गुलजार अन्नपूर्ण, प्रथम आरोही हर्जोगको सम्झना
हिमाल आरोहणको इतिहास शुरु भएको ६७ वर्षपछि अन्नपूर्णवासीले पहिलो किर्तिमानी आरोही मौरिस हर्जोगलाई सम्झिएका छन् ।
सर्वोच्च शिखर सगरमाथामा मानव पाईला पुग्नुभन्दा तीन वर्षअघि ३ जुन १९५० मा फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो ।
फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक ८०९१ मिटर अन्नपूर्ण प्रथम आरोहण गरेर विश्वमै पहिलो आरोहीको किर्तिमानी राखेका थिए ।
विश्वमा ८ हजार मिटर भन्दा अग्ला हिमाल १४ वटा मात्र छन् । जसमध्ये आठवटा नेपालमै छन् भने एउटा चीनमा र पाँचवटा पाकिस्तानमा ।
आरोही हर्जोगले अन्नपूर्ण आरोहण गर्न फ्रान्सदेखि भारतसम्म हवाईजहाज र भारतबाट पैदलयात्रा गर्दै मुस्ताङ पुगेका थिए ।
अन्नपूर्ण वा धौलागिरीमध्ये कुन आरोहण गर्ने दोधारमा परेका हर्जोगलाई त्यतिबेला बेला नेपाली सहयोगीले अन्नपूर्ण आरोहण गर्न सुझाएको उनको पुस्तक ‘अन्नपूर्ण’ मा उल्लेख छ ।
हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
अन्नपूर्ण पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाएपछि हर्जोगको सम्मानमा फ्रान्समा तीन दिन राष्ट्रिय उत्सव मनाइएको थियो ।
अन्नपूर्ण आरोहणको ६७ वर्षपछि हालसालै अन्नपूर्ण क्षेत्रका बासिन्दाले आरोही हर्जोगलाई सम्झिएका छन् । अन्नपूर्ण बेस क्याम्प (४१३० मिटर) मा हर्जोगको शालिक बनाइने भएको छ ।
शालिकको २५ असोजमा तत्कालीन सांसद एवम् विकास समितिका सभापति रविन्द्र अधिकारीले शिलान्यास गरे । अन्नपूर्ण क्षेत्रको थप प्रवद्र्धन, समस्याहरुको पहिचान र समाधान गर्ने स्थानीय व्यवसायीले पहिलो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सब आयोजना गरेका छन् ।
गुलजार अन्नपूर्ण
अहिले अन्नपूर्ण क्षेत्रका पदमार्ग र पर्यटकीय गाउँहरु पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटकको बढ्दो संख्याले समेत यस क्षेत्रका व्यापार व्यवसाय गुलजार छ । होटेल र होमस्टेमा ग्राहक कोचाकोच छन् ।
४ वटा होटल (जम्मा १५० बेड) रहेको आधार शिविरमा दैनिक ४ सयभन्दा धेरै पर्यटक पुगिरहेका छन् जसमध्ये आधाभन्दा धेरै विदेशी पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ ।
“डाइनिङ रुम, प्यासेज लगायतका ठाउँमा समेत पर्यटकलाई बास दिएका छौं,” बेसक्याम्पस्थित अन्नपूर्ण गेष्ट हाउसका संचालक जगनराज गुरुङ भन्छन् ।
नयाँ होटेल वा भएकामा कोठा थप्न एक्यापले अनुमति नदिएपछि थप होटेल सेवा विस्तार हुन नसकेको हो ।