खुमबहादुर मल्ल विरुद्ध परेको मुद्दा जिल्ला अदालतमा चलिरहेको छ । चक्रका अनुसार, फैती २०० परिवार बाहुन, ठकुरी, सार्की र लुवारको गाउँ हो ।
गाउँमा कांग्रेस र एमालेका समर्थक हाराहारी छन् । गाउँमा किनमेल गर्ने पसल पार्टी अनुसार भिन्नै छन् । गाउँमा हुने भोजभतेरमा समेत पार्टी अनुसारको सहभागिता हुन्छ । “यो परिपाटीले गर्दा गाउँमा एक्लै स्वतन्त्र हिंडडुल गर्न पनि असहज छ” मल्ल भन्छन्, “चुनावको बेला त झन नसकिने अवस्था हुन्छ ।”
दलपिच्छे फरक चाडपर्व
बाजुराकै गाउँपालिका छेडेदह–२ माटेसाँगुका कुलबहादुर र मोहनबहादुर शाही सहोदर दाजुभाइ हुन् । कुल नेकपा (एमाले) र मोहन नेपाली कांग्रेस समर्थक हुन् । पार्टी अनुसार, उनीहरूको चाडबाड पनि फरक छ । “गाउँमा कांग्रेस र एमाले समर्थकको चाडबाड फरक हुन थालेको २० वर्षजति भयो” स्थानीय दीर्घ शाही भन्छन्, “दशैंतिहार, भुवा र अन्य चाडपर्व मनाउँदा पार्टी अनुसार फरक गरिन्छ ।”
बाजुराको यो भेगमा हरेक पुसमा एक वर्षभित्र बिहे भएको, छोरा जन्मिएको, नयाँ बनेको घरमा भेला भएर भुवा खेलिन्छ । २० वर्षअघि आफूहरू सानै छँदा गाउँमा कांग्रेस–एमाले तिक्तता बढ्न थालेपछि जसको समर्थक हो, त्यही दलकाहरू मात्र गएर भुवा खेल्ने चलन बसेको शाहीले बताए ।
माटेसाँगुका बिस्नबहादुर र धनबहादुर शाही पनि सहोदर दाजुभाइ हुन् । बिस्न एमाले र धन कांग्रेसमा छन् । उनीहरू पनि आ–आफ्नै पार्टीले मनाउने ठाउँमा चाडपर्व मनाउँछन् । “१० वर्षअघिसम्म त गाउँमा अर्को पार्टीको मान्छेको जन्ती वा मलामी पनि गइन्नथ्यो” धन भन्छन्, “अहिले त्यति साह्रो नभए पनि सामाजिक काम र चाडपर्व अलग्गै गरिन्छ ।”
२० वर्ष पहिले कांग्रेस र एमालेबीच भएको विवादले गाउँमा विभाजन ल्याउन थालेको थियो । माटेसाँगुमा ठकुरी, बुढा, कटुवाल, सुनार, सार्की र नेपाली गरी १२३ परिवारको बसोबास छ । तीमध्ये ३८ परिवार एमाले र बाँकी सबै कांग्रेस समर्थक रहेको एमालेको बाजुरा जिल्ला कमिटी सदस्य गणेशबहादुर शाहीले बताए । उनी माटेसाँगुकै हुन् । उनका अनुसार, गाउँमा पहिला सबै कांग्रेस थिए ।
केही परिवार एमाले भएपछि गाउँमा द्वन्द्व चर्कन थाल्यो । त्योसँगै चाडपर्व पनि अलग्गै मनाउने प्रवृत्ति बढेको शाही बताउँछन् । गाउँका कुलबहादुर शाही सामाजिक कामका लागि ल्याएका भाँडाकुँडामा समेत कांग्रेस र एमाले भनेर लेखिएको बताउँछन् । “पार्टीका कारणले भाइ–भाइ फुट्यौं, पूजापाठ समेत अलग–अलग गर्छौं” उनी भन्छन्, “मलाई चाहिं यो ठीक लागिरहेको छैन ।”
तत्कालीन समयमा कांग्रेसका पदमबहादुर शाही र एमालेका डबलबहादुर शाहीले विवादको नेतृत्व गरेका थिए । दुवै जिल्लास्तरका नेता हुन् । उनीहरूले विवाद मिलाउनुको साटो आ–आफ्नो पक्षलाई उकासेको गाउँलेहरू बताउँछन् ।
दलीय विवादको असर गाउँको विकासमा परेको छ । विवाद साम्य पार्ने प्रयास नेताहरूकै कारण सफल भएन । दुवै पक्षका नेताहरूले अर्कालाई दोष थुपार्ने गर्दा गाउँमा पहिलेको सौहार्द फर्कन सकेको छैन । “अरू कुनै कारण छैन, त्यही पार्टीका कारणले बिग्रेको हो” स्थानीय शिक्षक शेरबहादुर कटुवाल भन्छन्, “नेताहरू हरेक चुनावलाई तिक्तता बढाउने माध्यमको रूपमा दुरुपयोग गर्छन् ।”