वृत्तचित्रको गन्तव्य बन्दै नेपाल
काठमाडौंमा भर्खरै मात्र दक्षिणएशियाली वृत्तचित्रको महोत्सव फिल्म साउथएशियाको ११औं संस्करण (२–५ नोभेम्बर) सकियो । १४–१८ डिसेम्बरमा राजधानीमै हुने अर्को चलचित्र महोत्सव काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) का लागि पारखीहरू उत्साहित भइरहँदा छोटो, मीठो लघु चलचित्रको अर्को मेलाले उपत्यकालाई न्यानो बनाइरहेको छ । चारदिने ‘एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ को पाँचौं संस्करण आज सकिंदैछ ।
‘लेट देयर बी लाइट’ विषयमा केन्द्रित यो महोत्सवमा २१ नेपाली फिल्म सहभागी छन् । क्यूएफएक्स कुमारी हलका अतिरिक्त केही विशेष चलचित्रहरू काठमाडौं, पाटन र भक्तपुरका दरबार स्क्वायरहरूमा निःशुल्क देखाइएको फेस्टिभलका संयोजक सुरज पौडेल बताउँछन् ।
प्रतिस्पर्धात्मक ‘चेन्जिङ पर्सपेक्टिभ’ सेक्सनमा न्यारेटिभ शैलीमा प्रस्तुत गरिएका २० फिल्मबाट उत्कृष्टलाई पुरस्कृत गरिनेछ । पौडेलका अनुसार, ‘फ्युचर अफ सिनेमा’ सेक्सनमा उदीयमान चलचित्रकर्मी विद्यार्थीका १७ वटा फिल्म पनि सहभागी छन् ।
यसबाहेक ‘पावर’ सेक्सनका चलचित्रमा महिलाका विषयमा नेपाल र विदेशमा बनाइएका १८ वटा विशेष चलचित्र पनि छन् । महोत्सवमार्फत १७ वटा फिल्मको ‘वल्र्ड प्रिमियर’ र ८२ वटा फिल्मको ‘नेपाल प्रिमियर’ भइरहेको छ ।
कला मञ्च
पाँच वर्षअघि एक दिनमा १० वटा नेपाली लघु चलचित्र देखाएर शुरु गरिएको एकादेशमा महोत्सवमा यो वर्ष ४६ देशका ४०० फिल्मबाट ९९ वटा
छनोटमा परे । “हरेक वर्ष सहभागिता बढ्दैछ” फेस्टिभलका निर्देशक सोहम ढकाल भन्छन्, “महोत्सव देशी–विदेशी चलचित्रकर्मीका लागि गतिलो मञ्च बन्दैछ ।” नेपाली चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न थालिएको महोत्सवले नसोचेको सफलता पाएको उनको भनाइ छ । “नेपाली फिल्म तथा निर्माताको अन्तर्राष्ट्रिय रुपमा पहुँच बढ्दै जानु पनि एकादेशमा को सफलता हो”, उनी भन्छन् ।
चलचित्रबारे गहन छलफल र बजार विस्तारका लागि यस वर्षदेखि ‘एकादेशमा फिल्म ल्याब’ र ‘एकादेशमा पिच पीट’ शृंखला पनि समावेश गरिएको छ । ल्याबमा विदेशी निर्देशक र निर्माता समेतको सहभागितामा पटकथा लेखन, लगानी, निर्माण र वितरणबारे विमर्श गरिएको थियो भने पिच पीटमा चलचित्रकर्मीहरूले आफ्ना ‘आइडिया’ लाई सम्भावित निर्माताहरूसँग प्रस्तुत गरेका छन् । “यस्ता शृंखलाले चलचित्र निर्माणको नयाँ शैली मात्र होइन, विश्व बजार बुझाउँछ”, फेस्टिभलका कला निर्देशक अविनाशविक्रम शाह भन्छन् ।
फेस्टिभलमा गत वर्षदेखि दक्षिणएशियाका एक देशका चलचित्रलाई केन्द्रित गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष बाङ्लादेशका ११ वटा चलचित्र छनोटमा परेका छन् । फिल्मको प्रदर्शनीसँगै आइतबार ‘साउथ एशियन कोअपरेशन’ बारे विशेष छलफल गरिनेछ । “लघु चलचित्रको यो महोत्सव विस्तारै बृहत् बन्दैछ”, शाह भन्छन् ।