प्रदेश–७ः प्रचारप्रसारमा फरक शैली
प्रकाश सिंह, बाजुरा
नारा जुलूस, भड्किलो प्रचार र तडक भडक । उस्तै परे एकापसमा भिड्ने गरिको अस्वस्थ प्रतिस्पर्धा । स्थानीय तह निर्वाचनसम्म बाजुरामा यस्तै तस्वीर देखा पर्थे ।
१० मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन प्रचारप्रसारमा भने दलहरूले फरक शैली अपनाएका छन् । दल र उम्मेदवार भड्किलो प्रचार होइन, घर, खेतबारीमै पुगेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् । “बारीमा काम गर्दै थियौं, भोट माग्न आएका नेता कार्यकर्ताले हाम्रो काम पनि गरिदिए” बडिमालिका–८, गठखेतका जयविर अयडी भन्छन्, “नेताहरू अहिले सदरमुकाम छाडेर गाउँ, खेतबारीमै आइपुगेका छन् ।”
स्थानीय तह निर्वाचनमा दिनहुँजसो उम्मेदवारका भोजभतेर चलेका थिए । नेकपा एमालेका जिल्ला प्रचार विभाग प्रमुख अमर खड्का यसपालि भोजभतेरमा रोक लगाइएको बताउँछन् । नेपाली कांग्रेस बाजुराका सचिव दीपक शाह त आफ्नो पार्टीका कुनै उम्मेदवारले भोजभतेर चलाएको पाइए कारबाही गरिने बताउँछन् ।
कांग्रेस र एमालेले बाजुरामा ठूला आमसभा नगर्ने निर्णय नै गरेका छन् । बूढीगंगा नगरपालिका–९ जुवापानीका भुवाने चँदाराको घरमा अहिले दिनहुँजसो नेता–कार्यकर्ता र उम्मेदवार भोट माग्न पुग्छन् । “ठूलो जातका उम्मेदवार आउँछन्, खानेकुरा मागेर खान्छन्, हामीलाई भोट दिनुस् छुवाछूत अन्त्य गर्छौं भन्छन्” चँदाराले सुनाए, “ठूला जातकाहरू पहिले हामी दलितको घरमा खाँदैनथे ।” स्थानीय दलित अगुवा काले नेपाली मतदाता रिझउनकै लागि नेता–कार्यकर्ता र उम्मेदवारहरूले दलितको घरमा खान थालेको बताउँछन् ।
बाजुरामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभाका दुवै क्षेत्रमा एमाले उम्मेदवार र कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिस्पर्धा गरिरहेका गठबन्धन र कांग्रेस दुवैका उम्मेदवार ‘उपल्लो जात’ का छन् । उनीहरू दलित समुदायलाई रिझाउने प्रतिस्पर्धामा छन् । बाजुराको कुल जनसंख्यामध्ये कथित दलितको संख्या करीब २४ प्रतिशत रहेकाले यो मत निर्णायक हुने आकलन गरेरै दलहरूले यस्तो शैली अवलम्बन गरेको बुझन सकिन्छ ।
वाम गठबन्धनको पल्ला भारी
पहिलो चरणमा मतदान हुने प्रदेश–७ का चार जिल्लामा स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा वाम गठबन्धनको पल्ला भारी देखिन्छ । बाजुराका नौ स्थानीय तहमध्ये कांग्रेसले ६ र एमालेले ३ वटा जिते पनि जिल्लाभरको समग्र मतपरिणाममा कांग्रेस (२२ हजार ७९२) भन्दा गठबन्धन (एमाले– २२ हजार ५५ र माओवादी केन्द्र– ४ हजार ४२५) अगाडि छ ।
दार्चुलाका ९ स्थानीय तहमध्ये पाँचवटा जितेको कांग्रेस (समग्र मत २२ हजार १६१) को तुलनामा तीन तहमा विजयी एमाले र एक तह जितेको माओवादीको गठबन्धन (दुवैको कुल मत जोड्दा २९ हजार ७३८) धेरै अगाडि छ ।
बैतडीका १० स्थानीय तहमध्ये कांग्रेस, एमाले र माओवादीले क्रमशः ६, ३ र १ मा जित हासिल गरेका थिए । समग्र मतपरिणाम हेर्दा वाम गठबन्धनको पक्षमा ४६ हजार १०८ (एमाले– २७ हजार ३८९ र माओवादी– १८ हजार ७१९) र कांग्रेस–राप्रपा गठबन्धनको पक्षमा ३३ हजार ४९१ (कांग्रेस– २७ हजार ८७ र राप्रपा– ६ हजार ४०४) मत देखिन्छ । बझाङका १२ स्थानीय तहमध्ये एमालेले ८ र कांग्रेसले ४ वटा जितेका थिए ।
समग्र मतपरिणाममा एक्लै अगाडि रहेको एमाले (२८ हजार ५८९ मत) माओवादी (१२ हजार १३३ मत) सँगको गठबन्धनले थप बलियो देखिन्छ । स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेसको मत जिल्लामा २५ हजार ५८१ छ ।
प्रदेश–७ का प्रभावशाली नेता मानिने दार्चुलाका दिलेन्द्रप्रसाद बडु (कांग्रेस), बाजुराका बद्री पाण्डेय (कांग्रेस) र बाजुराकै कर्णबहादुर थापा (एमाले) प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छैनन् । उनीहरू समानुपातिकतर्फको सूचीमा सिफारिश भएका छन् ।
उम्मेदवार चयनमा महिला प्रतिनिधित्व अत्यन्त न्यून रहेको चर्चा भइरहँदा बझङको प्रदेश सभा–कमा कांग्रेसले निवर्तमान सांसद् चन्द्रा जोशी र प्रदेश सभा–खमा वाम गठबन्धनले माओवादी केन्द्रकी देवकी मल्ललाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन् । जोशीले एमालेका अर्जुन थापा र मल्लले पूर्वराज्यमन्त्री, कांग्रेसका नरेशबहादुर सिंहसँग प्रतिस्पर्धा गर्दैछिन् ।
मतदान गर्न बास बस्नुपर्ने
बझाङका जिल्ला निर्वाचन अधिकृत धु्रवकुमार भण्डारीले स्थानीय तह निर्वाचनमा काँडा गाउँपालिका–५ न्युनाका मतदातासमक्ष अर्को निर्वाचनमा छुट्टै मतदान केन्द्र बनाउने वाचा गरेका थिए । तर, न्युनामा मतदान केन्द्र नतोकिएपछि यहाँका ६७ जना मतदाता धुलीमा रहेको मतदान केन्द्र पुग्नुपर्नेछ । त्यहाँसम्म पुग्न पाँच घण्टा पैदल हिंड्नुपर्छ । “कि अघिल्लै दिन मतदान केन्द्र पुग्नुपर्छ, नभए मतदानको दिन त्यहीं बसेर मात्र घर फर्कन सकिन्छ” न्युनाका उमेश बोहरा भन्छन् ।
चूलोचौको, बस्तुभाउ र बालबच्चा छाडेर त्यति टाढा पुग्न नसकिने हुँदा यहाँका धेरैजसो महिला मतदानमा सहभागी हुँदैनन् । काँडा गाउँपालिका गठन भएपछि साविकका ८ र ९ नम्बर वडा रहेका न्युना र बलौडी गाउँलाई मिलाएर एउटा वडा बनाइएको छ । हालको ५ नम्बर वडा रहेको एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न ८ घण्टा लाग्छ ।