लुम्बिनीका घोडचढी
दीपक ज्ञवाली, नवलपरासीबाट
२ वैशाख २०६२ को रात तराईको एउटा गाउँमा माओवादीले बम विष्फोट गराएर घरहरु ध्वस्त पारे, बालबालिकालाई समेत नछाडी गाउँलेहरुको हत्या गरे ।
नवलपरासीको बर्गदवामा भएको सो रक्तपात भोलिपल्ट बिहानका संचारमाध्यममा छ्याप्छ्याप्ती भयो ।११ जनाको ज्यान जाने गरी भएको उक्त घटना स्थानीय जमिन्दार र भूमिहीन दलित बीचको तिक्ततापूर्ण सम्बन्धको नतिजा थियो ।
सशस्त्र हिंसाका बेला दुवै पक्षले राज्य र विद्रोही दुवैको सहायता लिन्थे । त्यसबेला गाउँभित्रकोे सानो असझमदारी समेत रक्तपातमा परिणत हुनसक्थ्यो ।
गोलाही चामरले नन्दकुमार चौधरीसँग करिब ६ कट्ठा जमिन खरिद गरे पनि सरकारी कार्यालयबाट रजिष्ट्रेशन पास गराएनन् । घरसारमै भएको खरिदविक्री चौधरीको निधनपछि उनका छोराहरुले मानेनन् र गोलाही परिवारलाई विवादित जग्गाबाट हटाउन खोजे ।
गोलाहीले माओवादी गुहारे । माओवादीले जग्गा फिर्ताका लागि दबाब दिन थालेपछि चौधरी परिवारले स्थानीय प्रतिकार समितिसँग सहायता माग्यो । त्यसबेलाई माओवादीविरुद्ध संगठित हतियारसहितको समूह ‘प्रतिकार समिति’ लाई सेनाको सहयोग थियो ।
यसैबीच माओवादीले एकजना चौधरीलाई अपहरण गरी हत्या गर्यो । त्यसको बदलामा प्रतिकार समूहद्वारा एकजना दलितको हत्या भयो ।
२, वैशाख २०६२ को त्यस दुःखद रात माओवादीले गाउँमा ठूलै आक्रमण गर्यो । गाउँमा लाशहरुको थुप्रो र जलिरहेका घर थिए, माओवादीले भने विहानै डाँडा काटिसकेका थिए ।
बर्गदवा रक्तपातको एक दिनपछि पत्रकारहरु गाउँमा पुग्दा मुरली कुशवाहा मुख्य बाटोमै उभिएका थिए । दोहोरो ज्यानका दबंग देखिने उनको हातको बन्दुक र छडके पारेर भिरिएको गोलीको मालाले उनी भयानक देखिन्थे ।
कुशवाहाले हामीतर्फ बन्दुक सोझ्याउँदै भने, ‘अघि बढे हान्दिन्छु’ । हामी पत्रकार हौँ भनेर परिचयपत्र देखाएपछि भने उनी हामीसँग कुरा गर्न तयार भए । त्यसबखतको उनको तस्वीर ‘समय’ खबरपत्रिकाको आवरणपृष्ठमा छापिएको थियो, यही तस्वीरले माओवादीविरुद्ध राज्यले खटाएका ‘भिजिलान्ते’ लाई स–प्रमाण सार्वजनिक गरेको थियो ।
त्यसबेला बेरोजगार युवा, भारतमा मुद्दा चलेका अपराधीलाई माओवादी विरुद्ध लड्न तालिम साथै सटगन र राइफल दिइएको थियो ।
सेनाबाट तालिम र हातहतियार पाएका कुशवाहा भारतमा अपराध गरेर नेपाल आएको आरोप लागेको थियो । यद्यपी उनीसँग पहिल्यैदेखि नेपाली नागरिकता थियो ।
प्रतिकार समूहमा संलग्न भएपपछि कुशवाहाको पहुँच गाउँ भन्दा टाढासम्म पुग्यो । उनलाई बर्गदवा बोलाइयो । केही माओवादी कार्यकर्ताको हत्या गरेका उनी माओवादीको ‘हिट लिस्ट’मा परे ।
२०६३ को शान्ति सम्झौता पश्चात अचानकै गायब भएका कुशवाहा त्यसको धेरैपछि साधुको भेषमा देखा परे । साधुरुपमा रुद्राक्षमाला पहिरिएका कुशवाहको मैले खिचेको तस्वीर कुन्द दीक्षितको ‘युद्धपछि जनता’ मा समावेश छ ।
सशस्त्र हिंसाका बेला त्यसक्षेत्रका माओवादीबाट धम्क्याइएका व्यक्तिहरु मद्दतका लागि कुशवाहालाई गुहार्थे । कुशवाहालाई गुहार्ने त्यो क्रम अझै छ, तर अचेल कसैलाई मार्न नभई शान्तिका लागि बोलाइन्छन् उनी । स्थानीय शान्ति समितिको सदस्य रहेका उनले गाउँका विवादहरुमा मध्यस्थता गर्छन्, र शान्तिपूर्ण सम्झौताको प्रयास गर्छन् ।
करिब दुई साता अघि बुद्धको जन्मस्थान लुम्बिनी नजिकैको गाउँमा भेट हुँदा उनले भर्खरै विहानको जप–उपासना सक्काएका थिए । त्यसपछि स्थानीय विद्यालयको पठनपाठनसम्बन्धी विवाद मिलाउन व्यस्त भए ।
“अचेल गाउँलेहरु मलाई लडाइँका लागि नभएर शान्तिका लागि बोलाउँछन्, खुशी लाग्छ” उनले भने, “प्रार्थना गर्दा भित्रैबाट शान्ति मिल्छ, अब त विगत सम्झन पनि चाहन्न ।”
तराईका धेरैजसो पुरुष नजिकैको यात्रा मोटरसाइकल या साइकलमा गर्छन, तर कुशवाहाको सवारी भने घोडा हो ।
“यो घोडा मात्र हैन, मेरो साथी पनि हो,” उनी भन्छन्, “हिंसात्मक विगत सम्झेर दुखी भएका बेला यही घोडासँग वात मार्छु, शान्ति मिल्छ ।”
अहिले तत्कालीन माओवादीबाट अलग्गिएको एक समूह राज्यविरुद्ध अर्को युद्ध शुरु गर्ने कुरा गरिरहेका बेला कुशवाहा भने युद्ध कहिल्यै पनि नगर्न आग्रह गर्दैछन् । भन्छन, “मैले सबै देखेको छु, युद्ध कति भयावह हुन्छ । भो अब अर्को युद्ध चाहिँदैन ।”