प्रदेश–६ः वाम गठबन्धनको खास परीक्षा
“वाम गठबन्धनको वास्तविक परीक्षा यही प्रदेशमा हुनेछ” गठबन्धनमा आबद्ध एमालेका एक नेता भन्छन्, “एमाले र माओवादी दुवै बलियो रहेको प्रदेश–६ मा राम्रो नतिजा आएन भने देशभर नै गठबन्धन संकटमा पर्न सक्छ ।”
लक्ष्मी भण्डारी, सुर्खेत
प्रदेश–६ अन्तर्गतका १० जिल्लामा स्थानीय तह निर्वाचनमा प्रमुख पदमा प्राप्त मतपरिणाम हेर्दा नेपाली कांग्रेस अग्रस्थानमा छ । कांग्रेसलाई दोस्रो स्थानमा रहेको नेकपा एमालेभन्दा कुल ३ हजार २०७ मतको अग्रता छ । १० र २१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि यो प्रदेशको राजनीतिमा नयाँ तरंग आएको छ ।
स्थानीय तह निर्वाचनमा १० जिल्लामा कांग्रेसले कुल १ लाख ९६ हजार २२२ मत प्राप्त गरेको थियो । एमालेले प्राप्त गरेको १ लाख ९३ हजार २१ मत र माओवादीको १ लाख ४३ हजार ५८३ मत जोड्दा कांग्रेसभन्दा १ लाख ४० हजार ३७६ मत बढी हुन जान्छ ।
एमाले र माओवादीको मत जोड्दा कुल मतको ६०.३७ प्रतिशत हुन आउँछ । कांग्रेसलगायत बाँकी सबै दलको मत जोड्दा पनि ४० प्रतिशत नाघ्दैन । उसलाई भरथेग गर्ने अहिलेसम्म १० जिल्लामा राप्रपाले पाएको कुल १० हजार १०२ मत मात्र देखिन्छ ।
मतको यही आँकडा कायम रहँदा प्रदेश–६ मा वाम गठबन्धन हावी हुने देखिन्छ । तर, यो समग्र मतपरिणाम हो, जिल्ला र निर्वाचन क्षेत्र अनुसार मतको यही ‘ट्रेन्ड’ कायम नरहन सक्छ । त्यसमाथि गठबन्धनका उम्मेदवारलाई यसैगरी मत नआउन पनि सक्छ । कांग्रेसको मुख्य आशा प्रदेश–६ मा अहिले यही बनेको छ । प्रदेश–६ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १२ र प्रदेश सभाका २४ सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।
पल्लाभारी गठबन्धनकै
प्रदेश–६ को राजधानीका रूपमा हेरिएको सुर्खेतमा स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा एमाले र माओवादी कांग्रेसभन्दा १६ हजार ९०२ मतले अगाडि छन् । कांग्रेसले यो अन्तर घटाउन सक्ने राप्रपाले पाएको मत १ हजार ५९३ मात्र छ ।
सुर्खेतको छिमेकी जिल्ला दैलेखमा स्थानीय तह निर्वाचनमा एमालेले ३७ हजार ७००, कांग्रेसले २६ हजार ८८१, माओवादी केन्द्रले ९ हजार ७२७ र राप्रपाले २ हजार १४९ मत प्राप्त गरे । यो आधारमा हेर्दा वाम गठबन्धन कांग्रेसभन्दा १९ हजार ४४६ मतले अगाडि छ ।
रुकुम (पश्चिम) मा वाम गठबन्धन कांग्रेसभन्दा १६ हजार ७६८ मतले अगाडि छ । त्यसैगरी सल्यानमा कांग्रेसभन्दा वाम गठबन्धनका पक्षमा ३३ हजार २८० मत बढी छ । स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोटमा पनि कांग्रेसको तुलनामा वाम गठबन्धनको कुल मत बढी नै देखिन्छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा यही मतको ट्रेन्ड कायम रहला ? “वाम गठबन्धनको वास्तविक परीक्षा यही प्रदेशमा हुनेछ” गठबन्धनमा आबद्ध एमालेका एक नेता भन्छन्, “एमाले र माओवादी दुवै बलियो रहेको प्रदेश–६ मा राम्रो नतिजा आएन भने देशभर नै गठबन्धन संकटमा पर्न सक्छ ।”