मस्तिष्कको कसरत: फिल्म गाँठो
आँखाले कम, मस्तिष्कले बढी हेर्नुपर्ने चलचित्र गाँठो भुषालको निम्ति जोखिमपूर्ण प्रयोग हो।
-शिव मुखिया
निर्देशक सुरज भुषालले अघिल्लो पटक युवा सपना, प्रेम र सम्बन्धको कथा पस्किएका थिए– चलचित्र 'होस्टल रिटर्न्स' मार्फत। मनोरञ्जनका सबै खुराक मिसाइएको उक्त चलचित्रको 'ह्याप्पी इन्डिङ' सगै दर्शक आनन्दानुभूति गर्थे।
अहिले प्रदर्शनमा रहेको उनको अर्को चलचित्र गाँठो ले भने दर्शकलाई अर्कै माथापच्चीमा पुर्याउँछ। हलबाट बाहिरिंदै गर्दा दर्शकको दिमागमा अनेकौं प्रश्न झुत्ती खेल्छन्– बुवा कसरी मारिए? सम्राट किन हिंस्रक बन्यो? विष्णुको परिवार किन विखण्डित भयो? इत्यादि।
एकघण्टा तीस मिनेटको चलचित्र सकिंदासम्म दर्शकका दिमागमा थुप्रै प्रश्न उब्जिसक्छन्। पहिलो हाफसम्म रहस्यमय सम्बन्धमै रुमल्लिएको चलचित्रले दोस्रो हाफमा ती सम्बन्धलाई पत्र–पत्रमा केलाउँदै जान्छ, तर एकपछि अर्को घटनाहरूले चलचित्रलाई रहस्यमय बिन्दुमै टुंग्याइदिन्छ।
रहस्यको कथामा जेलिएका प्रमुख तीन पात्र छन्– सम्राट, सिमरन र विष्णु। सम्राट कुण्ठित–संकुचित पात्र हुन्। उनमा यस्तो स्वभाव किन पैदा भयो भन्ने खोजी र सामाजिक जीवनमा कसरी फर्काउने भन्ने प्रयाससँगै कथाले नसोचेको मोड लिन्छ।
खासमा 'बाइपोलार डिसअर्डर' ग्रस्त युवाको कथा हो– गाँठो । मेनियाक, डिप्रेसिभ र नर्मल तीनै चरणबाट गुज्रने युवा मनोदशाले चलचित्रमा ल्याउने उतार–चढाव दर्शकले सोच्नै भ्याउँदैन।
चित्रकला प्रदर्शनीमा पुगेकी सिमरनको आँखा एउटा अमूर्त चित्रमा अडिएपछि दर्शकको मथिङ्गल हल्लाउने कथा तन्किएर जान्छ। मनोविज्ञानमा स्नातक गरिरहेकी सिमरन त्यही चित्रमाथि शोध गर्ने मनस्थितिमा पुग्छिन्। त्यसक्रममा चित्रकारलाई पनि भेट्नुपर्ने भयो, तर सिमरनले सोचेजस्तो सजिलो हुन्नन्, सम्राट।
अनेक प्रयासपछि भेट त हुन्छ, तर निरर्थक। एक वाक्यमा कुरा सक्ने नशालु सम्राटमा सिमरनले 'सोसल फोविया' को लक्षण पाउछिन्। भेटघाट दोहोरिंदै जाँदा भने सम्राट अनपेक्षित रुपमा खुल्दै जान्छन् र अन्ततः यस्तो अवस्था पनि आउँछ, उनलाई सिमरनको उपस्थिति रुचिकर लाग्न थाल्छ। त्यही निकटताले संकट निम्त्याउँछ।
सिमरनलाई खोज्दै विष्णुको ग्यालरीमा पुगेका सम्राटलाई विष्णु र आफू दाजुभाइ भएकोमा शंका लाग्न थाल्छ। सम्राटकै मुखबाट 'म अनाथालयमा हुर्किएको अनाथ हुँ' भन्ने सुनेकी सिमरन भने उनले मायाममता नपाएको निष्कर्षसहित पारिवारिक पृष्ठभूमि बुझ्नेतर्फ लागेकी हुन्छिन्। र, जब सम्राट र विष्णु एकै बुवाका छोरा हुन् भन्ने खुल्छ, तब कथाले अर्को मोड लिन्छ।
परिवारको माया, संरक्षण गुमाएका मानिसहरूमा हीनताबोध पैदा हुन्छ। उनीहरू समाजबाटै भाग्न खोज्छन्। यस्ता मानिसहरू 'बाइपोलार डिसअर्डर' भनिने मनोरोगको शिकार हुन्छन्। समाजकै निम्ति प्रत्युत्पादक बन्न सक्ने यो विषयलाई निर्देशक भुषालले फिल्ममा प्रस्तुत गरेका छन्। गाँठो मा न 'अर्ग्यानिक' भनिने कथा छ न त रोमान्स र द्वन्द्वको जबर्जस्त मिश्रण। प्रयोगको हिसाबले 'आर्ट मूभी' जस्तो लाग्ने यो फिल्मलाई रंग संयोजन, ध्वनि र दृश्यको बेजोड प्रस्तुतिले सम्झनलायक बनाएको छ। आवाजविहीन जोडीको प्रेमिल सम्बन्धमाथि चलचित्र 'मौन' बनाएका भुषालको निम्ति गाँठो जोखिमपूर्ण प्रयोग हो।
फिल्ममा पोखरा आसपासका दृश्यहरू छन्। चरित्र र घटनाको संवेदनशीलता अनुसार प्रयोग गरिएको फ्रेम अर्थपूर्ण लाग्छ। ऊ सामाजिक जीवनबाट टाढा छ भन्ने जनाउन सम्राटलाई वाइड सटमा खिचिएको छ। बावुको हत्यापछि घडी मिल्काएको सम्राट अक्सर रुखको छहारीमा बस्छ, आकाश हेरेर टोलाउँछ। यस्ता प्रतीकात्मक दृश्यहरूले नरेन मैनालीको सिनेम्याटोग्राफीलाई तारीफयोग्य बनाएको छ। जेशन कुँवरले ध्वनिबाट दृश्यलाई शक्तिशाली बनाएका छन्।
कहिले शान्त, कहिले उदास र छिनमै आक्रामक हुने बाइपोलार डिसअर्डरग्रस्त युवकको अभिनयमा सशक्त देखिएका छन्, नजिर हुसेन पनि। नम्रता श्रेष्ठ जिज्ञासु र दयालु युवतीको भूमिकामा जमेकी छन्। अभय बरालले विल्कुलै स्वाभाविक अभिनय गरेका छन्। यति हुँदाहुँदै पनि फिल्ममा विरोधाभाषपूर्ण दृश्य र संवादले ठाउँ पाएको छ। निर्देशकले सम्राटको चरित्र स्थापित गर्न धेरै समय खर्चिएका छन्।
-शिव मुखिया
चलचित्र: गाँठो
निर्देशक: सुरज भुषाल
कलाकार: नजिर हुसेन (सम्राट), अभय बराल (विष्णु), नम्रता श्रेष्ठ (सिमरन)