देशभरको जोडघटाउ ‘चर्चित उम्मेदवारहरूको चुनावी अवस्था’
निर्वाचनमा होमिएका उम्मेदवारलाई आफ्नो पक्षमा पासा पल्टाउन निकै सकस भइरहेको छ ।
२१ मंसीरमा ४५ जिल्लामा २५६ प्रदेश सभासँगै १२८ प्रतिनिधिसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । यो निर्वाचनले जारी संक्रमणकालको अन्त्य गर्दै मुलुकलाई नयाँ युगमा प्रवेश गराउँदैछ । यहाँ हामीले तीव्र प्रतिस्पर्धामा रहेका चर्चित उम्मेदवारहरूको चुनावी अवस्था प्रस्तुत गरेका छौं ।
सिटौलालाई लिङ्देनकाे चुनौती
पहिलो चरणको निर्वाचन सकिएको भोलिपल्ट ११ मंसीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सम्बोधन गर्न पुगेको झापा, गौरादहको आमसभामा जिल्लामै रहेका नेताहरू कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा देखा परेनन् ।
सिटौलाका एक सहयोगी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कांग्रेसबीच अरू क्षेत्रमा भएको गठबन्धनलाई असर नपुगोस् भनेर उनी पार्टी सभापति सहभागी सभामा नगएको बताउँछन् । सिटौला र शर्मा नेकपा (एमाले) को मत तान्ने प्रयासमा छन् । त्यही एमालेविरुद्ध चर्को भाषण गर्ने आफ्नो दलका नेताहरू सहभागी सभामा जाँदा प्रत्युत्पादक हुने ठानेर उनीहरू गौरादह नगएको अनुमान गर्न सकिन्छ ।
झापा क्षेत्र नं. ३ मा वाम गठबन्धनको समर्थन पाएका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको सामना गरिरहेका सिटौला अहिले आफ्नो राजनीतिक करिअरको चुनौतीपूर्ण अवस्थामा छन् । २०५० सालमा एमालेका सांसद् द्रोणप्रसाद आचार्यको निधनपछि भएको उपनिर्वाचनमा लीला उदासीलाई पराजित गरेर ‘लालकिल्ला’ भत्काएका सिटौला झापाको ३ नम्बर क्षेत्रबाट तीनपटक निर्वाचित र दुईपटक पराजित भएका छन् ।
शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको मुख्य सहयोगी भएर काम गरेका सिटौला आफ्नो निर्वाचन क्षेत्रको विकासमा ध्यान नदिएको भनेर आलोचित छन् ।
विद्यार्थीकालदेखि नै पंचायती व्यवस्थामा समर्पित राजनीति गरिरहेका लिङ्देन २०५६ यता झापा क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरिरहेका छन् । २०७० को संविधानसभा निर्वाचनमा उनी सिटौलासँग करीब ५ हजार मतले पराजित भएका थिए । गत स्थानीय निर्वाचनमा भने यस क्षेत्रमा कांग्रेसले भन्दा बढी मत वामपन्थीहरूले पाएका थिए । यसले लिङ्देनले वाम गठबन्धनको सबै मत नपाउँदा पनि सिटौलालाई अप्ठ्यारो पर्ने देखिन्छ ।
सिटौला झपाका सचेत मतदाताले आफूले शान्ति प्रक्रियामा खेलेको भूमिका र माओवादी कार्यकर्ताले तिनको पार्टीलाई खुल्ला हुन सघाएको बिर्संदैनन् भन्ने आशाका साथ चुनावी अभियानमा जुटेका छन् । यता लिङ्देन आफू एक्लैले जित्न सक्ने स्थानमा वाम गठबन्धनको सहयोगले झनै सहज भएको बताउँछन् । सिटौला पनि वाम गठबन्धनबाट मत ‘क्रस’ गराउने प्रयासमा छन् ।
शर्मा र कार्कीको परीक्षा
झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्रका नेता सुरेन्द्र (राम) कार्की ‘टुरिष्ट’ उम्मेदवार भएको आरोप खेपिरहेका छन् । २०७० मा समानुपातिक सांसद् बनेका उनी २०६४ सालमा ताप्लेजुङमा पराजित भएका थिए । पुख्र्यौली घर ओखलढुंगा भएका कार्की भूमिगतकालमा माओवादीको मेची अञ्चल इन्चार्ज थिए ।
वामगठबन्धनले बाहिरिया उम्मेदवार ल्याउँदा कुशल वक्ता विश्वप्रकाश शर्मालाई अझ् सजिलो भएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् । शर्मा स्वयम् पनि आफू यहींको माटोमा हुर्केको, यहींको विकासमा सक्रिय रहेको मात्र नभई समाजवादी फोरम, लिम्बुवान, राप्रपा (प्रजातान्त्रिक) लगायतका साना दल र एमाले–माओवादीकै कार्यकर्ताले समेत सघाउने भएकोले आफूले जित्ने बताउँछन् ।
दोस्रो संविधानसभा निर्वाचनमा उनी एमालेका रविन कोइरालासँग ६८९ मतले पराजित भएका थिए । त्यसपछिको अधिकांश समय काठमाडौंमा विताएका शर्मालाई पनि निर्वाचनका लागि मात्र जिल्ला आएको आरोप लागेकै छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रले नै बढी मत पाएका थिए । यसले कार्कीलाई पनि कमजोर देखाउँदैन ।
ढुक्क ओली
एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट छैटौंपटक उम्मेदवार बनेका छन् । उनले यस क्षेत्रबाट २०६४ सालको संविधानसभा बाहेकका निर्वाचन कम्तीमा आठ हजार मतको अन्तरले जितेका थिए । उनीसँग यसपटक कांग्रेसको तर्फबाट विश्वविद्यालयको प्राध्यापन छोडेर आएका डा. खगेन्द्र अधिकारी भिड्दैछन् ।
यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमाले, माओवादी र राप्रपाले कांग्रेसले भन्दा करीब ३४ हजार बढी मत पाएका थिए । एमालेले राप्रपासँग समेत गठबन्धन गरेकाले कांग्रेसका उम्मेदवार डा. अधिकारीभन्दा मजबूत देखिएका छन् ।
यादवलाई सप्तरीमा सकस
पहिलो संविधानसभामा मोरङ र सुनसरीबाट निर्वाचित संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो संविधानसभा निर्वाचनमा मोरङबाट पराजित भए । अहिले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर उनले यहाँको राजनीतिक माहोल तताएका छन् ।
मधेश आन्दोलनको नेतृत्व गरेका र उपप्रधानमन्त्री समेत बनिसकेका यादवलाई सप्तरीमा राजपाको साथ र कांग्रेसको सहयोग भए पनि राजपाकै सह–महामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएर असजिलो पारिदिएका छन् ।
सप्तरी क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादव उम्मेदवार छन् । दोस्रो संविधानसभामा निर्वाचित उमेश यादवले यादव समुदायको मत पाउने नै छन् । स्थानीय निर्वाचनमा राजपाले पाएको मत र आफ्नै व्यक्तित्वको कारण पनि यो क्षेत्रमा उपेन्द्र यादव अगाडि देखिन्छन् । तर, बागी उम्मेदवार पनि उनकै भागमा परेको छ ।
निधि र महतोको लडाइँ
पार्टीभित्र मात्र नभई सत्ता राजनीतिमा समेत पकड बनाएका कांग्रेस नेता विमलेन्द्र निधि र मधेशी पहिचानको राजनीतिमा बलिया राजेन्द्र महतोबीचको प्रतिस्पर्धा छ– धनुषा क्षेत्र नं. ३ मा ।
गत संविधानसभा निर्वाचनमा गृहजिल्ला सर्लाहीमा पराजित राजपा नेता महतो यसपटक निधिलाई चुनौती दिन धनुषा आइपुगेका छन् । दुवै उम्मेदवारको शक्ति प्रदर्शन, चर्को आरोप–प्रत्यारोप र पैसाको चलखेलका कारण जनकपुर नगर समेटिएको यो क्षेत्रको माहोल निकै गरम छ ।
सद्भावना पार्टीबाट राजनीति शुरू गरेका महतो पटक–पटक मन्त्री बनेका नेता हुन् । गजेन्द्रनारायण सिंहले स्थापना गरेको सद्भावना पार्टीको मूल हाँगो सम्हालिरहेका उनी मधेश आन्दोलनका पनि प्रमुख नेतामध्ये मानिन्छन् । तर, कांग्रेस पार्टीको महामन्त्री र सरकारमा उपप्रधानमन्त्री समेत भइसकेका निधि महतोलाई बाहिरिया भनिरहेका छन् ।
महतो भने दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित ‘मधेश आन्दोलनको विरोधीलाई सबक सिकाउन’ आफू आएको बताइरहेका छन् । दुवै नेताले यो निर्वाचनलाई अस्तित्व रक्षाको लडाइँ बनाएका छन् । हत्या अभियोगमा जेल परेका सद्भावना पार्टीका तत्कालीन निलम्बित सांसद् सञ्जय साहलाई यो चुनावमा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा भने महतो असफल देखिएका छन् । साह अहिले जेलबाटै निधिका पक्षमा वक्तव्य जारी गरिरहेका छन् ।
महतोका समर्थकहरू साहका वक्तव्यहरूले मतदातामा नकारात्मक प्रभाव बढाइरहेको र मधेश आन्दोलनको नेतृत्व गरेकोले पनि महतोकै जित हुने दाबी गर्छन् । यद्यपि, मैथिलीको उपेक्षा गरेर हिन्दीलाई प्रवद्र्धन गरेको आरोप र धनुषा बाहिरका भएको कुरा महतोको चुनावी ‘पोजिसन’ को निकै प्रतिकूल छ । संघीय समाजवादी फोरमसँग गठबन्धन गर्नु र स्थानीय निर्वाचनको मतपरिणाममा कांग्रेस धेरै अगाडि नहुनुले उनलाई त्यति कमजोर देखाउँदैन ।
ठाकुरलाई बागीको चुनौती
गृहजिल्ला सर्लाहीबाट लगातार हार बेहोरेका राजपाका नेता महन्थ ठाकुर यसपटक महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्दैछन् । सरल जीवनशैलीका नेता मानिने ठाकुर मधेश आन्दोलनको राप र तापका बेला पनि सर्लाहीको चुनावी राजनीतिमा कमजोर साबित भएका थिए ।
महोत्तरीमा पनि उनलाई बागीको चुनौती बेहोर्नु परेको छ । संघीय समाजवादी फोरम र कांग्रेसको साथसहयोग लिएका ठाकुरलाई राजपाकै चन्देश्वर झाले अप्ठ्यारोमा पारेका छन् । आफ्नै व्यक्तित्व, उनको समर्थनमा कांग्रेसको उम्मेदवारी फिर्ता र स्थानीय निर्वाचनमा राजपालाई प्राप्त मतलाई हेर्दा ठाकुर कमजोर भने देखिंदैनन् ।
दुई यादवको बीचमा गिरी
समाजवादी चिन्तक भनेर चिनिएका कांग्रेस नेता प्रदीप गिरी १८ वर्षपछि सिरहा क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गर्दैछन् । उनलाई एमाले नेता गंगाप्रसाद यादव र संघीय समाजवादी फोरमका राजलाल यादवले चुनौती दिंदैछन् ।
लहान बजारसमेत पर्ने यो क्षेत्रमा कांग्रेसको पकड रहेको मानिए पनि गत स्थानीय निर्वाचनमा धेरै स्थानमा एमालेले जितेको छ । लहानका पूर्व नगरप्रमुख रहेका राप्रपाका लगनलाल चौधरी एमालेबाट प्रदेश सभा उम्मेदवार बनेबाट गिरीलाई थप असहज भएको छ । यद्यपि, मधेश आन्दोलनप्रति उदार दृष्टिकोण राखेका उनलाई दुवै प्रतिस्पर्धी यादव भएकाले जातीय मत विभाजनको फाइदा पुग्ने आकलन छ ।
पहिलो संविधानसभामा सिरहा क्षेत्र नं. ६ बाट पराजित एमालेका यादव पनि स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् । दोस्रो संविधानसभा निर्वाचनमा टिकट नपाएपछि एमाले छोडेका उनी एमालेमा फर्किएर चुनाव लड्दैछन् ।
ह्याट्रिकको तयारीमा शशांक
दुईवटा संविधानसभामा नवलपरासीबाट निर्वाचित कांग्रेस महामन्त्री शशांक कोइराला यसपटक ह्याट्रिकको तयारीमा छन् । काठमाडौं बस्ने विराटनगरका कोइरालालाई सुरक्षित स्थान भएकै कारण कांग्रेसले नवलपरासी सुस्तापूर्व क्षेत्र नं. १ बाट चुनावी राजनीतिमा उतारेको थियो । बीपीका कान्छा छोरा शशांकलाई यसपटक पहिले जस्तो सजिलो भने छैन ।
माओवादीको खासै मत नभएको यो क्षेत्रमा वाम गठबन्धनबाट माओवादीकै उम्मेदवार भविसोर पोखरेलको उम्मेदवारीले पनि उनलाई सजिलो भएको हो । त्यसैगरी यस क्षेत्रको कांग्रेसको मत सधैं स्थिर छ । स्थानीय निर्वाचनमा गैंडाकोट नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भए पनि उपमेयरमा कांग्रेसले नै जितेको थियो । त्यसबेला एमाले, जनमोर्चा र राप्रपाको गठबन्धन थियो । अहिले राप्रपाले कांग्रेससँग गठबन्धन गरेको छ ।
जोड लगाउँदै पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट देशभरका चुनावी सभामा सम्बोधन गर्न दबाब परिरहँदा निकै कममा मात्र जान सकेका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाजस्तो देश दौडाहामा निस्कन नसक्नुको कारण हो, आफ्नै निर्वाचन क्षेत्रमा ढुक्क हुन नसक्ने अवस्था ।
तनहुँ क्षेत्र नं. १ मा चुनावी प्रचारप्रसारमा रहेका पौडेलका लागि वाम गठबन्धन त चुनौती छँदैछ, आफ्नै दलका गोविन्दराज जोशीले पनि हैरान पारेका छन् । भ्रष्टाचारको अभियोग लागे पनि जिल्लाका कार्यकर्तामा राम्रै पकड राख्ने कांग्रेसका नेता जोशी र पौडेलबीच पानी बाराबार छ ।
जोशीको बागी उम्मेदवारी खारेज भए पनि उनी पौडेलको पक्षमा देखिएका छैनन् । त्यसमाथि, गत स्थानीय तह निर्वाचनको मतपरिणाम कांग्रेसको भन्दा बढी वामपन्धीहरूको पक्षमा छ । २०४८ मा तनहुँ क्षेत्र नं. १ र त्यसपछि क्षेत्र नं. २ बाट निर्वाचन जित्दै आएका पौडेललाई वाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ निरन्तर निर्वाचित भए पनि जिल्लाका लागि केही काम नगरेको प्रचार गरिरहेका छन् ।
सिंहलाई मिश्रको टक्कर
काठमाडौंको क्षेत्र नं. १ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जित्दै आएको क्षेत्र हो । महानगरपालिकाका चार वडा रहेको यो क्षेत्र कांग्रेसको किल्ला मानिन्छ । कांग्रेसको यही किल्लामा धावा बोलेका छन् विवेकशील पार्टीसँग एकीकृत भएको साझा पार्टीका रवीन्द्र मिश्रले ।
यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा कांग्रेसका मेयर प्रत्यासीले ६ हजार ८०० एमाले र माओवादीले कुल ९ हजार ५८३ मत पाएका थिए । त्यस्तै विवेकशील र साझा पार्टीले ७ हजार ६८० मत पाएका थिए । नयाँ अनुहारहरू रहेको विवेकशील साझाले यसपटक विशेषगरी युवा मतदाताको भोट लिएर राष्ट्रिय पार्टीको हैसियत बनाउने र अर्को पटक देशकै नेतृत्व लिने भन्दै गरेको प्रचारले राम्रो परिणाम दिन लागेको मिश्रको दाबी छ ।
गगन भर्सेस राजन
गत संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नंं. ४ मा एमालेका निर्मल कुइँकेललाई करीब १३ हजार मतान्तरले पराजित गरेका कांग्रेस नेता गगन थापासँग यसपटक राजन भट्टराई प्रतिस्पर्धामा छन् । विद्यार्थी राजनीतिबाट उठेका थापा र भट्टराईले चुनावी कार्यक्रममा प्रतिस्पर्धीलाई सामान्य कटाक्ष गरे पनि अन्यत्र जस्तो आरोप–प्रत्यारोप गरेका छैनन् ।
यो क्षेत्रको अपेक्षित विकासमा बोल्ने भन्दा काम गर्ने नेता चाहिएको बताउने भट्टराई सोझ्ै थापाको नाम भने लिंदैनन् । यसअघि जिताएका मतदाताको आफूले मान राखेको बताउने थापा त विरोध गर्नै परे पनि ‘आदरणीय राजन दाइ’ बाट शुरू गर्छन् । जनआन्दोलनताका गणतन्त्रको नारा लगाएका थापा संसदीय समितिका सभापति र त्यसपछि सफल स्वास्थ्य मन्त्रीका रूपमा चर्चित भएका उम्मेदवार हुन् भने भट्टराई बौद्धिक जमातमा विदेश मामिला विज्ञका रूपमा चिनिन्छन् ।
थापासँग दाहालको तेस्रो भिडन्त
सबैखाले राजनीतिक व्यवस्थाका सफल खेलाडी राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट एमालेका कृष्ण दाहालसँग तेस्रो पटक चुनावी स्पर्धामा छन् । २०५१ र २०५६ मा दाहालबाट पराजित थापा यसपटक जितेर प्रधानमन्त्री बन्ने बताइरहेका छन् । अहिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री रहेका उनलाई कांग्रेसले समेत सहयोग गरेको छ ।
२०५१ सालमा करीब १६०० मतले दाहाललाई पराजित गरेका थापाको चुनावी मोर्चा भाइ गणेश थापाले सम्हालिरहेका छन् । थापाका लागि सीट छोड्नुपर्ने भएपछि मकवानपुर कांग्रेसमा देखिएको असन्तुष्टि अहिले मत्थर भए पनि कांग्रेसका जिल्ला नेताहरू प्रचारमा हिंडेका देखिंदैनन् । गत स्थानीय निर्वाचनमा ८ हजार मतले अगाडि रहेको वाम गठबन्धनका दाहाललाई हराउन थापालाई सहज देखिंदैन ।
चर्चित चितवन र दाहाल
भरतपुर महानगरपालिकाको निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेता विक्रम पाण्डेबीचको प्रतिस्पर्धाले चितवन फेरि चर्चामा आएको छ । दोस्रो संविधानसभा निर्वाचनमा चितवनको साविक क्षेत्र नं. ४ बाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र क्षेत्र नं. ५ बाट राप्रपाका पाण्डे निर्वाचित भएका थिए । अहिले ती दुवै क्षेत्र ३ नम्बर कायम भएको छ ।
अहिले दाहाल कांग्रेसका मतदाता र पाण्डे एमालेका मतदातालाई फकाउँदै छन् । भरतपुर महानगरपालिका निर्वाचन प्रकरण मतदाताका मनमा अझै ताजा भएकाले वाम गठबन्धनका बाबजूद एमालेको मत आफूले पाउने पाण्डे बताउँछन्, तर महानगरपालिका प्रमुखमा पराजित एमालेका उम्मेदवार देवी ज्ञवाली नै दाहालको प्रचारमै जुटेपछि पुरानो कुराको अर्थ नरहेको माओवादी कार्यकर्ताको दाबी छ ।
कांग्रेसको मत नआउँदा अप्ठ्यारो पर्ने बुझ्ेका दाहाल चुनावी सभाहरूमा बीपी र गिरिजाप्रसाद कोइरालाको उद्देश्य आफूले पूरा गर्ने बताइरहेका छन् ।
निर्माण कम्पनीका मालिक पाण्डे जिल्लाको विकासमा आफ्नो योगदान रहेको बताउँदै दाहाललाई ‘बाहिरिया’ भनिरहेका छन् । दाहाल भने आफूले जिते चितवनकै गौरव हुने बताइरहेका छन् । उनले स्थानीय तहमा वाम गठबन्धनले पाएको मत सुरक्षित गर्न सके भने निर्वाचित हुनसक्छन् त्यस्तै, लोकतान्त्रिक गठबन्धनको मत डोल्याउन र एमालेको केही मत तान्न सके भने पाण्डेको सम्भावना छ ।
देउवाको दबदबा
२२ कात्तिकमा एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ता डडेल्धुराका गाउँगाउँमा घरदैलोमा व्यस्त हुँदा कांग्रेसका नेता–कार्यकर्ता भने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गर्न जिल्ला सदरमुकाम अमरगढी, तुफानडाँडा र बागबजारमा जम्मा भएका थिए ।
त्यसको १४ दिनपछि ६ मंसीरमा सदरमुकाममा कांग्रेसका नेता–कार्यकर्ता कोही देखिएनन् । “सबै गाउँतिर लागे” कांग्रेसको जिल्ला कार्यालय सचिव राम विष्टले भने, “शेरबहादुर दाइ नआउँदासम्म मात्र यता भेटिने हुन् ।”
नभन्दै, देउवाले यसपटक पनि केहीलाई फकाएर, केहीलाई हकारेर त केहीलाई आश्वासन दिएर हप्ता दिनमै डडेल्धुराको चुनावी माहोलमा फेरबदल ल्याएका छन् ।
२०४८ यता लगातार निर्वाचित हुँदै आएका उनलाई यसपटक माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्टले रोक्न खोजेका छन् भन्ने कांग्रेसकै स्थानीय नेताहरूको आकलन थियो, मंसीर पहिलो सातासम्म ।
तर, ३ मंसीरमा देउवाले माओवादी बलियो रहेको जोगबुढा क्षेत्रमा आमसभा मात्रै गरेनन्, माओवादीका पोलिटब्यूरो सदस्य एवं समानुपातिक उम्मेदवार जगत पार्की र केन्द्रीय सदस्य जनक कलौनीलाई कांग्रेसमा प्रवेश गराएर चुनावी माहोल नै उलटपुलट गरे ।
पूर्व सांसद् पार्कीसहित जोगबुढा क्षेत्रका १०८ सामुदायिक वनका अध्यक्षमाथि वन मुद्दा लागेको छ । ती सबै मुद्दा फिर्ता लिने र राष्ट्रिय सभामा मनोनीत गर्ने शर्तमा पार्की कांग्रेसमा प्रवेश गरेको विरोधीहरूको आरोप छ ।
परीक्षणमा राणा
२०७० को संविधानसभा निर्वाचनमा शेरबहादुर देउवाले चुनाव जितेको कैलाली क्षेत्र नं. ६ नै हो अहिलेको कैलाली क्षेत्र नं. ५, जहाँ अहिले देउवा पत्नी आरजू राणा उम्मेदवार बनेकी छन् । देउवाले राजीनामा दिएपछि भएको कैलाली क्षेत्र नं. ६ को उपनिर्वाचनमा पनि कांग्रेसकै पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।
यो सुरक्षित क्षेत्रमा राणा आएपछि विवेकशील साझा पार्टीका तर्फबाट व्यवसायी गोपाल हमालले उम्मेदवारी दिएनन् । ‘टुरिष्ट उम्मेदवार’ को आरोप लागेपछि राणाले साढे दुई करोडमा हमालकै घर खरीद गरेकी छन् ।
स्थानीय तह निर्वाचनमा दुई समूहमा विभाजित कांग्रेस नेताहरू देउवाले पत्नीलाई टिकट दिएपछि एकमत देखिए । उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो अभियानमा रहेकी राणा अरू उम्मेदवारले जस्तो ‘जितेपछि गर्छु’ नभनी त्यहींबाट सम्बन्धित निकाय वा व्यक्तिलाई फोन गरेर समस्या समाधानका लागि आश्वस्त गराइरहेकी छन् ।
यद्यपि, वाम गठबन्धनका तर्फबाट उठेका एमालेका नारदमुनि राना पनि बलिया उम्मेदवार मानिएका छन् । अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको केन्द्र रहेको धनगढीमा रानाको उम्मेदवारीलाई सद्भावको रूपमा पनि लिइएको छ । तर, राजपाले थरुहट आन्दोलनका नेता लक्ष्मण थारूलाई उम्मेदवार बनाएकोले रानालाई अप्ठ्यारो छ ।
टीकापुर हत्याकाण्डका आरोपी उनले पुर्पक्षका लागि थुनामा रहेकाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रीय र जातीय नारा लाग्ने यो क्षेत्रमा यस पटक कुनै उम्मेदवारसँग त्यस्ता नारा छैनन् ।
लेखकको फरक शैली
कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका कांग्रेस नेता रमेश लेखकले फरक प्रचारशैली अपनाएका छन् । उनी अरूले जस्तो ‘जितेपछि यो गर्छु, त्यो गर्छु’ भन्दैनन्, गरेको कामका फेहरिस्त पेश गरिरहेका छन् । जस्तो, दोधारा–चाँदनी झेलुङ्गे पुल, महाकालीमा निर्माणाधीन चार लेनको अर्को पक्की पुल आदि ।
२०६४ मा समानुपातिकबाट सभासद् बनेका लेखक २०७० को संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले २०५६ सालयता गरेका २२ वटा कामको फेहरिस्तको पुछारमा कञ्चनपुरलाई देशकै ठूलो त्रिदेशीय व्यापारिक नाका बनाउने उल्लेख गरेका छन् ।
वाम गठबन्धनबाट एमालेका डा. दीपकप्रकाश भट्ट लेखकका प्रतिस्पर्धी छन् । यो क्षेत्रमा रहेको भीमदत्त नगरपालिकामा गत स्थानीय निर्वाचनमा एमाले विजयी भएको थियो । २०७० सालमा पनि कांग्रेसले वामपन्थीले भन्दा कम मत पाएको थियो । बैतडी पुख्र्यौली घर भएका लेखक र भट्ट नजिकका नातेदार हुन् ।
साथमा बच्चु विक, गोपाल गडतौला, कमल रिमाल, श्रवण देव, सुरजकुमार भुजेल, गोपाल भण्डारी र लक्ष्मी भण्डारी