हलेसीका पुजारीलाई कुशबिर्ता (इतिहास)
सेन राजाले हलेसीका गिरी गोसाईं पुजारीलाई स्याहामोहर लेखिदिएको साढे तीन सय वर्ष पुग्न लागेको छ।
मुनिमुकुन्द सेनले आर्जेको राज्य छोरानातिमा भागबण्डा हुँदा कान्छा छोरा लोहाङ्ग सेनको नेतृत्वमा जितेको नारायणी पूर्व सुखिम सीमासम्मको ठूलो भूभागको राजधानी मकवानपुर नै रह्यो ।
लोहाङ्ग सेनका नाति हरिहर सेन हिन्दूपति कहलिएर शासन गर्दथे । हरिहरका छोरा शुभ सेन हुन् ।
शुभ सेनका जेठा छोरा महीपति सेन र कान्छा मणिक सेन भए (गताङ्कको हिमाल मा लेख्ता यी दुई भाइमा जेठो कान्छोमा व्यत्यय परेको छ) ।
महीपति कमलापूर्वको सबै भाग स्वतन्त्र पारी विजयपुर राजधानीमा बसी शासन गर्न लागे । कान्छा मणिक सेन कमलापश्चिमको मकवानपुर राज्यमा सीमित भए ।
मणिक सेनका छोरा हेमकर्ण सेनकी छोरी पृथ्वीनारायण शाहलाई दिइएको थियो । तर, छोरी गरीब राजघरानामा परी भनी हेमकर्णले मैतालु पठाएका थिएनन् । मैतालु लिन आउँदा जेठान दिग्वर्धन सेनसँग पृथ्वीनारायणको खडाजङ्गी परेको थियो ।
गताङ्कमा महीपति सेनले तुलादानमा नारायण कोइरालालाई दिएको वितलप र बेपत्ता भएका त्र्यम्वक तिमसिनाको बिर्ता स्याहामोहरको विवरण दिइसकेको छु । त्यसभन्दा पहिले शुभ सेनले हलेसीका पुजारी यज्ञ गिरी गोसाईं र पूर्ण गिरी गोसाईं शैव सन्न्यासीलाई सं. १७३१ मा दिएको बिर्ता जग्गाको स्याहामोहर यहाँ प्रस्तुत गरेको छु ।
त्यसवेला शुभ सेनको मुकाम फालिकोट थियो । फालिकोट भोजपुरको दिङ्गला पश्चिम र सदरमुकाम भोजपुर पूर्व अरुण नदी छेउमा पर्छ । राजा बस्ने त्यो किल्ला ठूलो हुँदो हो । शुभ सेन देश भ्रमण गर्दै शासन व्यवस्था मिलाउँदै जाने सिलसिलामा त्यतिपर पुगेका हुनन् । उनले माझकिरातको पूर्वी किल्लाबाट पश्चिमान्तको खार्पा बिर्ता दिएको देखिन्छ ।
हलेसीका पुजारी सन्न्यासीले रावाखोला पश्चिमको पाखो खार्पा बिर्ता घडेरी पाएका छन्, खर्कको नाम छैन । सिमले, बालुवा र ज्यामिरे खेत दिइएको छ । बालुवा खेत चाहिं रामसिंह कार्कीको खायल मध्येको हो भनिए पनि अरूकै लिएर दिएको बुझिन्छ ।
त्यतिवेला शुभ सेनका छोराहरूले छुट्टी भिन्न राज्य बनाइसकेका थिएनन् । त्यसो हुँदा शुभ सेनको राजधानी मकवानपुरमै थियो । त्यहींबाट राजासँगै गएका दलखम्ब बानियाँ र हंसध्वज कार्की प्रवानगी (सन्न्यासीका बिर्ताको प्रमाङ्गी गराउने) अधिकारी रहेका छन् ।
पछि पोख्रेलहरू बसेको खार्पा घडेरी प्रसिद्ध स्थान भयो । हेर्दा यो भिरालो पाखो छ । चैत–वैशाखमा काला पाप्रे ढुङ्ग्यान भएका स–साना पाटा बारी उराठलाग्दो देखिन्छन् ।
खार्पा–मांखा–चार्खुका पोखे्रलहरूको रइस चाला रावाखोला किनारको खेतको धान, ऐंसेलुखर्कको गोरस र मधेशको बिर्ताको जिमिदारीले जमेको थियो । खार्पाको प्रसङ्ग मैले सानैमा आमैले आफ्ना माइतीको वर्णन गर्दा सुनेको थिएँ ।
यो गिरी पुजारीको गूठबिर्ता कसरी पोखे्रलकोमा पुग्यो ? यसबारे आगामी अंकमा पछि छलफल गरिनेछ । सन्न्यासीहरूलाई पायक पर्ने यो बिर्ता रैकर भई चौतरिया राईका मातहतमा रहेको कुरा उनै राईलाई राजाले लेखेको चिठीबाट बुझ्न्छि ।
खार्पा बिर्ता पाउने हलेसीका पुजारी यज्ञ गिरी र पुरन (पूर्ण) गिरी गृहस्थ सन्न्यासी थिएनन्, त्यसैले गोसाईं भनियो । पछि चाहिं गृहस्थीमा परिणत भएको बुझिन्छ । अघि भोजपुरको आहालेमा पनि गिरी, पुरी, भारती सन्न्यासीहरू थिए । पछि उनीहरू सबै गृहस्थ बनेर चतरा गुठीको जग्गा आवाद गरेका हुन् ।
चतराका महन्तको अधीनमा अलवल्य धनसम्पत्ति र गुठी जग्गा थियो । सेन राजाका एक राजकुमारले शिखासूत्र त्यागी सन्न्यास लिएर आफ्ना अधीनको बाह्र हजार बिघा जमीन चतरामठमा अर्पण गरेको अनुश्रुति छ ।
बराहक्षेत्रका पुजारी चतराकै महन्तले नियुक्त गर्थे, पूजा खर्च चतराबाटै आउँथ्यो । पिण्डेश्वरमा चतरा गुठीबाटै पूजा चल्थ्यो । पछि चतराकै आम्दानीबाट पिण्डेश्वर महाविद्यालय स्थापित भएको कुरा पहिले पनि उल्लेख गरिएको हो । त्रिवेणीमाथिको विकट डाँडामा रहेको मैना स्थानको पूजा पनि चतरा गुठीबाटै सञ्चालित छ ।
शिवको दैनिक पूजा गर्ने प्राचीनकालदेखि नै सन्न्यासी हुन्थे । भारतवर्षभरिका ज्योतिर्लिङ्गमध्ये सर्वश्रेष्ठ पशुपतिदेवको ज्योतिर्लिङ्ग शिर मानिन्छ । सबै ज्योतिर्लिङ्ग दर्शन गरेपछि पशुपतिको दर्शन नगरिकन फल पाइँदैन, तीर्थयात्रा पूर्ण हुँदैन भन्ने मान्यता छ ।
लिच्छविकालमा पशुपतिका पुजारी प्रणद्र्द प्राणकौशिक थिए । वर्णाश्रमबाट सन्न्यास धर्म लिएका हुँदा उनी पशुपतिका महन्त स्वामी पुजारी भए । पछि पनि सन्न्यासी नै पुजारी भए । पशुपतिको आगम घरमा रहेका दक्षिणी भट्टले स्वामीलाई दीक्षा मन्त्र सुनाउने, पूजाविधि सिकाउने गर्थे ।
पछि मल्ल राजासँग मनमुटाव बढेर दण्डी स्वामी राघवानन्द सन्न्यासी पूजा छोडेर हिंडेपछि उपान्त्य मल्ल राजाले दक्षिणी गृहस्थी भट्ट ल्याएर पूजा गर्न थालियो, आजसम्म यही चलिरहेको छ ।
चतरा मठका महन्तले आफ्नो गूठजग्गाको लहनतहन मिलाउन आफ्नै चेलाचपेटा पठाएका हुनन् । पछि तिनै गृहस्थमा परिणत भएजस्तै हलेसी महादेवका पुजारी पनि पहिले सन्न्यासी नै थिए हुनन् । पछि ती सबै गृहस्थ भए पनि सन्न्यस्त हुदाको गिरी, पुरी, भारती आदि पुरानो उपाधिलाई थरको रूपमा लिन छाडेनन् ।
शुभ सेनले गिरी गोसाईंहरूलाई गरिदिएको स्याहामोहर
वि.सं. १७३१
स्वस्ति श्रीरुपनारायणेत्यादि–विविधविरुदावलीविराजमान–मानोन्नत–महाराजाधिराज–श्रीहिन्दुपति–माहाराजकुमार– श्रीश्रीशुभसेनदेवानाम्सदासमरविजयिनाम्...
आगे यज्ञगिरि गोसाईं पुरनगिरि गोसाईं कुशवीर्ता दिहल रावामध्ये खेत ३ ताके तपसिल– सिमल्याखेत १औं रामसिंह कार्कीक खायलमध्ये बालुवा खेत १ औ ज्यामिरिया खेत १ असकै खेत लिनी कुस बिर्ता दीहल आपना वही अम्बल करथु विर्तीयाक सरहसै खिजमति करैके औ रावा मध्ये घराडी खार्पा दीहल. इति सम्वत् १७३१ साल भदौ वदि ११ मोकां फालिकोट
प्रर्वानगी दलखम्ब बानिया हंसध्वज कार्कि