पहिलो चरणको निर्वाचनका ‘हट स्पट’
३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा केही यस्ता ‘हेभिवेट’ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसको हारले उनीहरूको राजनीतिक अस्तित्व नै संकटमा पर्नेछ ।
१० मंसीर, आज मुलुकका उच्च पहाडी र हिमाली ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मतदान भइरहेको छ । ठिहिर्याउने हावा र बाक्लिदो हिउँले जनजीवन प्रभावित गर्न थालिसकेको छ । तर, राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारमा भने गर्मी उत्रिएको छैन ।
किनभने, निर्वाचनमा जित वा हारले अधिकांश उम्मेदवारको राजनीतिक जीवनको निर्धारण गर्नेछ । जितेकाले नयाँ संविधानप्रदत्त प्रावधान व्यवहारमै अभ्यास गर्ने र जनपक्षीय अधिकारहरू स्थापित गराउने अनुपम अवसर पाउनेछन् भने हार्नेमध्ये कतिपयको राजनीतिक ‘अवशान’ पनि यही निर्वाचनबाटै हुँदैछ ।
निर्वाचन भइरहेका जिल्लामध्ये केही यस्ता क्षेत्र छन्, जहाँ स्थापित दलका प्रभावशाली नेताहरू पुनः जनमतको परीक्षा दिइरहेका छन् । ‘गर या मर’ को अवस्थामा उनीहरू आफ्नो सम्पूर्ण राजनीतिक, आर्थिक र कतिपय स्थानमा राज्यको शक्ति समेतको दोहन गरिरहेका छन् । पहिलो चरणको निर्वाचनका ‘हट स्पट’ बनेका यी क्षेत्रहरूको संक्षिप्त आकलन यस्तो छः
नुवाकोट
नुवाकोटबाट लगातार ४ पटक निर्वाचन जितिसकेका नेपाली कांग्रेसका नेता रामशरण महत पाँचौ पटक चुनावी प्रतिस्पर्धामा छन् । नुवाकोट–१ बाट उनका निकटतम प्रतिद्वन्द्वी ठानिएका छन्, माओवादी केन्द्रका नेता हितबहादुर तामाङ ।
वामगठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका महतबीचको यो तेस्रो भिडन्त हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तामाङ महतसँग पराजित भएका थिए । दुवैको पुख्र्यौली घर पनि एउटै, पञ्चकन्या गाउँपालिका नै हो ।
पार्टीका महामन्त्री र मुलुकमै सबभन्दा बढी अर्थमन्त्री बनेका महत अहिले कुनै पदमा छैनन् । पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि अर्को खेमाका महतलाई पार्टीभित्रै साख जोगाउन पनि चुनाव जित्नैपर्ने बाध्यता छ ।
महत जिल्लाको पूर्वाधार विकासमा ठूलो योगदान गरेको दावी गर्दै मत मागिरहेका छन् भने तामाङ लामो समय अर्थमन्त्री बनेका महतकै कारण जिल्लाले दुःख पाएको आरोप लगाइरहेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य र पूर्व खेलकूद मन्त्री तामाङसँग अझ केही समय राजनीतिमा सक्रिय भइरहन कुनै अवरोध देखिदैन तर २०५१ सालदेखि कहिल्यै नहारेका महत कथं पराजित भएमा पार्टीको आन्तरिक समीकरणका कारण उनको राजनीतिक करिअर संकटमा पर्ने अनुमान गर्न सकिन्छ ।
नुवाकोट– २ मा कांग्रेसका अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडासँग प्रतिस्पर्धामा छन् । पछिल्लो महाधिवेशनमा पार्टीको महामन्त्री पदमा पराजित भएका उनी पञ्चायतकालसमेत गरी पाँच पटक मन्त्री भइसकेका छन् ।
२०३८ सालदेखिका सांसद् केसीको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने यस पटक चुनाव जित्न कुनै सकस नहुनुपर्ने हो । तर, अवस्था त्यस्तो छैन । वामगठबन्धनका कारण पराजित पनि हुनसक्ने भय उनमा देखिन्छ ।
नुवाकोटमा गत स्थानीय निर्वाचनमा प्राप्त मतका आधारमा कांग्रेसभन्दा वामगठबन्धनको मत बढी छ । तर, दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त मतमा कांग्रेस अगाडि छ ।
दोस्रो संविधानसभामा जिल्लाभरबाट कांग्रेस एक्लैले ५३ हजार ६७२ मत प्राप्त गरेको थियो भने एमालेले १७ हजार ९३४ र माओवादीले ३३ हजार ८८६ मत पाएका थिए ।
ओखलढुंगा
२०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाका छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार अहिले एउटै क्षेत्रबाट प्रतिस्पर्धी छन् । उस्तै उमेर, चर्चा र लोकप्रियता प्राप्त गरेका यी दुवैको दावी आफूले नै जित्ने छ ।
दिवंगत नेता बलबहादुर राईको क्षेत्र र कांग्रेसको गढ भएकोले आफूले जित्ने खतिवडाको दाबी छ भने सुनुवार पार्टीको लोकप्रियता र माओवादी समेतको मत खप्टिँदा जित सुनिश्चित भएको दाबी गर्छन् । गत संविधानसभाको निर्वाचनमा जिल्लामा एमाले र माओवादीले कूल २८ हजार ०५२ मत पाएका थिए भने कांग्रेसले एक्लैले २३ हजार ८४७ ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक– २ लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाका कारण पनि चर्चित छ । जिल्लाको तत्कालीन ३ नम्बर क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालका निर्वाचनमा विजयी राणा परिचित प्रतिद्वन्द्वी शेरबहादुर तामाङसँग भिडिरहेका छन्, जसले २०७० को संविधानसभा निर्वाचनमा उनैलाई हराएका थिए ।
२०७० को निर्वाचनको परिणाम नियाल्ने हो भने यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले १८ हजार ६७८ मत पाएको थियो भने वाम गठबन्धनले १९ हजार १११ । तर स्थानीय तहको मतपरिणाममा भने लोकतान्त्रिक गठबन्धन करीब १० हजार मतले पछाडि छ ।
२०३८ सालदेखि ७ पटकसम्म जिल्लाबाट प्रतिनिधि चुनिएका ७८ वर्षीय राणाले निर्वाचन हारे उनीमात्र होइन, पार्टीकै भविष्यसमेत अनिश्चित देखिन्छ । तर, राप्रपाका स्थानीय नेताहरू तत्कालीन क्षेत्र नम्बर २ को करीब २५ हजार मतदाता यो क्षेत्रमा परेका र गठबन्धनसमेत भएकाले जित निश्चित भएको दावी गर्छन् ।
चुनावी घम्साघम्सीको हिसाबले सिन्धुपाल्चोक– १ पनि पछाडि छैन । सञ्चारमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेत र वामगठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्व सञ्चारमन्त्री अग्नि सापकोटा चुनावी मैदानमा आमनेसामने छन् ।
बस्नेत र सापकोटा यसअघि क्रमशः सिन्धुपाल्चोक १ र २ बाट सांसद् बनेका थिए । पहिले तीन वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा दुईवटा मात्रै क्षेत्र बनेका कारण कसले जित्छ भन्न सहज छैन ।
बस्नेत २०५६ र २०७० सालमा सांसद् बनेका थिए भने सापकोटासँग पनि २०६४ र २०७० का दुवै संविधानसभा निर्वाचनमा विजयी बनेको अनुभव छ ।
ताप्लेजुङ
पछिल्ला दुई वटा संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित एमाले सचिव योगेश भट्टराई यसपटक जितको आशामा गृहजिल्ला ताप्लेजुङ पुगेका छन् । उनीसँगको प्रतिस्पर्धामा कांग्रेसका केशवप्रसाद दाहाल छन्, जो कांग्रेसका पूर्व जिल्ला सभापति एवं गत स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिकामा पराजित मेयरका उम्मेदवार हुन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा ताप्लेजुङका साविकका दुईवटै निर्वाचन क्षेत्रबाट एमाले उम्मेदवार निर्वाचित भएका थिए । दुवै क्षेत्रको मत जोड्दा एमालेले १४ हजार ४३८ नेपाली कांग्रेसले १२ हजार १६९ र माओवादीले १० हजार ८३६ मत प्राप्त गरेका थिए । अहिले जिल्लामा १९ हजार ५८८ मतदाता थपिएका छन् ।
गोरखा
कुनै बेला माओवादी पार्टीका सहयात्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धाले गोरखा– २ को निर्वाचन रोमाञ्चक बनेको छ । पछिल्ला दुईवटा संविधानसभा निर्वाचनमा गोरखा– १ बाट ठूलो मतान्तरसहित विजयी नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई कुनै बेलाको ‘दुष्मन’ कांग्रेससँग मिलेर प्रतिस्पर्धामा छन् ।
१० वर्षे हिंसात्मक माओवादी द्वन्द्वका ‘आर्किटेक्ट’ मध्येका एक भट्टराईका लागि यो निर्वाचन राजनीतिक अस्तित्वसँग जोडिएको छ । किनभने, राष्ट्रिय पार्टी बन्न चाहिने अनिवार्य प्रत्यक्षतर्फको एक सीट र मतप्रतिशतको धेरै अंश यही निर्वाचन क्षेत्रमा निर्भर छ ।
पहिलो संविधानसभा निर्वाचनपछि एकता केन्द्रसँगै माओवादी प्रवेश गरेका श्रेष्ठले २०७० को निर्वाचनमा मकवानपुरबाट हार व्यहोरेका थिए । भट्टराईसँग उनी पराजित भए पार्टीभित्र र बाहिर प्रभाव जमाउन उनलाई असहज हुने बताइन्छ ।
गत स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने गोरखामा भट्टराई उम्मेदवार बनेको लोकतान्त्रिक गठबन्धनले कूल २४ हजार ७३४ मत र माओवादी–एमालेले २५ हजार ४३७ मत पाएका थिए ।
जाजरकोट
जाजरकोटमा कांग्रेसका राजीवबिक्रम शाह र वामगठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्व गृहमन्त्री शक्ति बस्नेत प्रत्यासी छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दल प्रतिस्पर्धात्मक अवस्थामा रहेको जिल्लामा वामगठबन्धनपछि कांग्रेसलाई अप्ठ्यारो हुने देखिन्छ ।
यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० को निर्वाचनमा १ बाट बस्नेत र २ बाट शाह निर्वाचित भएका थिए । त्यसबेलाको निर्वाचन परिणामअनुसार, जिल्लाभरबाट वामगठबन्धनले ३० हजार ४४१ र लोकतान्त्रिक गठबन्धनले १९ हजार ४४७ मत प्राप्त गरेका थिए ।
वामगठबन्धनको मत अत्यधिक भए पनि दुईमध्ये एकलाई छान्नुपर्ने अवस्थामा शाह नै रोजाइमा पर्ने कांग्रेस पक्षधरहरूको दाबी छ ।
लमजुङ
एउटा मात्रै निर्वाचन क्षेत्र भएको लमजुङमा वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका देव गुरुङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका दिलबहादुर घर्ती मैदानमा छन् ।
पहिलो संविधानसभामा गृहजिल्ला मनाङ र कास्की दुवैबाट निर्वाचित गुरुङ दोस्रो संविधानसभामा भने निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीमा थिए । त्यसपछि माओवादी केन्द्रमा फर्किएका उनी अहिले लमजुङबाट प्रतिस्पर्धी बनेका छन् । विपक्षीहरू गुरुङलाई ‘टुरिस्ट’ उम्मेदवार भन्छन् ।
यसअघि दुईवटा निर्वाचन क्षेत्र रहेको लमजुङमा १ बाट एमाले र २ बाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला दलहरूलाई प्राप्त मत र निर्वाचनकेन्द्रित गठबन्धनलाई विश्लेषण गर्ने हो भने, वामगठबन्धनलाई ३७ हजार ७२४ र लोकतान्त्रिक गठबन्धनलाई २८ हजार ९१ परेको देखिन्छ ।
राष्ट्रियसभाका सचेतक, कांग्रेस केन्द्रीय सदस्य र संसद्को राज्यव्यवस्था समितिको सभापति रहिसकेका घर्ती गिरिजाप्रसाद कोइरालाका प्रिय मानिन्थे । दुई पटक मन्त्री भइसकेका गुरुङ भने वामगठबन्धनको धेरै मत रहेकाले आफूले जित्ने दाबी गर्छन् ।