किन हुन्छ मधुमेह
मानसिक तनाव, खानपानमा पश्चिमाकरण, शारीरिक परिश्रमको कमी लगायतका कारणले नेपालमा मधुमेह रोगीको संख्या बढ्दो छ।
हरेक नोभेम्बर १४ तारिखमा विश्वभर मधुमेह दिवस मनाइन्छ । नेपालमा पनि करीब २५ लाख जनसंख्या मधुमेहबाट प्रभावित भएको आकलन गरिसकिएको छ ।
नेपालमा मधुमेहबाट प्रभावित २५ लाखमध्ये करीब ९७ प्रतिशत वयस्क उमेरका छन् । मोटोपना र उच्च रक्तचाप भएका शहरी बासिन्दालाई मधुमेह हुने सम्भावना बढी हुन्छ । परिवारमा कोही मधुमेह प्रभावित छन् भने त तन्दुरुन्त युवा पनि जोखिममा हुन्छन् ।
शरीरमा इन्सुलिन उत्पादन नहुँदा वा इन्सुलिनको काममा अवरोध हुँदा रगतमा चिनीको मात्रा बढ्ने समस्यालाई मधुमेह भनिन्छ । मधुमेह भएका व्यक्तिको शरीरमा बोसो र प्रोटिन टुक्रिने क्रिया पनि प्रभावित हुन्छ ।
मधुमेहले शरीरको हर अंगलाई असर पुर्याउँछ । लामो समयको मधुमेहले आँखालाई बढ्ता असर गर्छ । चाँडै मोतिविन्दु हुनु, रेटिनामा समस्या आउनु र अन्धोपना यसका उदाहरण हुन् ।
मधुमेहले एकातिर रक्तचाप, मुटु दुख्ने र हृदयघात निम्त्याउँछ भने अर्कोतिर मिर्गौलाको कार्य क्षमतालाई असर गरी प्रोटिन खेर फाल्ने गराउँछ । जीउ सुन्निने हुँदाहुँदै मिर्गौलालाई काम नलाग्ने गराउँछ ।
मधुमेहले मस्तिष्क र स्नायु प्रणालीमा असर गरी संवेदनाको कमी गराउने, रिंगटा लाग्ने, स्मरण शक्ति ह्रास र पक्षघात पनि गराउन सक्छ ।
पहिलो प्रकारको मधुमेहले प्यान्क्रियाज ग्रन्थिको इन्सुलिन उत्पादन कोष नष्ट गराउँछ । यस्तो खालको मधुमेह कलिलो उमेरमै देखा पर्छ । यो वंशाणुगत पनि हुन्छ । यस्तो मधुमेह रोक्न सकिंदैन । उपचारमा इन्सुलिन नै चाहिन्छ ।
दोस्रो प्रकारको मधुमेहमा इन्सुलिनको कार्य क्षमतामा कमी आउँछ । मोटोपना भएका वयस्क महिलामा यो खालको मधुमेह देखा पर्छ । यसको उपचारमा औषधि सेवन र जीवनशैली परिवर्तन गर्नुपर्छ ।
कारण र उपचार
हामीले खाएको खाना आमाशयमा पुगेपछि विस्तारै पचेर ग्लुकोजमा परिणत हुन्छ । यही ग्लुकोज आन्द्राबाट सोसिएर रगतमार्फत शरीरका कोषहरूमा पुग्छ ।
कोषहरूमा ग्लुकोज पुर्याउन प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनले सहयोग गर्छ । तर, मधुमेह हुँदा कोषले रगतमा रहेको ग्लुकोज लिएर शक्ति प्राप्त गर्दैन । रगतमा पनि चिनीको मात्रा बढ्न जान्छ । रगतमा चिनीले निश्चित मात्रा नाघ्यो भने पिसाबमा ग्लुकोज देखिन थाल्छ ।
यसैले पहिले खुल्ला ठाउँमा पिसाब गर्दा कमिला झुम्मियो भने (मधुमेह) रोग लागेको शंका गरिन्थ्यो । मधुमेह पूर्ण रूपमा निको पार्न सकिंदैन, नियन्त्रणमा राख्न मात्र सकिन्छ ।
त्यसका लागि नियमित आहार, व्यायाम, इन्सुलिन वा औषधि सेवन गर्नुपर्छ । मधुमेह प्रभावित व्यक्तिले हिंड्ने र व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।
त्यसो गर्दा शरीरका कोषहरूले ग्लुकोजको खपत बढाएर रगतमा ग्लुकोजको मात्रा घटाउँछ । एक अध्ययन अनुसार, आधा घण्टामा तीन किलोमिटर हिंडे १३५ क्यालोरी खर्च हुन्छ भन्ने देखाएको छ । त्यस्तै, साइकल चलाउँदा २०० क्यालोरी खर्च हुन्छ भन्ने छ ।
भोको पेटमा बिहानै योगाभ्यास गर्नु मधुमेहका लागि प्रतिकूल मानिन्छ ।
मधुमेह रोगीका लागि उपयुक्त खाना र व्यायाम अत्यन्त आवश्यक छ । उपवास बस्नुहुँदैन, निश्चित समयमा खाना खाने बानी बसाउनुपर्छ ।
सागपात, काँक्रो, गोलभेंडा, प्याज, लसुन, कागती, चना वा गहुँको पीठोको रोटी बढी फाइदाजनक हुन्छ । ठिक्क मात्रामा नरिवल, काजु जस्ता ड्राईफ्रूट्स, मासु, अण्डा खानुपर्छ ।
मेथी र करेला मात्र खाएर जीवनलाई कष्टकर बनाउनुहुँदैन । नून, चिनी, घ्यू, तेल, दुग्ध पदार्थ, मेवा, मिठाई, आइसक्रिम, चकलेट चाहिं सकेसम्म खानुहुँदैन । धूमपान, मद्यपान पनि गर्नुहुँदैन ।
मधुमेह प्रभावित व्यक्तिले रक्तचाप, रगतमा चिनी, बोसो (कोलेस्टेरोल) र मिर्गौलाको कामगराइको नियमित परीक्षण गराउनु त अनिवार्य नै हुन्छ । त्योसँगै आँखा र मुटु परीक्षण गराउनुपर्छ ।
मधुमेहले नसामा असर गर्दा घाउचोट लागेको थाहा हुँदैन, यसको हेक्का राख्नुपर्छ । भोकै बस्दा शरीरमा रगतको मात्रा स्वाट्टै घटेर जटिल स्थिति आउन सक्छ ।
सामान्य तौल भएका मानिसलाई २००० देखि २५०० किलो क्यालोरी प्रतिदिन र मोटोपना भएकालाई १२०० देखि १८०० किलो क्यालोरी डाइट प्रतिदिन आवश्यक पर्छ ।
त्यसमा कार्बोहाइड्रेट ५० प्रतिशत, प्रोटिन २० प्रतिशत र चिल्लो पदार्थ २५ देखि ३० प्रतिशत हुनुपर्छ । खाना रेसादार हुनुपर्छ । एकैपटक धेरै खाना खानुभन्दा पटक–पटक खाँदा राम्रो हुन्छ ।