वृत्तचित्रमा दक्षिणएशिया
दक्षिणएशियामै ख्याति कमाएको वृत्तचित्र उत्सव फिल्म साउथएशियाको ११औं संस्करण १६ कात्तिकदेखि शुरू हुँदैछ।
कुनै वेला व्यावसायिक फिचर फिल्मको ओझेलमा परेको वृत्तचित्र विधा अचेल समाजको ध्यानाकर्षण गर्न सफल हुँदैछ । त्यसैको फेरोमा १६–१९ कात्तिकसम्म पाटनको यलमाया केन्द्रमा फिल्म साउथएशिया (एफएसए) हुँदैछ, जहाँ यो उपमहाद्वीपका उत्कृष्ट वृत्तचित्रहरू प्रदर्शन गरिनेछन् ।
दक्षिणएशियाको सांस्कृतिक राजधानी काठमाडौं उपत्यकामा वृत्तचित्रको यो द्विवार्षिक उत्सव सन् १९९७ देखि शुरु भएको हो । यो अवधिमा उत्सवले वृत्तचित्रको विस्तार, निर्देशक र निर्माताहरूलाई मञ्च उपलब्ध गराउने मात्रै होइन, अभिव्यक्तिको यो माध्यमलाई बुझ्न चाहने र माया गर्नेे पिढीको पनि विकास गरेको छ ।
एफएसए २०१७ की निर्देशक मितु बर्मालाई यो वृत्तचित्र उत्सवको पहिलो संस्करणको सम्झना अहिले पनि ताजा छ । “रसियन कल्चर सेन्टरमा केही फिल्ममा थोरै दर्शक हुन्थे तर, केही फिल्ममा सिंगो हल रित्तो हुन्थ्यो” उनी भन्छिन्, “अहिले एफएसए पर्खेर बस्ने समर्पित दर्शक छन्, टिकट किनेरै हेर्नेहरूले हल खचाखच हुन्छ । अन्यत्र मैले यस्तो देखेकी छैन ।”
वृत्तचित्रका दर्शक बढिरहँदा, स्क्रिनिङको अवसर भने अझै पनि सीमित छ । वृत्तचित्र निर्माण गर्न उति महँगो छैन तर, यसबाट नाफा आर्जन गर्न भने गाह्रो छ । “गैरआख्यान फिल्ममा काम गर्न निकै ऊर्जा, समर्पण र प्रोत्साहन चाहिन्छ” बर्मा भन्छिन्, “किनभने पैसा त फिचर फिल्म र विज्ञापनमा छ ।” यसका लागि एफएसएको यो संस्करणले नयाँ– अनुभवी वृत्तचित्र निर्मातालाई छलफल गराई साझा समझदारी बनाउने प्रयास पनि थाल्ने भएको छ ।
एफएसएको यो संस्करणमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र बर्माका ६३ वटा वृत्तचित्र प्रदर्शन गरिनेछन् । तीमध्ये १२ वटा गैरप्रतिस्पर्धी भारतकेन्द्रित ‘डकुमेन्ट्रिज अफ डिसेन्ट’ अर्थात् ‘विमतिका वृत्तचित्र’ छन् । ६ अन्य फिल्महरू ‘स्टुडेन्ट फिल्म’ श्रेणीमा प्रदर्शन हुनेछन्, जसले फिल्म निर्माताको नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेछ ।
बाँकी ४५ फिल्मले पाँच वटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सबैभन्दा उत्कृष्ट फिल्मलाई दुई हजार डलरसहित रामबहादुर ट्रफी प्रदान गरिनेछ भने, दोस्रो ठहरिएको फिल्मले एक हजार डलर प्राप्त गर्नेछ । त्यस्तै पहिलो निर्देशनमै एफएसएमा छनोट भएकोमध्ये उत्कृष्ट एक वृत्तचित्रलाई प्रोत्साहनस्वरुप एक हजार डलरसहितको तारेक मसुद पुरस्कार, बालबालिकाका विषयमा निर्मित उत्कृष्ट वृत्तचित्रलाई एक हजार डलरको युनिसेफ पुरस्कार र विद्यार्थी निर्मित अब्बल वृत्तचित्रले पाँचसय डलरको पुरस्कार पाउनेछ ।
वृत्तचित्रहरूलाई विषयवस्तु अनुसार प्रदर्शनीको तालिकासमेत मिलाइएको छ । पहिलो दिन नारीवाद, लिंग, यौनिकता र अधिकार विषयका ६ वटा वृत्तचित्र यलमाया केन्द्रस्थित मजलिस हलमा प्रदर्शन हुनेछन् । वृत्तचित्रसँगै सामूहिक छलफल पनि गरिनेछ । एफएसएले प्रदर्शनीको समयतालिका सहितको एप पनि सार्वजनिक गरेको छ ।
“दक्षिण एशियालीका लागि अहिलेको समय निकै कठिन छ, त्यसैले पनि हुनुपर्छ, वृत्तचित्र निर्माताहरू पहिलेभन्दा तीक्ष्ण र गहन देखिन्छन्, अद्भुत वृत्तचित्र बनाएका छन्”, निर्देशक बर्मा भन्छिन् ।
फायरफ्लाइज इन द अबिस्: चन्द्रशेखर रेड्डी
पूर्वोत्तर भारतीय बजारमा ११ वर्षीय सुरज साँघुरो सुरुङजस्तो खाल्डोमा घस्रिंदै कोइला खोस्रिरहेको छ । मेघालयस्थित कोइलाखानीका यस्ता सुरुङ धेरै नेपाली आप्रवासीहरुको आयस्रोतको माध्यम बनेका छन् । आमा गुमाएको बालक सुरज, बाबु पनि जड्याँहा भएपछि पेट पाल्न आफैँ श्रम गर्नुपर्ने वाध्यतामा छ ।
जोखिमपूर्ण कोइला खानीमा अदम्य साहस र जिद्धी मुस्कानका साथ मेहनत गरिरहेको ऊ एकदिन सबै वाधा पञ्छाएर स्कुल जाने आशामा छ । विषयसँग भावनात्मक लगाव भएको मेघालयका कोइला खानीमा काम गर्ने नेपाली आप्रवासीहरुको कथा हो, ‘फायरफ्लाइज इन द अबिस् ।’
अन्तर्राष्ट्रिय वृत्तचित्र र लघु फिल्म महोत्सव, केरला (आइडीएफएफके– २०१६) को ‘बेस्ट लङ इन्टरनेशनल डक्युमेन्ट्री’ घोषित यो वृत्तचित्रले मुम्बई अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१६ मा पनि उत्कृष्ट फिल्म र उत्कृष्ट सिनेम्याटोग्राफीको पुरस्कार प्राप्त गरिसकेको छ ।
सेभ गंगामाया: गोपाल शिवाकोटी
२४ जेठ २०६१ मा चितवनमा माओवादीद्वारा हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारी प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसे ।
तर, सरकारले उनीहरूलाई धपायो र यातना दिई पाटनस्थित मानसिक अस्पतालमा राख्यो । तैपनि अनशन नत्यागेका उनीहरूलाई वीर अस्पतालमा राखियो ।
३३३ दिन लामो अनशनपछि ६ असोज २०७१ मा नन्दप्रसादले प्राण त्यागे । त्यसै वर्ष कात्तिकमा सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै गंगामायालाई ३५९ दिन लामो अनशन तोड्न राजी गरायो ।
तर, अझै पनि हत्यारामाथि कारबाही भएको छैन, नन्दप्रसादको शवको अन्त्येष्टि पनि हुनसकेको छैन । यता वीर अस्पतालमा रहेकी गंगामाया गिर्दो स्वास्थ्य अवस्थाबीच न्यायका लागि संघर्ष गरिरहेकी छन् । सेभ गंगामाया वृत्तचित्र यही संघर्षको कथा हो ।
बर्मा स्टोरीबूक: पेत्र लोम र कोरिन्ने, भ्यान एगेरात
वर्षौंदेखिको अधिनायकवादबाट मुक्त हुँदै गरेको देशबारे बर्मेली कवितामार्फत भनिएको वृत्तचित्र हो बर्मा स्टोरीबूक । वृत्तचित्र बर्माका प्रसिद्ध र फरक विचारका कवि वरपर घुमेको छ । उनी धेरै अघि हराएको आफ्नो छोरा घर फर्कने दिनको प्रतीक्षामा छन् ।
द स्कार: प्रदीप घोष
सन् १९९९ मा बाङ्लादेशको जेसोरमा देशको सबैभन्दा ठूलो सांस्कृतिक संस्था बाङ्लादेश उडिची शिल्पीगोष्ठीको १२औं राष्ट्रिय सम्मेलन भइरहेको थियो । तीनदिने सम्मेलनको अन्तिम दिन साम्प्रदायिक आतंकवादीले गराएको विस्फोटमा परी १० जनाको मृत्यु भयो ।
८ डिसेम्बर २००५ मा उडिचीको शाखा कार्यालय नेत्रोकोनामा भएको आक्रमणमा फेरि पनि सांस्कृतिक अभियन्ताहरू मारिए । निरन्तरको आक्रमणबाट हजारौं अपांग भएका छन् । यो वृत्तचित्रले सन् १९९९ देखि २००५ सम्म भएका हिंसामा परेका बाङ्लादेशीको दुःख प्रस्तुत गरेको छ ।
बर्न विहाइन्ड बार्स: मालती राव
जेल सजाय दिनका लागि बनाइन्छ । तर, बन्दी जीवन विताइरहेका आमाका छोराछोरी पनि आफूले नगरेको अपराधको सजाय व्यहोरिरहेका छन् । उनीहरूको बाहिरी दुनियाँ हेर्न पाउने अधिकारको हनन् भइरहेको छ । भारतमा ६ वर्षसम्मका बच्चा आमासँगै जेल बस्न पाउँछन् ।
जेलले बालबालिकालाई अपराध र पीडाको दुष्चक्रमा पर्न नदिन विद्यालय पनि सञ्चालन गरेको छ तर, जेलको वातावरणमा बालबालिका दिशाविहीनता सिकिरहेका छन् । यो वृत्तचित्रले हैदरावादस्थित महिलाहरूको विशेष कारागारमा रहेका बालबालिकाको पीडा खोतलेको छ ।
केटू एण्ड इनभिजिबल फूटमेन: लारा ली
केटू एण्ड इनभिजिबल फूटमेन मा नेपाली शेर्पा र पाकिस्तानी भरियाहरूको जीवन प्रस्तुत गरिएको छ । वृत्तचित्रले पूर्व भरियाहरू सहभागी पहिलो औपचारिक पाकिस्तानी आरोही टोलीलाई पछ्याएको छ, जसले सन् २०१४ मा केटू आरोहणको ६०औं वार्षिकोत्सवमा चुचुरो छोएको थियो ।
मनमोहक दृश्य समेटिएको यो वृत्तचित्रले दुःखको भारीले थिचिएका भरियाको केटू आरोहण वर्णन गरेको छ । सञ्चारमाध्यमहरूमा द्वन्द्वग्रस्त मुलुकका रुपमा चिनिने पाकिस्तानलाई वृत्तचित्रले त्यहाँको संस्कृति र राष्ट्रिय परम्पराको नयाँ आयाम प्रस्तुत गरेको छ ।
फिल्म साउथएशियामा प्रदर्शन गरिने वृत्तचित्रको तालीका: