तालमेलको सकारात्मक र नकारात्मक पक्ष
निर्वाचनको मुखमा गरिएकाले यसलाई चुनावी गठबन्धनकै रुपमा बुझ्नु उपयुक्त हुन्छ । चुनावमा एमाले बलियो हुने र माओवादीले खस्किएको अवस्था सुधार्ने उद्देश्यले तालमेल गरेको देखिन्छ । एकीकरणको पनि कुरा उठेको छ । कुन आधार, जग, सिद्धान्त वा राजनीतिक कार्यक्रममा एकीकरण हुने हो त्यो नआउँदासम्म यसले राजनीतिक दिशा लिन्छ भन्न सकिन्न ।
दुवै वाम पार्टी भए पनि लोकतन्त्रप्रतिको बुझाइमा समानता छैन । अबका दिनमा माओवादी लोकतन्त्रतिर कति अगाडि बढ्छ, एमाले–माओवादी गठबन्धनको निरन्तरता त्यसमै निर्भर हुन्छ । बदलिएको परिस्थितिमा हिजोका सबै दुश्मनी सम्झेर बस्नु त उपयुक्त हुँदैन, तर ठूल्ठूला अपराधलाई पनि देख्यानदेख्यै गर्नु, दण्डहीनतालाई प्रश्रय दिनु पनि भएन । माओवादीहरू एमाले हुँदैमा हिजोका जघन्य अपराध छोपिनुहुँदैन । क्रूर हिंसा र अपराधलाई बिर्सन मिल्दैन ।
माओवादी केन्द्र सत्तामा रहँदै अर्को गठबन्धनमा जाला भनेर कसैले सोचेका थिएनन् । माओवादीले कांग्रेसलाई धोका दियो । हिजो एमालेलाई पनि धोका दिएको थियो । माओवादी पनि मुलुकको एउटा राजनीतिक शक्ति हो, तर उसको अस्थिर चरित्रले अविश्वास बढाएको छ । कांग्रेसले पनि त्यस्तै जवाफ दिनुहुँदैन । यो गठबन्धनले नेपाली राजनीतिक परिदृश्यमा प्रभाव पार्छ नै ।
चुनावको नतिजामा प्रभाव पार्ने मनसायले गरिएको यो गठबन्धनको असर दूरगामी हुन्छ । यसअघि देश–विदेशबाट एमालेलाई एक्ल्याउने प्रयास भएको थियो । भारतले कांग्रेस–माओवादी गठबन्धनलाई निरन्तरता दिन चाहेको सार्वजनिक रुपमै भनेको थियो । यो त्यसको प्रतिक्रिया पनि हो, एमालेको तर्फबाट ।
वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच दूरी बढ्दै गए मुलुकले धान्न सक्दैन, फेरि अर्को संकट आउँछ । कांग्रेस र एमालेबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भयो भने त केही छैन, तर शत्रुता भयो भने मुलुक संवैधानिक अस्थिरतामा पुग्छ । परराष्ट्र मामिला, देशको सुरक्षा, दीर्घकालीन विकास, संवैधानिक परिषद् जस्ता विषयमा मिलेरै जानुपर्ने हुन्छ ।
कम्युनिष्ट–कम्युनिष्ट एक हुने भनेका छन् । कम्युनिष्ट शासन ल्याउन त्यसो भनेका हुन् भने सरासर गलत हो । समाजवादी क्रान्ति, राष्ट्रपतीय प्रणाली जस्ता कुराले संवैधानिक अस्थिरता उत्पन्न गर्न सक्छ । अर्को संविधान ल्याउन लागे शासन प्रणालीमै अलमल हुन्छ, जुन २००७ सालदेखि नै भइरहेको छ । अब विकास र समृद्धिमा ध्यान जानुपर्छ ।
चुनाव अघि र पछिको गठबन्धन फरक हुन्छ । चुनाव अघिको गठबन्धन भत्किए पनि दूरगामी प्रभाव पारिसकेको हुन्छ । नेतादेखि कार्यकर्तासम्म यताको उता भइसकेको हुन्छ । मिलेर जानु राम्रो र नराम्रो दुवै हो । लोकतन्त्रका लागि हो भने राम्रो, तर एकदलीय शासन व्यवस्थाका लागि हो भने नराम्रो । कांग्रेसविनाको प्रजातन्त्र भन्न थालियो भने राम्रो हुँदैन ।
सम्बन्धित समाचार
राजनीतिमा वाम तरंग