प्रदेश–१ः अप्ठ्यारोमा 'हेभिवेट'
गोपाल गडतौला, झापा
२०२८ सालको झापा विद्रोहदेखि वामपन्थी संगठन बनाएको पुस्ता अझै सक्रिय रहेको छ । यसकारण पनि एमालेमा यसपालि आकांक्षी व्यवस्थापन गाह्रो विषय थियो ।
झापामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) बीच बनिसकेको चुनावी गठबन्धन उम्मेदवारी मनोनयन दर्ताभन्दा दुईदिनअघि भत्कनुको कारण थियो– क्षेत्र नं. ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनको चर्काे राजनीतिक टकराव ।
राप्रपाले देशभरका सात संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर बाँकीमा वाम गठबन्धन विरुद्ध कांग्रेसलाई सघाउने पक्कापक्की जस्तै कुरा आइरहेको थियो । त्यसअनुसार, सिटौलाको नाम कांग्रेसको समानुपातिक सूचीको सिरानमा राखेर उनलाई देशभर चुनावी अभियानको नेतृत्व गराउने कांग्रेसको तयारी थियो ।
तर अन्ततः कांग्रेसले प्रदेश–१ का २८ मध्ये २७ क्षेत्रमा उम्मेदवारी नदिएर कांग्रेसलाई सघाउन तयार राप्रपाको लागि झापा क्षेत्र नं. ३ पनि छोडेन । स्थानीय तह निर्वाचनमा यो क्षेत्रका दुईवटा गाउँपालिकामा विजयी बनेको राप्रपाले पनि सिटौलासँग धेरै सम्झौता गरिरहन चाहेन । परिणाम, जिल्ला सदरमुकाम चन्द्रगढीमा १६ कात्तिकमा उम्मेदवारी दर्तापछि राप्रपा नेता लिङ्देनले पत्रकारहरूसँग भने, “झापा क्षेत्र नं. ३ मा लोकतान्त्रिक होइन, राष्ट्रवादी र वामपन्थीबीच गठबन्धन भयो ।”
त्यही दिउँसो झापा क्षेत्र नं. ५ को लागि उम्मेदवारी दर्ता गर्न काठमाडौंबाट आइपुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चिरपरिचित शैलीमा भने, “धोकासँगै जन्मेको कांग्रेसले अप्ठ्यारोमा पारिदिएको राप्रपालाई हामीले साथ दिएका छौं । कांग्रेसलाई पत्याएर राप्रपाका केही समय मूर्ख भयो । एमालेले सबैलाई समेट्नेछ ।”
अप्ठ्यारोमा सिटौला
यसरी अन्तिम समयमा भएको एमाले–राप्रपा मिल्तीले शान्ति प्रक्रियाका प्रमुख पात्रहरूमध्येका एक सिटौलालाई झापा क्षेत्र नं. ३ मा अप्ठ्यारोमा पारेको विश्लेषण गरिंदैछ । यो निर्वाचन हारे भने कांग्रेसको भावी नेतृत्वको रूपमा हेरिएका उनको राजनीतिक भविष्य संकटमा पर्छ भनिंदैछ । यद्यपि, झापा जस्तो राजनीतिक रूपमा सचेत ठाउँका मतदाताले दक्षिणपन्थी दललाई जिताउन लोकतन्त्रका लागि लडेका नेतालाई हराउने आशा गर्न नसकिने विश्लेषण गर्नेहरू पनि धेरै छन् ।
सिटौलाले मनोनयन दर्ता गरेपछि ‘झापामा कांग्रेस विरुद्ध अचम्मको गठबन्धन भएको’ संक्षिप्त प्रतिक्रिया दिए । उनका लागि अहिले झापा क्षेत्र नं. ३ त्यसै पनि सजिलो छैन । २०५० सालको उपनिर्वाचनबाट एमालेको लालकिल्ला तोडेका कांग्रेस नेता सिटौलालाई तीनपटक जिताउँदा पनि विकास नगरेको मतदाताहरूको गुनासो छ । “उनी काठमाडौंमा देशका ठूलो नेता बने होलान्, तर यहीं बस्ने हामीलाई त बर्खामा हिलो र हिउँदमा धूलो हुने सडकको स्तरोन्नति चाहिन्छ” भद्रपुर–९ का मतदाता पूर्णप्रसाद रिजाल भन्छन्, “ठूला नेताले चुनाव जितेर विकास गर्नुहुँदैन भन्ने पनि छैन होला !”
गत स्थानीय निर्वाचनमा झापा क्षेत्र नं. ३ मा कांग्रेसको २० हजार ५४५, एमालेको १९ हजार ८८०, राप्रपाको १४ हजार १०५ र माओवादी केन्द्रको ९ हजार ५८८ मत थियो ।
मैदानका अन्य खेलाडी
झापा क्षेत्र नं. ५ मा एमालेका ‘हेभिवेट’ उम्मेदवार ओलीसँग कांग्रेसले पार्टी वृत्तमै नयाँ अनुहार डा. खगेन्द्र अधिकारीलाई भिडाएको छ । गौरादहका अधिकारी पहिलोपटक उम्मेदवार बनेका हुन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा एमालेले २९ हजार ४६०, कांग्रेसले २३ हजार २५० र माओवादीले १३ हजार ५८३ मत पाएका थिए ।
झापा क्षेत्र नं. १ मा वाम गठबन्धनबाट माओवादी नेता राम कार्कीसँग कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भिड्दैछन् । पहिलो संविधानसभा निर्वाचन (ताप्लेजुङ क्षेत्र नं. १) मा पराजित उच्च तहका एक मात्र माओवादी नेता कार्की झापाका मतदाताका लागि नयाँ हुन् । कांग्रेस वृत्तले शर्माको लोकप्रियता बाहेक कार्कीको उम्मेदवारीलाई पनि आफ्नो सहज जितको आधार मानेको छ ।
त्यस्तै, झापा क्षेत्र नं. २ मा वाम गठबन्धनले एमालेकी पूर्व जिल्ला सचिव पवित्रा खरेललाई उठाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका सुधीर शिवाकोटीसँग पराजित खरेल प्रदेश–१ मा संघीय संसद्को लागि प्रत्यक्षतर्फकी एकमात्र महिला उम्मेदवार हुन् ।
स्थानीय निर्वाचनमा एमाले र माओवादीका उम्मेवारहरूले यो क्षेत्रमा कुल ३६ हजार २२७ मत पाएका थिए, जुन कांग्रेसले पाएको भन्दा १३ हजार ६४१ बढी हो । यो भोट संख्याले खरेललाई बलियो देखाउँछ । उनीसँग कांग्रेसका झापा सभापति उद्धव थापाले प्रतिस्पर्धा गर्दैछन् । थापा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका प्रेम गिरीसँग पराजित भएका थिए ।
झापा क्षेत्र नं. ४ मा कांग्रेसका जिल्ला उपाध्यक्ष देउकुमार थेवे र एमालेका एलपी साँवा प्रतिस्पर्धामा छन् । थेवे पहिलो पटक संसदीय निर्वाचनमा उत्रिएका हुन् भने वैदेशिक रोजगार उद्यमी साँवा एमालेको तर्फबाट दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए । उतिबेला ‘टुरिष्ट’ उम्मेदवार भनिएका साँवाले पछिल्लो चार वर्ष यो क्षेत्रमा मिहिनेत गरेका छन् । गत स्थानीय निर्वाचनमा झापा क्षेत्र नं. ४ मा कांग्रेसले २२ हजार ९२९, एमाले–माओवादीले ३६ हजार ११३ मत पाएका थिए ।
आन्तरिक असन्तुष्टि
२०२८ सालको झापा विद्रोहदेखि वामपन्थी संगठन बनाएको पुस्ता अझै सक्रिय रहेको छ । यसकारण पनि एमालेमा यसपालि आकांक्षी व्यवस्थापन गाह्रो विषय थियो । त्यसमाथि माओवादी र राप्रपासँग समेत गठबन्धन भएकोले टिकट बाँडफाँड विवादित बन्यो । टिकट नपाएका पुराना कार्यकर्ता पदम पौडेल त कांग्रेसमा प्रवेश नै गरे ।
उनी २०४३ सालमा आफ्नै बाबु उद्धव पौडेल विरुद्ध उठेर तोपगाछी गाउँ पञ्चायत (अहिले कमल गाउँपालिका) को जनपक्षीय प्रधानपञ्च बनेका थिए । त्यसवेला उनी २३ वर्षका थिए । २०४९ र २०५४ सालमा भारी मतका साथ तोपगाछी गाविस अध्यक्षमा निर्वाचित भएका उनी २०६१ सालमा माओवादीले जेठान कृष्ण खड्काको हत्या गरेपछि काठमाडौं विस्थापित भएका थिए । गत १४ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको कमल गाउँपालिका निर्वाचन परिचालन संयोजक रहेका पौडेल वाम गठबन्धनको नाममा एमालेको माओवादीकरण भएकोले पार्टी परित्याग गरेको बताउँछन् ।