भाषाप्रतिको दृष्टिकोण नै एकाङ्गी छ: भाषा आयोग अध्यक्ष अवस्थी
सरकारी कामकाजको भाषा सिफारिश गर्न एक वर्षभित्र आयोग बनाउनुपर्ने संवैधानिक प्रावधान अन्तर्गत २३ भदौमा गठित भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी भन्छन्, “सबै भाषाको समान विकास हुन आवश्यक छ।”
भाषा आयोगमा आफ्नो नियुक्तिलाई कसरी हेर्नुभएको छ?
संवैधानिक व्यवस्था अनुसार भाषा आयोग गठन भएको छ। आयोगमा मेरो नियुक्तिले भाषा अध्ययनमा मेरो विज्ञता, अनुभव र क्षमताको पहिचान र सम्मान भएको ठानेको छु।
आयोगले पहिले के गर्छ?
पहिले त देशभित्रका भाषाको सूक्ष्म अध्ययन गछौ। अनि सत्यतामा आधारित रही सरकारी कामकाजका भाषाहरू कुन–कुन हुनसक्छन् भनी त्यसको सिफारिश गर्नेछौं। संविधानले दिएको कार्यभार पूरा गर्नु आयोगको मुख्य जिम्मेवारी हो। त्यसका लागि कार्यालय व्यवस्थापन कार्यतालिका बनाइहाल्नुपर्नेछ।
भाषिक विविधताको धनी मुलुकमा कामकाजका भाषा यही हुनुपर्छ भनी सिफारिश गर्नु कत्तिको चुनौतीपूर्ण ठान्नुहुन्छ?
भाषाप्रतिको हाम्रो दृष्टिकोण एकांकी र पुरानो छ। यो सोचमा परिवर्तन ल्याउनुछ। र, कार्यान्वयनमा ध्यान दिनुछ। भाषाको जग बलियो बनाउने अर्को चुनौती पनि छ।
भाषामाथि नीतिगत विभेदका कुरा उठेका छन् नि!
सबै भाषाको समान विकास भएकै छैन भन्ने तर्क सही हो। त्यसतर्फ पनि उत्तिकै महत्वका साथ ध्यान पुर्याउनुछ। सबैले बुझ्नुपर्छ, भाषा समृद्ध भए मात्र देश समृद्ध हुन्छ।
भाषा प्रयोगमा देखिएका विवादलाई कसरी सम्बोधन गर्नुहुन्छ?
आग्रह, पूर्वाग्रह होइन तथ्य र वैज्ञानिक आधारमा भाषा विश्लेषण गर्छौं। विवाद बढाउने हाम्रो काम नै होइन। सहमति र सहभागितामा अघि बढ्छौं।