प्रदेश–४ः दलहरुलाई आफैंभित्रको सन्तुलन मिलाउने सकस
प्रतिनिधिसभामा दुई र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको बाग्लुङमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध नै वागी उम्मेदवार खडा भएका छन ।
लमजुङका वाम गठबन्धनका उम्मेदवारत्रय बायाँबाट पृथ्वीसुब्बा गुरुङ, देव गुरुङ र धनञ्जय दवाडी । तस्वीरहरूः निरज अधिकारी
लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीले उम्मेदवारी दर्ता गरेको भोलिपल्ट ६ कात्तिकमा कार्यकर्तामाझ भने– ‘कांग्रेस एकजूट हुनसक्यो भने चुनाव जितिन्छ ।’
घर्तीको संकेत आफ्नै पार्टीभित्रको किचलो, अझ त्यसमा पनि कांग्रेसकै सुन्दरबजार नगर समितिका पूर्व सभापति द्वारिकाप्रसाद मिश्रप्रति लक्षित थियो । स्थानीय तह निर्वाचनमा पार्टीबाट सुन्दरबजार नगरपालिका प्रमुखको टिकट नपाएपछि ‘स्वतन्त्र समूह’ गठन गरेर मेयरका उम्मेदवार बनेका मिश्र प्रतिनिधिसभा सदस्यमा पनि उम्मेदवार बनेका छन् ।
वागी उम्मेदवार बनेर पार्टीका उम्मेदवारलाई हराएको भन्दै कांग्रेसले कारबाही गरेपछि मिश्र आफ्नै पूर्व पार्टीप्रति थप चिढिएका छन् । सुन्दरबजारमा कांग्रेस उम्मेदवार बद्रीमान श्रेष्ठलाई १ हजार ४८४ मतले पराजित गर्दै एमालेका जनकराज मिश्र मेयर निर्वाचित हुँदा मिश्रले २ हजार ७३० मत प्राप्त गरेका थिए । मिश्रले यसपटक जिल्लाभरबाट ल्याउने मत अझै बढी हुनसक्ने कांग्रेसका नेता–कार्यकर्ताको अनुमान छ ।
लमजुङका कांग्रेसजनमा देखिएजस्तै चिन्ता बाग्लुङ र म्याग्दीमा वाम गठबन्धनका नेता–कार्यकर्तामा छ । प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रदेश–क मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विनोद केसीविरुद्ध एमालेका केदारप्रसाद अधिकारीले उम्मेदवारी दिए ।
माओवादीले द्वन्द्वकालमा हत्या गरेका बुवाप्रति अपमान भएको भन्दै वागी उम्मेदवार बनेका अधिकारीले केन्द्रीय नेताहरूको जोडबलमा उम्मेदवारी फिर्ता लिए, तर उनले गठबन्धनका उम्मेदवारलाई असहयोग गर्न सक्ने आशंका यथावत् छ ।
प्रतिनिधिसभामा दुई र प्रदेश सभामा चार निर्वाचन क्षेत्र रहेको बाग्लुङमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध नै वागी उम्मेदवार खडा भए । बाग्लुङ–१ मा एमालेका सूर्य पाठकविरुद्ध जनमोर्चाका गंगा थापा, बाग्लुङ–२ मा माओवादीका देवेन्द्र पौडेलविरुद्ध माओवादीकै धनबहादुर विकले उम्मेदवारी दिए ।
बाग्लुङको प्रदेश–ख मा वाम गठबन्धनका तर्फबाट जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीविरुद्ध एमालेका दधिराम शर्माले उम्मेदवारी दिए । गठबन्धनका सबै वागीले उम्मेदवारी फिर्ता लिए पनि एकापसको संशय कायमै रहेको जिल्लास्तरीय नेताहरू नै बताउँछन् ।
म्याग्दीको प्रदेश–क मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका भीमप्रसाद गौचनविरुद्ध कांग्रेसका नेत्रबहादुर महत र केवी भण्डारीले दिएको उम्मेदवारी फिर्ता भए पनि कांग्रेस कार्यकर्ताले गौचनलाई भोट दिन सकस छ । कारण, पञ्चायतकालीन शिख र सिङ्गा हत्याकाण्डको आरोप तथा पत्रकार पदम ठकुराठीमाथि गोली हानेको अभियोगमा जेलसजाय भोगेका गौचनलाई स्वीकार्नु कांग्रेस कार्यकर्ताका निम्ति सहज छैन ।
जित्ने रणनीति
गाउँ नगरका विकास योजना अगाडि सारेर स्थानीय तह निर्वाचनमा मत मागेका दलहरूले यसपालि सिंगो जिल्ला र प्रदेशको विकासको नारा लगाइरहेका छन् । लमजुङको प्रदेश–ख बाट वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ आफू विजयी भए प्रदेश–४ को मुख्यमन्त्री बन्ने बताउँछन् । “म प्रतिनिधिसभामा समानुपातिकबाट एक नम्बरमा सांसद् बन्न सक्थें” गुरुङ भन्छन्, “मुख्यमन्त्री बन्न प्रदेश सभाको उम्मेदवार बनें ।”
लोकतान्त्रिक गठबन्धनबाट लमजुङका उम्मेदवार दिलबहादुर घर्ती ।
२०४८ यताका सबै निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बन्दै आएका गुरुङले २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गरेका थिए । बाँकी सबै निर्वाचनमा उनी पराजित भए ।
वाम गठबन्धनका तर्फबाट लमजुङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता देव गुरुङले ‘निर्वाचित भएपछि संघीय सरकारको मन्त्री पक्का’ भन्ने नारा लगाएका छन् । २०४८ सालमा वाममोर्चाको तर्फबाट लमजुङ–१ बाट उम्मेदवार बनेका गुरुङ २०६४ को संविधानसभा निर्वाचनमा कास्की–१ र मनाङबाट निर्वाचित भएका थिए । २०७० को संविधानसभा निर्वाचन भने उनले मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर बहिष्कार गरे ।
गुरुङका प्रतिस्पर्धी, कांग्रेसका दिलबहादुर घर्ती २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट सभासद् बनेका थिए । जिल्लाको विकासमा चासो नदिएको र जिल्लामा धेरै नआउने गरेको घर्तीप्रतिको गुनासो कांग्रेसवृत्तमै चर्को सुनिन्छ ।
वाम गठबन्धनले एमालेका लमजुङ इन्चार्ज मायानाथ अधिकारी र माओवादी केन्द्रका जिल्ला अध्यक्ष पारसमणि पौडेलले आलोपालो अध्यक्षता गर्ने गरी निर्वाचन संयोजन समिति गठन गरेर आठवटै स्थानीय तहमा संयुक्त अगुवा कार्यकर्ता भेला र प्रशिक्षण गरेको छ । एमाले नेता धनञ्जय दवाडी वडातहसम्म संयुक्त चुनाव प्रचार समिति बनिसकेको बताउँछन् । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि जिल्ला, नगर र गाउँतहसम्म चुनाव प्रचारप्रसार समिति बनाइसकेको कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल बताउँछन् ।
गोरखाः सधैं चर्चामा
पूर्वप्रधानमन्त्री एवम् नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएको गोरखा–२ यसपालि सबभन्दा चर्चामा छ ।
२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी नेता भट्टराईले गोरखा–२ मा निकटतम प्रतिद्वन्द्वीलाई ४० हजार १२९ मतान्तरले पराजित गरेका थिए । अरु पार्टीका नेता कार्यकर्तालाई चुनावी प्रचारमै जान नदिएको आरोप उनीमाथि २०६४ सालमा मात्र होइन, २०७० सालको संविधानसभा निर्वाचनमा समेत लाग्यो ।
२०७० सालको निर्वाचनमा कांग्रेसको प्रचार अभियानका क्रममा नेता मिनेन्द्र रिजालकै टोलीमाथि आक्रमण भएको थियो । कांग्रेस गोरखाका एक नेताकै शब्दमा, ‘बाबुरामको क्षेत्रमा २०६४ सालयता शान्तिपूर्ण निर्वाचन भएन ।’ यसपालि भट्टराई कांग्रेसकै समर्थनमा उम्मेदवार बनेका छन् । एकले अर्कालाई उत्तेजित पार्ने गतिविधि यसपटक पनि देखिएका छन् । फरक के छ भने यसपालि त्यस्ता गतिविधि माओवादी र कांग्रेसबीच नभई वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच भइरहेका छन् ।
प्रधानमन्त्री र अर्थमन्त्री हुँदा ठूलो बजेट खन्याएकाले गोरखामा श्रेष्ठभन्दा भट्टराईको प्रभाव बढ्ता रहेको मानिन्छ । तर, गोरखा–२ का चारवटा स्थानीय तहमध्ये नयाँशक्ति पार्टीले एउटैमा पनि जित्न सकेन । जिल्लामा माओवादीको बलियो संगठन र त्यसमाथि एमालेको सहयोगले श्रेष्ठ पनि कमजोर देखिंदैनन् ।